Latest Updates :

यात्रुको मृत्यु भए चालक जेलमा, लाइसेन्स खारेज : कडा बन्दै यातायात ऐन ..हेर्नुहोस के के छन्,मस्यौदामा ?


SHARE THIS POST :

काठमाडौं, भदौ ७ – यातायात व्यवस्था विभागले नियम मिच्ने चालक तथा गाडीलाई कडा कडा कारबाही गर्ने भएको छ । अहिले भएको फितलो कानुनले दुर्घटना भएको भन्दै विभागले यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी कडा कारबाही गर्ने जनाएको छ । विभागले ऐन संशोधनका लागि मस्यौदा तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउन लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताउनुभयो । ‘अहिलेको फितलो यातायात व्यवस्था ऐनका कारण चालकको लापरबाहीले दुर्घटना भएको छ ।

दुर्घटना नियन्त्रणका लागि ऐन संसोधन गर्न लागिएको हो’ महानिर्देशक श्रेष्ठले भन्नुभयो । चालकको लापरबाही, पैसाको लोभले बढी यात्रु बोक्ने गरेका कारण धेरै जसो गाडी दुर्घटना भएको वभागले जनाएको छ । यिनै दर्घटनालाई कम गर्न भन्दै विभागले अहिले ऐन संशोधनका लागि धमाधम मस्यौदा तयार गरिरहको छ । ‘हामीले मस्यौदा तयार पारिहेका छौं, अबको केही दिनमै मन्त्रालय पठाउँछौ र संसदबाट पारित भएपछि नयाँ नियम लागु हुन्छ’ महानिर्देशक श्रेष्ठले भन्नुभयो ।

के के छन्,मस्यौदामा ?

 यस अघिनै हदैसम्मको कारबाही भन्दै बढी यात्रु बोक्ने चालकको लाइसेन्स रद्द गर्ने तथा गाडीको रुट परमिट खारेज गर्नेसम्मका नियम आइसकेका छन् । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार अब दुर्घटना गराएर यात्रुको ज्यान गएमा चालक जेल बस्नु पर्नेसम्मका कुरा मस्यौदामा उल्लेख छन्

। ‘यात्रुको जीवनमा माथि खेलवाड गरेर ज्यान लिनेको लाइसेन्स रद्द गर्ने र जेल चलानसम्मको कुरा प्रस्तावित मस्यौदामा उल्लेख गरेका छौं’ महानिर्देशक श्रेष्ठले उज्यालो अनलाइनलाई भन्नुभयो । यदी यो मस्यौदा संसदबाट पास भएमा लापरबाही गरेर दुर्घटना गराई यात्रुको ज्यान गएमा चालके कहिले पनि गाडी हाँक्न नपाउने र कैद सजाय पनि हुने व्यवस्था छ ।

ट्राफिकका आँखा छलेर गाडी हुँइक्याउने, लापरबाही तरिकाले गाडी कुदाउने, ट्राफिक नियम नमान्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न गरी मस्यौदा तयार गरेको विभागले जनाएको छ । त्यस्तै चालक हुनका लागि यसअघि भएको टेष्ट पासको नियमावलीलाई अब एसएलसीसम्म बनाउन लागिएको छ । अशिक्षित भएकाले ट्राफिक चिन्ह नचिन्ने र दुर्घटना बढेकाले यस्तो नियम बनाउने गरी ऐन संशोधन गर्न लागिएको विभागका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो ।

अहिलेको यातायात व्यवस्था ऐन अनुसार सवारी नियम उलङ्गन गर्ने गाडीले पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ । तर विभागले तयार पारेको संशोधन मस्यौदामा पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म तिर्नु पर्ने उल्लेख गरिएको छ । थोरै जरिवाना भएपछि नियम उलङ्गन गर्ने र जरिवाना तिरेर भाग्ने गरेका छन् ।

 ‘अब पचास हजार रुपैयाँसम्म जरिवाना हुनेभएपछि नियम मिच्ने कम हुन्छन् र दुर्घटना कम हुन्छ’ महानिर्देशक श्रेष्ठले भन्नुभयो । यसअघि भएको पाँचसय रुयैयाँसम्मको जरिवाना कम भएको भन्दै बढाएर १५ सय रुपैयाँसम्म पुर्‍याइएको थियो ।

 १५ सय रुपैयाँ पनि कम भएको भन्दै विभागले ५० हजार रुपैयाँ बनाउन लागेको जनाएको छ । अपरिपक्क भएमा चालकले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विभागको ठहर छ ।

१६ वर्षमै लाइसेन्स लिने र सवारी नियम उलङ्गन गर्दै गाडी कुदाएकाले दुर्घटना हुने गरेको छ । अब त्यो व्यवस्थामा पनि हेरफेरको आवश्यक भन्दै विभागले साना सवारीको लाइसेन्स लिन २१ वर्ष पूरा भएको तथा ठूला गाडीको लाइसेन्स लिन २५ वर्ष पूरा भएको हुनु पर्ने मस्यौदामा उल्लेख गरेको छ ।

 अहिलेसम्म १६ वर्ष उमेर पुगेकाले साना गाडीको तथा २१ वर्ष उमेर पुगेकाले ठूला गाडीको लाइसेन्स लिँदै आएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv