काभ्रेको बिर्ता देउरालीस्थित खहरे खोला नजिकै आज भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु भयो भने ४० जना घाइते भएका छन् । काठमाडौंबाट मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोमा ब्रेक फेल भएर पछाडि हट्दा भीरबाट खसेको अनुमान गरिएपनि त्यसको पुष्टि भइसकेको छैन ।
दिउँसो १ बजेतिर भएको दुर्घटनामा उद्धारकार्यमा संग्लग्न ४१ बर्षीय पुष्करराज पन्थसँग हामीले दुर्घटनापछिको घटनास्थलको अवस्थाबारे कुरा गरेका थियौं ।
बिभत्स दृश्य देखेको बताउने पन्तकै शब्दमा घटनाः मेरो घर काभ्रेको बिर्ता देउराली ३ आलडाँडामा हो । भूकम्पले भत्काएको घर सफा गरी नयाँ घर बनाउने क्रममा छ, आज दिउँसो पनि त्यसैको काम गरिरहेको थिएँ । करीव सवा एक बजेतिर बनेपाबाट एकजना सरले फोन गरी बस दुर्घटना भएको जानकारी दिनुभो । दुर्घटनास्थल मेरो घरबाट हिँडेर करीव ४५ मिनेटको दूरीमा पर्छ । दुर्घटना भएकेा सुन्नेबित्तिकै सुरुमा गाउँको भुमेस्थान उच्च माविमा गएर सरहरुलाई सुनाए । त्यसपछि तत्काल घटनास्थलमा पुगेँ । मसँगै स्कुलका सरहरुपनि हुनुहुन्थ्यो । करीव पौने २ बजेतिर म घटनास्थलमा पुगेँ ।
म त्यहाँ पुग्दा करीव डेढ सयको सङख्यामा मानिसहरु जम्मा भइसकेका रहेछन् र उद्धारको क्रम पनि सुरु भइसकेको रहेछ । तर कठिन भौगोलिक अवस्था र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको थियो । घटनास्थलमा मैले यस्तो दृश्य देखेँ कि यस्तो मैले यसअघि कहिल्यै देखेको थिइनँ । घाइतेहरु पाखा भरि छरिएका थिए । उद्धारका लागि चिच्याइरहेका थिए । एैया दुख्यो, मरेँ नि जस्ता कोकोहोलो सुनिएको थियो । मृतकहरुका विभत्स शवहरु यत्रतत्र छरिएका थिए । कसैको टाउको थिएन, कसैको हात खुट्टा थिएन । साँच्चै नै हृदयविदारक दृश्य थियो त्यो । दोलालघाटबाट कच्ची बाटो गाडिमा १ घण्टामा घटनास्थल पुगिन्छ । बस करीव ३०० मिटर तल खसेको हुनुपर्छ । बस २०/२२ टुक्रा भएको छ । भीरको बीच बीचमा ठोक्किँदै गएकाले मानिसहरु भीरैभरी छरिएका हुन् । म पनि उद्धारमा खटिएँ ।
हामीले उद्धारका क्रममा घाइतेलाई प्राथमिकता दियौं । मैले ३/४ जनालाई बोकेर माथि ल्याएँ । २ बजेतिर १०/१२ जनाको सङख्यामा प्रहरीको टोली इन्सपेक्टरको नेतृत्वमा घटनास्थल पुगेपछि हामीलाई उद्धारमा सहज भयो । प्रहरीले ठूलो सहयोग गरे ।
घाइतेलाई तत्काल उपचारका लागि कुनै व्यवस्था थिएन । गाउँकै स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेका थिए । साँढे ३ बजेतिर तीनवटा एम्बुलेन्स घटनास्थल पुग्यो । प्रहरीले केहि घाइतेहरुलाई त्यसमा हालेर पठायो । त्यसपछि १३ वटा एम्बुलेन्स आए । संभव भएसम्म घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । प्रहरीको पहलमा हेलिकप्टरबाट घाइतेको उद्धार हुने सुनेर हामीले हेलिकप्टर बस्न हेलिप्याडको ब्यवस्था गर्न थाल्यौं । घटनास्थल नजिकै एउटा ठूलो बारीको पाटा छ । त्यहाँ मकै लगाइएको थियो । बारीको पूरै मकै फाँडेर हेलिप्याड बनायौं । तर, नेपाली सेनाको हेलिकप्टर ठूलो भएकाले ठाउँ साँगुरो भयो । त्यसपछि हामीले त्यसवरपरका ८/१० वटा रुखहरु काटेर ल्याण्ड गर्नसक्ने बनायौं ।
घाइतेहरुलाई एम्बुलेन्स र हेलिकप्टरबाट पठाइसकेपछि अहिले शव संकलन गर्ने कार्य भइरहेको छ । भीरैभरी छरिएर रहेका शवहरु संकलन गरी माथि सडकसम्म ल्याउने काम भइरहेको छ । पानी परिरहेकाले शव संकलन कार्यमा असहज भइरहेको छ । तर, हामीले काम गर्नु परेको छैन । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । उनीहरुले नै भीरबाट शव संकलन गरिरहेका छन् । दिउँसो ४ बजेतिर प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरीका अफिसरहरु पनि आउनुभएको थियो । घटनास्थलको निरिक्षण गरी उहाँहरु जानुभयो ।
Post a Comment