Latest Updates :

बानेश्वरमा गर्भवति महिलाको पेटमा नगर प्रहरीको ‘बूट’, संवेदनशिल अंगमा हातपात..


SHARE THIS POST :

सुदीप विश्वकर्मा

काठमाडौं, २८ जेठ । साँझको साँढे ७ बज्नै लागेको थियो । उनी सडक पेटिमा तरकारी मिलाउँदै थिईन् । यत्तिकैमा खैरो पहिरनमा मान्छेहरुको जत्था आयो । तरकारी खोस्न थाल्यो । गोलभेँडा जोगाउन खोज्दै थिईन् । ईन्सपेक्टरको फूली लगाएको एउटाले पेटमा बुट बजार्‍यो । उनी त्यही ढलिन् त्यो बुटले कुल्चने क्रम रोकिएन । उनी बेहोस् भईन् । दुई जीउकी आमाको चित्कार देखेर १० वर्षिय छोरा  बचाउन आए । तर बर्धिधारी त्यो ‘जत्था’ ले त्याे दुधे बालकलाई पनि मिल्काईदियो ।

यो कुनै चलचीत्रको दृष्य होईन । राजधानीको बानेश्वरमा तरकारी बेच्दै आएकी गीता साहले मंगलबार भोगेको यथार्थ हो । झापा सितापुर घर भएकी गीता यतिबेला बानेश्वर स्थित सिभिल अस्पतालमा छिन् । बानेश्वर चोकमा तरकारी बेच्दै आएकी उनी गर्भवति छिन् । तर मंगलबार त्यो गर्भवति पेटमा महानगरपालिकाको प्रहरीको बर्बर बुट बजारिएपछि उनी सिभिल अस्पताल भर्ना भएकी हुन् । ‘५ जना मिलेर मेरो तरकारी खोस्न आयो, मैले दिन्न भनेँ, हाकिमले लात्ताले हान्न थाल्यो,’ थर्थराउँदो स्वरमा गीताले दियोपोस्टसँग भनिन्, ‘मेरो बच्चालाई पनि हान्न थाल्यो, मेरो बच्चाले भन्दै थियो मेरो ममिलाई नहान.. त्यसपछि थाहा भएन ।’


घाइते अामासँगै छाेरा दिनेश ।

विगत केही वर्षदेखि राजधानीको बानेश्वर पानी ट्याङ्की अगाडी उनी यसरी तरकारी बेच्दै आएकी छिन् । आईतबार र सोमबार सडकपेटिमा तरकारी नबेच्न महानगरपालिकाले उर्दी गरेको थियो । तर, स्थानिय व्यवसायी र नगरपालिकाबीच मंगलबारबाट भने तरकारी बेच्न दिने सम्झौता भएको थियो । सोही थाहा पाएपछि उनी सडक पेटिमा तरकारी बेच्न गएकी थिईन् ।

प्रहरीकाे कुटपीटबाट उनलार्इ अाफ्नाे शरिरकाे भन्दा पेटभित्रकाे बच्चाकाे चिन्ता बेसी छ ।

‘मेरो त यो हाल भयो भित्रको ६ महिने बच्चाको के हालत भयो होला,’ आँशु पुछ्दै अस्पतालको बेडबाट गीताले भनिन्, ‘लात्ताले यो ढाड देखि पेटभरी हानेको छ ।’

गीता कुनै रहरले आफू तरकारी पसल गर्न नगएको बताउँछिन् । ‘हामी रहरले यहाँ आएका थिएनौं, दुखले गर्दा आएको हो । पेट पाल्न गाह्रो भएर आएको हो,’ एक हातले आँशु पुछ्दै उनले भनिन्, ‘बालबच्चा पाल्नै प¥यो । हामी धनि मान्छे होईन ।’

गीताले हामीलाई आफूमाथि भएको ज्यादती सुनाउँदै गर्दा उनका छोरा दिनेश आइपुगे । ‘महिला प्रहरीले केही पनि गरेका थिएन,’ दिनेशले सुनाए,‘पुरुष प्रहरी आएर मेरो गर्भवति ममिलाई लछारपछार पारे, पेटमा ठूलो बुट लगाएको मान्छेहरुले हान्न थाले ममि त्यहीँ ढल्नुभएपछि म बचाउँन गएँ मलाई पनि झापड हाने ।’

दिनेशका बुवा विनोद साह साउदीमा रोजगारीको लागि गएका छन् । ‘म रत्नराज्य स्कुलमा पढ्छु, हामी बानेश्वरमा तीन हजार भाडा तिरेर कोठामा बस्दै आएका छौं,’ उनले सुनाए, ‘ममीले तरकारी बेचेर खान धौधौ छ, तर यो उपचार गर्ने पैसा कहाँबाट ल्याउने हो थाहा छैन ।’

पेट भित्रको बच्चालाई केही भयोकी भन्ने दिनेशलाई चिन्ता छ । ‘मेरो ममिको पेटमा धेरै लात परेको छ, यदि केही भयो भने ?’ दिनेशले प्रश्न गरे । गीतालाई उपचारका लागि स्थानिय फूटपाथ व्यवसायीले प्रतिव्यक्ति २० रुपैयाँ उठाएर अस्पताल पु¥याएका हुन् । ‘हामीले २० रुपैयाँ उठाएर अस्पतालसम्म ल्याएका छौं’ प्रत्यक्षदर्शी विष्णुमायाँ खड्काले भनिन् ।

पुरुष प्रहरीले महिला देख्ने वित्तिकै लछार–पछार पारे : प्रत्यक्षदर्शी

प्रत्यक्षदर्शी विष्णुमायाँ खड्काका अनुसार नगर प्रहरीले महिला देख्ने वित्तिकै जबरजस्ति लछारपछार पारेका थिए । ‘हामीलाई देख्ने वित्तिकै त्यो ईन्सपेक्टरले समाउन आयो,’ उनले भनिन्, ‘महिला प्रहरी हेरेर बसेका थिए ।’



उनका अनुसार नगरपालिकाकै आदेशमा फूटपाथ व्यापारीले सामान राखेका थिए । ‘सात बजेपछि तपाईंहरुले सामान राख्नुस् भनेपछि हामीले सामान राखेका थियौं, फटाफाट सामान राख्ने वित्तिकै त्यो ईन्सपेक्टरले हातमा समाएर संवेदनशील अंगमा पनि हात पु¥याए,’ उनले भनिन्, ‘हामीले नगर्नुस् सर भन्दै रोक्न खोज्दै थियौं गीतालाई त लछारपछार पारिसकेका रहेछन् ।’
उनले आफूलाई पनि प्रहरीले दुई हातले संवेदनशिल अंगमा हात लगाएको आरोप लगाएकी छिन् । ‘मलाई प्रहरीले दुवै हातले समायो उता मान्छेहरु चिच्याउँदै थिए,’ उनले सुनाईन्, ‘गीता मेरो बाबु…मेरो बाबु.. भनेर कराउँदै थिईन् । एक जना बहिनीले प्लिज उ गर्भवति छ त्यस्तरी नहान्नुस् भन्दा भन्दै पनि हान्न छोडेनन् ।’

प्रत्यक्षदर्शी जुना खड्काका अनुसार प्रहरीको बुटले उनको पेटमा ठूलो असर परेको छ । ‘उ लडेपछि उनको पेटमा लात्ताले यति हानेका छन् र भाई,’ आफू रोक्न गएको भन्दै उनले भनिन्, ‘म रोक्न जाँदा मलाई पनि उत्ता धकेलिदियो । म पनि घाईते भएछु ।’

पुलिसलाई घुस नदिएर यस्तो भयो : देवकी खरेल, महिला अधिकारकर्मि


म यो उपत्यका भरिको व्यावसायीहरुको अधिकारको लागि लड्दै आएको छु । नगरपालिका प्रहरीलेबीचमा घुस लिने गरेको छ । महिला केटाकेटीमाथि धरपकड गर्ने गरेको छ । धेरै पीडित यहाँ हुनुहुन्छ । उहाँहरुलाई मनलाग्दा राख्न दिनुहुन्छ जतिबेला पैसा दिन छाड्छन् त्यतिबेला धरपकड शुरु हुन्छ । ५ सय हजार दुईसय जति पायो त्यति लिएर जान्छन् । राजकुमार चौलागाई नाम गरेको नगरपालिकाको प्रहरीलाई हामीले पैसा दिने गरेका छौं । त्यो पैसा लिएर उ जान्छ । सिभिल ड्रेसमा आएर उनीहरुले आफ्नो श्रीमतिलाई चाहिने भित्री कपडा समेत लिएर जान्छ । दिन नमाने सामान उठाएर जान्छ ।

सिभिल अस्पताल भन्छ : विरामीको तस्विर खिच्न मिल्दैन

हामीलाई खबर आएपछि सिभिल अस्पतालमा विरामी भेट्न पुगेका थियौं । तर अस्पतालको ड्युटी ईन्चार्ज बताउने एक व्यक्तिले तस्विर खिच्न नमिल्ने भन्दै रोकेका थिए । विरामी महिलाको तस्विर अस्पतालको बेडमा खिच्न नमिल्ने बताएपछि हामीले विरामीलाई बाहिर ल्याएर तस्विर खिचाएका थियौं ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv