१५ साउन, बागलुङ ।
जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ ।
ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बागलुङका खरदार जगुलाल पाण्डेले प्रभावित ठाउँमा राहत पुर्याउन नसकिएको बताए । दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएकाले पहिरो पन्छाउँदै हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष अर्जुन चोखालले आज बिहान भिमगिठेमा पुगेर टोली रोकिएको टेलिफोनमार्फत् बताए । सेनाको दुई र सशत्र प्रहरीको एउटा ट्रकमा राहत सामाग्री सहित उद्धार टोली त्यसतर्फ खटिएको थियो ।
“घटनास्थलमा पुगेर प्रभावितका लागि राहत वितरणमा हामी हिँडेका हौँ”–चोखालले भने, “सडक अवरुद्ध हुँदा अगाडि बढ्न सकिएको छैन,
भिमगिठेदेखि बुर्तिवाङसम्मको सडक पुरै अवरुद्ध छ ।” बाढीले क्षति पुर्याएका अधिकारीचौर, बोङ्गादोभान, बुर्तिवाङ, भिमगिठे, ग्वालीचौरलगायत गाविसमा राहत वितरण गर्ने कार्यक्रम छ ।
सडक खुल्ने अवस्था नभएपछि हेलिकोप्टर मगाएर प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारी गरिएको छ । तत्काल गर्नुपर्ने उद्धार र राहत सामाग्री पुर्याउनै कठिन भएपछि बाढी प्रभावित थप समस्यामा परेका छन् ।
सडक र सञ्चार सेवासमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था र सम्पूर्ण क्षतिको विवरण आउन सकेको छैन । राहत टोली ४० बोरा चामल, ११५ थान त्रिपाल, ११ बोरा चिउरा, सात कार्टुन औषधि, १२ कार्टुन चाउचाउ र पुरानो कपडा लिएर प्रभावित क्षेत्र गएको बताइएको छ ।
गत सोमबार र मङ्गलबारको अविरल वर्षापछि भुजी, तमान, निशी र बढीगाढ खोलामा आएको बाढीले सय बढी घर बगाएको छ भने डेढसय बढी घर बाढीको उच्च जोखिममा परेका छन् ।
त्यस्तै बाढीले करोडौँको कृषि बाली, भौतिक संरचना, विकास आयोजनामा क्षति पु्र्याएको अनुमान गरिएको छ ।
Post a Comment