स्वास्थ्य परीक्षण रिपोर्टबारे विशेषज्ञ समिति गठन
दैनिक नेपाल२०७३ भदौ १० गते
काठमाडौं, १० भदौ । नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले युवालाई राहत दिनेगरी पहिलो निर्णय गराएका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयका कर्मचारीसँग छलफल गरी लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका हुन् ।
मन्त्री थापाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा छानविन गर्न विशेषज्ञ समिति गठन गरेका हुन् । गलत रिपोर्टका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेको र स्वास्थ्य मन्त्रालयमा उजुरी धेरै आएपछि मन्त्री थापाले छानबिन गर्न विशेषज्ञ समिति गठन गरेका हुन् ।
समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् । मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनिधी र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।
यो समितिले छानबिन गरी गलत रिपोर्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछ । मन्त्री थापाको पहिलो निर्णय कार्यान्वयन भए धेरै नेपाली युवाले राहत पाउनेछन् ।
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण भरपर्दाे र विश्वसनीय बनाउन यो निर्णय गरिएको मन्त्री थापाले पत्रकारहरुलाई बताए ।
Post a Comment