म्याग्दीको लुलाङ र मुनामा रहेको दुईवटा लघुजलविद्युत् परियोजना पहिरोका कारण बन्द भएको छ ।
पहिरोले विद्युत् गृहमा क्षति गरेपछि मुना–४ मा रहेको ६० किलोवाट क्षमताको प्रथम दरखोला र लुलाङको लमसुङस्थित ३५ किलोवाट क्षमताको दोस्रो दरखोला लघुजलविद्युत् परियोजना शनिबारदेखि बन्द भएको हो ।
लधुजलविद्युत् लुलाङ गाविसका ३०० र मुना गाविसका ८०० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । विद्युत्गृह भवन भत्कने अवस्थामा रहेका छन्।
टर्वाइन, जेनेरेटर लगायतका सामग्रीमा क्षत्ति पुगेकाले विद्युत् उत्पादन बन्द भएको प्रथम दरखोला लघुजलविद्युत् परियोजनाका अध्यक्ष डम्मरबहादुर भण्डारीले बताए ।
यसैगरी लुलाङ गाविस–६ मापर्ने जुकेपानीको भिरबाट खसेको पहिरोले दुई वटा गोठ बगाएको छ भने दोस्रो दरखोला लघुजलविद्युत् परियोजनाको विद्युत् गृह र नहरमा क्षति पुगेको छ । शनिबार बिहान ७ बजेदेखि निरन्तर पहिरो खसिरहेको लुलाङका बासिन्दा दलबहादुर विकले बताए ।
कृष्णबहादुर श्रीपाली र गोरे विकको घर पहिरोको जोखिममा परेपछि सुरक्षित ठाउँमा सरेका छन् । लमसुङ गाउँको सिरानबाट खसेको पहिरोले लमसुङ मावि, स्वास्थ्यचौकी, पशुसेवा केन्द्रको कार्यालय रहेका सार्वजनिक भवनका साथै २० वटा घर पनि जोखिममा परेका लुलाङ निमाविका प्रअ नागेन्द्र ठाकुरले बताए।
पहिरोले मुना हुँदै लुलाङ, गुर्जा र ढोरपाटन सिकार आक्षर जाने घोरेटो बाटो पूर्णरुपमा बगाएको छ । घोरेटो बाटो पहिरोले पुरेपछि आवतजावत बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयले ताकम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाएको छ ।
घटनास्थल पुगेको प्रहरीटोली जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सघाउने र क्षतिको विवरण सङ्कलन गर्ने प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । लुलाङ जिल्ला सदरमुकाम बेनीबाट करिब ५० किलोमिटर पश्चिम तर्फ पर्छ । रासस
Post a Comment