Latest Updates :

ठूलो परिणाममा काठमाडौं भित्र्याइन लागेको मरेका कुखुरा बरामद,मरेका कुखुराको मासु उपभोक्ताको भान्सा-भान्सामा ( भिडियो सहित )


SHARE THIS POST :


काठमाडौं, १५ साउन ।
 उपत्यकाबासीले बढी रकम खर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तालाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्ताले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन (एक हजार किलो) मरेका कुखुरा नियन्त्रणमा लिएको छ । क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्छामा पुग्ने थियो । व्यवसायीले मरेका कुखुरा अवैध रूपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

वीरगन्ज १६ का कुखुरा व्यवसायी कुन्दनकुमार साहले काठमाडौंको सामाखुसीस्थित न्यु श्रेष्ठ कोल्ड स्टोरलाई उपलब्ध गराउन मरेका कुखुरा ल्याएका हुन् । क्वारेन्टाइन कार्यालयका प्रमुख डा.परशुराम भुसालका अनुसार वीरगन्जबाट राजधानी भित्र्याउँदै गर्दा बिहान ७ः३० बजे नागढुंगा नाकाबाट मरेका तीन सय कुखुरा नियन्त्रणमा लिई क्वारेन्टाइन कार्यालयले नष्ट गरेको हो । भुसालका अनुसार वीरगन्ज १६ का कुखुरा व्यवसायी कुन्दनकुमार साहले काठमाडौंको सामाखुसीस्थित न्यु श्रेष्ठ कोल्ड स्टोरलाई उपलब्ध गराउन पाँच सय कुखुरा राजधानी भित्र्याउन लागेका थिए । साहले ना।३च ५९५२ नम्बरको बोलेरो पिकअप भ्यानमा राखेर कुखरा ल्याएका थिए ।

क्वारेन्टाइन कार्यालयबाट खटिएका प्राविधिक जितबहादुर ज्ञवालीले पाँच सयमध्ये तीन सय कुखुरा मरेको अवस्थामा भेटेका थिए । ‘मरेका कुखुराको मासु पनि उपभोक्तालाई बिक्री गर्न खोजिएकाले तत्कालै गाडीसहित सबै कुखुरा हाम्रो टोलीले नियन्त्रणमा लियोु, डा. भुसालले भने, ‘मरेका कुखुरा नियन्त्रणमा लिएर नष्ट नगरिएको भए तिनको मासु अहिले (शुक्रबार साँझ) सम्म उपभोक्ताको भान्छासम्म पुगिसकेको हुन्थ्यो ।

यसअघि पनि विशेष निगरानी गर्ने क्रममा मरेको अवस्थामा राँगाभैंसी ६ वटा, हाँस दुई सय, खसी तीन र थुप्रै कुखुरा नागढुंगा नाकाबाट क्वारेन्टाइनले नियन्त्रणमा लिएर नष्ट गरेको थियो । खास गरी चाडबाडको समयमा व्यवसायीले उपत्यकामा ठूलो संख्यामा लुकाई छिपाई मरेका खसीबोका, राँगा र कुखुरा भित्र्याउने गरेका छन् । प्राविधिक ज्ञवालीका अनुसार बोलेरो गाडीमा मरेका कुखुरा ओसार्ने गरिएको आशंकामा जाँच गर्दा ती कुखुरा भेटिएका थिए । उनका अनुसार पाँच सयमध्ये जिउँदा दुई सयवटा फिर्ता गरिएको र बाँकी कुखुरा बूढानीलकण्ठस्थित बायोलोजी कट पिटको हाताभित्र खाल्डो खनेर गाडिएको थियो ।

नागढुंगामा स्वीकृत दरबन्दीसहित पशु क्वारेन्टाइन चेक पोस्ट राख्ने व्यवस्था नभएकाले यस्ता व्यवसायी र तस्करले सुरक्षाकर्मीको आँखा छलेर मरेका कुखुरा, राँगा, खसीबोका र हाँस भित्र्याएर मासु तयार पारी उपभोक्तालाई बिक्री गर्दै आएका छन् । क्वारेन्टाइन कार्यालयले यस्तो कार्य नियन्त्रण गर्न नागढुंगामा स्रोत साधनसहितको पशु क्वारेन्टाइन चेकपोस्ट तत्काल स्थापना गर्न पशुपन्छी मन्त्रालयसँग माग गर्दै आएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv