Latest Updates :

२० वर्षपछि साङ्लोबाट मुक्त भए चितवनका एक शिक्षक


SHARE THIS POST :

रत्ननगर : कालिका नगरपालिका-७ खोलेसिमलका भीमप्रसाद भट्टराईले ३१ वर्षअघि गोरखाको अश्राङ स्कुलमा पढाए।

अश्राङ गाविसमा उनी राम्रो शिक्षकका रुपमा परिचित थिए। शिक्षण पेसा अपनाएर विद्यालयमा पढाउँदा पढाउँदै उनलाई अनौठो प्रकारको रोग देखा पर्यो। श्रीमती र दाजुभाइसँग झगडा गर्ने, खाना नखाने, एकोहोरो टोलाइरहने रोगले उनलाई छोप्यो। उनमा देखिएको अनौठो प्रकारको मनोरोगका कारण घरमा अशान्ति बढ्दै गयो।

भीमप्रसादलाई यस्तो रोग देखा परेपछि २६ वर्षअघि उनको परिवार साविक जुटपानी गाविसमा आए। झन् उनलाई रोगले चाप्दै लग्यो। श्रीमती मायादेवीले उनलाई उपचार गर्न जिल्लादेखि राजधानी काठमाडौंका अस्पतालमा पुर्याइन्। तर, रोग निको भएन। बाबु भीमप्रसादलाई लागेको रोग उनका दुई छोरालाई पनि सर्यो।

ठूलो छोरो दीपकलाई २१ वर्ष हुदाँ र कान्छो छोरा १५ वर्षको हुँदा रोग लागेको मायादेवीले बताइन्। श्रीमान् बिरामी भएपछि अत्तालिएकी मायादेवीलाई दुई छोराहरु पनि बिरामी भएपछि चिन्तामाथि चिन्ता थपियो। शरीर थरथरी काप्ने, कम बोल्ने, होस नपाउने रोगले श्रीमान् र दुई छोरा पीडित बनेपछि मायादेवीलाई जीवन नै सकिए झैं लाग्यो।

श्रीमान् र दुई छोराको उपचार गर्दा उनले दुई कठ्ठा जग्गा बेचिन्। तर, रोग निको भएन। केही नलागेपछि औषधि खुवाएर घरमै राखिन्। मायादेवीले घरको काम गर्दा र घरबाट बाहिर जाँदा श्रीमान् र दुई छोरा सुर नपाएर हिँड्न थाले। थाम्नै नसकेपछि उनले तीनै जनालाई खुट्टामा साङ्लोले बाँधेर राख्न थालिन्।

श्रीमान्लाई २० वर्ष अघिदेखि साङ्लोले बाँधेर राखिन्। छोराहरु पनि हराउन थालेपछि उनले छोराहरुलाई साङ्लोले बाँध्न बाध्य भइन्। यसरी बाध्य भएर बाँधेर राखिएका बाबु र दुई छोरालाई मंगलबार उद्धार गरिएको छ।

चितवन मानव सेवा आश्रमले उनीहरुलाई उद्धार गरेको हो। आश्रमले उद्दार गरेसँगै उनीहरु साङ्लो मुक्त भएका छन्। २० वर्षदेखि साङ्लोले बाधिएका भीमप्रसाद र उनका दुई छोरालाई प्रमुख जिल्ला अधिकारीले विनोदप्रकाश सिंहले साङ्लो मुक्त गराए।

चितवनका प्रमुख जिल्ला अधिकारी सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतको टोलीले उनीहरुलाई उद्धार गरी आश्रममा लगेको हो।

विगत पाँच वर्षअघिदेखि उनीहरुको राम्रो उपचार हुन सकेको थिएन। आर्थिक अभावका कारण अस्पताल लगेर उपचार गर्न नसकेको मायादेवीले बताइन्। प्रमुख जिल्ला अधिकारी सिंहले राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको भन्दै भट्टराई परिवारका तीनैजना केही दिनमै ठिक हुने विश्वास व्यक्त गरे।

स्थानीय विकास अधिकारी पोखरेलले राज्य र गैरसरकारी संस्थाको सहकार्यबाट मात्रै सामाजिक अभियान सफल हुने बताए। उनले मानव सेवा आश्रमले गरेको काम विश्वमै उदाहरणीय रहेको बताए। मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीले उद्धार गरिएका तीन जनाको मंगलबारबाट उपचार सुरू गर्ने बताए।

मनोरोगीलाई उपचार मात्र पर्याप्त नहुन्ने भन्दै अधिकारीले उपयुक्त वातावरणमा परामर्श दिएर पनि तीन जनालाई छिट्टै निको बनाउने तर्फ आफ्नो प्रयत्न हुने बताए। उद्धार गरेसँगै भट्टराई परिवारका तीन जना मानव सेवा आश्रमको जिम्मामा आएका छन्। समान्य जीवनशैलीमा आए घर फिर्ती गर्छौ, उनले भने, नत्र आश्रममै राखेर पाल्ने छौं। मानव सेवा आश्रमले अहिलेसम्म ५०० असहाय, मनोरोगी, सडकमा अलपत्र परेकालाई उद्धार गरिसकेको छ।

आश्रमले त्यस्ता १२५ जनालाई सामान्य अवस्थामा फर्काएर परिवारमा पुनर्मिलन गराएको छ। आश्रमको मुख्य कार्यालय हेटौडामा र चितवन र काठमाडौंमा शाखा रहेको छ। हेटौडामा ७३, चितवनमा ४० र काठमाडौंमा २५ जना आश्रित रहेका छन्। चितवन पोष्टमा होमनाथ सापकोटाले खबर लेखेका छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv