Latest Updates :

जेब्रा क्रसिङ भएको स्थानमा तीव्र गतिमा गाडी कुदाउँदै हुनहुन्छ? कडा कारबाहीमा परिएला !


SHARE THIS POST :
गाडीभित्रै ट्राफिक प्रहरी


तपाईं जेब्रा क्रसिङ भएको स्थानमा तीव्र गतिमा गाडी कुदाउँदै हुनहुन्छ ? वा तोकिएबाहेकका अन्य स्थानमा सार्वजनिक यातायातका गाडी रोक्दै हुनहुन्छ ? आइन्दा सावधान हुनुहोला । तपाईंले चलाएको गाडी सार्वजनिक यातायातको हो भने सादा पोसाकका ट्राफिक प्रहरी तपाईंकै गाडीभित्र हुन सक्छन् ।

साउन पहिलो सातादेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङमा तीव्र गतिमा गाडी कुदाउने र जहाँ पायो त्यही गाडी रोक्नेलाई कडा कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि महाशाखाले ठूलो संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

‘सादा पोसाकका ट्राफिक प्रहरी सार्वजनिक यातायातमा अन्य यात्रुसँगै बस्छन्,’ महाशाखाका डीआईजी प्रकाश अर्यालले भने, ‘गल्ती गरेको पाए उनीहरूले ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कारबाहीका लागि खबर गर्छन्, तत्काल कारबाही प्रक्रिया अघि बढाइन्छ ।’ चालकले जेब्रा क्रसिङमा नरोक्ने, यात्रुलाई प्राथमिकता नदिने र जहाँ पायो त्यहीं रोक्ने प्रवृत्ति हावी भएपछि यो अभियान सञ्चालन गर्न लागेको अर्यालले बताए ।

लेन अनुशासन मिच्नेलाई व्यापक कारबाही गरिरहेको भन्दै उनले दोस्रो चरणमा यो अभियान सञ्चालन गर्न लागेको बताए । लेन अनुशासनविरुद्धको अभियान चलाउँदा सडक दुर्घटनामा निकै कमी आएको उनको दाबी छ । ‘चालकलाई बानी परेपछि जेब्रा क्रसिङमा गाडी हुइँक्याउने र जहाँ पायो त्यही गाडी रोक्ने प्रवृत्तिमा कमी आउनेछ,’ अर्यालले भने ।

गोप्रो क्यामरामार्फत अनुगमन गरी मोटरसाइकलले पछ्याएर लेन अनुशासन मिच्नेलाई कारबाही गर्न थालेपछि सडक दुर्घटनामा कमी आएको उनले बताए । महाशाखाका अनुसार मोटरसाइकलले पछ्याएर अहिलेसम्म ९ हजार ८ सय २२ र गोप्रो क्यामरामार्फत गरिएको निगरानीबाट ५ हजार ६ सय ५९ जनालाई कारबाही गरिएको छ ।

 हाल २० गोप्रो क्यामरा र १७ वटा बुलेट मोटरसाइकल काठमाडौंका सडकमा परिचालन गरेको अर्यालले बताए । तीन महिनादेखि अधिकांश चोकमा बुलेट मोटरसाइकल र गोप्रो क्यामरा सज्जित ट्राफिक प्रहरी महाशाखाले खटाएको छ ।

यसरी सडक यात्रालाई व्यवस्थित र अनुशासित बनाउन ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र बस स्टपमा पनि निगरानी बढाउन थालेको हो । उपत्यका ३ सय स्थानमा जेब्रा क्रसिङ र ३० वटाभन्दा बढी स्थानमा स्टपको व्यवस्था गरिएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv