Latest Updates :

बेचिएका छोरी उद्दार गर्ने साहसी आमाको दुःख र संघर्षको यस्तो छ कथा


SHARE THIS POST :

संसारमा दुःख नपाएको र संघर्ष नगरेको कोही छैन होला। तर मान्छेले दुःख र संघर्षको हद कतिसम्म भोग्नु परेको छ भन्ने हो।

संसारमा कैलालीको निगाली गाविसकी एक महिलाले पाएको दुःख र गरेको संघर्ष भन्दा धेरै हदसम्म भोग्नु परेका थुप्रै व्यक्ति पनि होलान्। तर ती महिलाले जिन्दगीको यात्रामा भोग्नु परेको दुःख र संघर्षको कथा कम्ता पीडादायी छैन।
आफू सानै हुँदा बुबा बिते। आमाले अर्को बिहे गरिन्। सानैमा अभिभावक बिहिन भएपछि जिन्दगीको यात्रालाई सहज बनाउन बिहे गरिन्। १५ वर्षको कलिलो उमेरमै पहिलो सन्तान जन्माउनु पर्‍यो। ३० वर्षकी ती महिलाले लगालग ६ छोरी जन्माईन।घरपरिवार रामै्रसँग चलेको थियो। श्रीमानको सहारा पछि उनले बितेको जिन्दगीका दुःख र संघर्षलाई भुल्दै थिईन।

तीन वर्ष अघि अचानक उनको जीवनमा अर्को बज्रपात आई लाग्यो। सबैभन्दा कान्छी छोरी सात महिने गर्भमा रहेकै बेला एकाएक श्रीमान हराए।

कुनै ठाउँ जान्छु समेत नभनेर घरबाट हिँडेका श्रीमान हराए पछि उनको दुःख र संघर्षको यात्रा झन जटिल मोडमा उभियो। कहिँ कतैबाट श्रीमान परदेशीएको खबर पाएपछि उनी खोज्दै भारतका विभिन्न शहर पुगिन्। तर श्रीमानको कुनै अत्तोपत्तो लागेन।

श्रीमानको खोजीमै रहेका बेला उनको जीवनमा फेरि ठूलो बज्रपात भयो। त्यो सुनेर उनी मर्नु र बाँच्नुको दोसाँधमा पुगे झैं हुन पुगिन्।

उनी घरमा नभएको मौका छोपेर डोटीको तिलाडी घर भई भारतको पञ्जाब प्रान्तको नागपुरमा बस्दै आएकी एक महिलाले उनका जेठी र माहिली छोरीलाई भारत पुर्‍याईन।

कैलालीको मसुरीया गाविस अण्डैयामा समेत घर भएकी चैती बराइली नामकी ती महिलाले मोवाइल र गहना किनिदिने प्रलोभन देखाएर अन्य दुई बालिकालाई समेत भारत पुर्‍याएकी थिईन।

हाल १५ र १३ वर्षका दिदीबहिनीलाई ती महिलाले केही समय आफ्नो घरमा राखिन्। केही समय पछि ती महिलाले बहिनीलाई अर्कैको घरमा काम गर्न पठाईन।

उनीहरुलाई मुख्य गरी घरको कामकाजका साथै नाँच्ने काममा पनि लगाईन्थ्यो। सर्कसमा बस्ने क्रममा श्रम र यौन शोषण समेत गर्ने गरिएको भनिए पनि उनीहरुले स्वीकारेका छैनन्।

गत जेठ महिनामा सँगै लगिएका मध्ये २ जना बालिका फर्किएर आएपछि उनले छोरीको बारेमा जानकारी पाईन। फर्केर आएका बालिकाहरुले नै छोरीलाई भेट्न सकिने फोन नम्बर दिए।

सो नम्बरमा फोन गर्दा कुनै भारतीय नागरिकले कुरा गर्‍र्यो। उनले छोरीसँग कुरा गर्ने भनेपछि भारतीय नागरिकले केही दिन कुरा गर्न दिए।

एकदिन उनकी छोरीले आमालाई फोन गरिन्। जुन कुरा त्यो भारतीय नागरिकले थाहा पाएछ। त्यसपछि उसले आमालाई किन फोन गरेको भन्दै कुटपिट गर्‍यो।

उनले खोज्दै जाने क्रममा जेठी छोरीलाई त भेटिन् तर कान्छी छोरी थिईनन्। जेठी छोरीलाई समेत सहजै दिन मानेन। उनले दवाव दिएपछि जेठी छोरी पनि दियो र कान्छी छोरीका बारेमा समेत जानकारी दियो।

जेठी छोरी बोकेर बिहार पुगेकी उनले कान्छी छोरी समेत फेला पारिन्। तर उनलाई बिहार प्रान्तको छाप्रा जिल्लाको जनता बजारमा रहेको सुपरसंगम म्युजिकल गु्रपमै काम गर्ने धर्मेन्द्र नामको व्यक्तिले बिहे गरिसकेको थियो। उनले कान्छी
छोरीलाई फिर्ता ल्याउने अनेक प्रयत्न गरिन्। तर सफल हुन सकिनन्।

कान्छी छोरीलाई छुटाउन ३० हजार रुपैयाँ मागियो। उनीसँग एक हजार मात्रै थियो। उनी ३० हजारको खोजीमा हिँडिन। सर्त राखियो जेठी छोरीलाई समेत सर्कसमै छोड्नुपर्ने।

न उनीसँग पैसा थियो न कोही आफन्त नै थिए। उनले सबै सर्त स्वीकार्नु पर्ने नै भयो। दुवै छोरीलाई सर्कस मालिकको जिम्मा लगाएर उनी नेपाल फर्किईन।

छोरीलाई मुक्त गर्न ३० हजार रुपैयाँको जोहो गर्न आएकी उनले धनगढीस्थित माईती नेपालको ढोका ढक्ढकाईन। उनले छोरीको उद्दारका लागि निवेदन दिईन।

उनको निवेदनका आधारमा माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले बालिकाका बारेमा सोधखोज गरे। एकजना भारतीय प्रहरी उपरिक्षकले बालिकाको अवस्थाका बारेमा चौधरीलाई जानकारी दिए।

माइती नेपाल कैलालीका प्रमुख चौधरी र उनी छोरी बन्धक रहेको बिहार पुगे। तर उनीहरु जाने बित्तिकै सर्कसवालाले छोरी दिन मानेन। उनीहरुले प्रहरीलाई गुहारे। प्रहरीले उल्टै हप्कायो। सर्कस मालिक र केही गुण्डाहरुले समेत उनीहरुलाई मार्ने धम्की दिए।

सर्कसमा एक जना नेपाली भाषी पनि थिए। उनले सहयोग गर्नुको साटो उल्टै पैसाको प्रलोभन देखाए।
उनले हिम्मत हारिनन्। छोरीलाई मुक्त गर्न उनले प्रहरी, सर्कस मालिक र गुण्डाहरुको सामना गरिन्। तिनै प्रहरी उपरिक्षकले दवाव दिएपछि उनका दुवै छोरी मुक्त भए।

उनी छोरी बोकेर माइती नेपाल कैलालीको कार्यालयमा पुगेकी छन्। छोरीको मानसिक अवस्था स्वस्थ छैन। उनी पहिले छोरीको स्वास्थ्य अवस्था सुधार्नेमा लागेकी छन्।

छोरी तन्दुरुस्त भएपछि उनले बालिका बेच्ने चैती बराइलीका भाईका नाममा मुद्दा दायर गर्ने योजना बनाएकी छन्। जसले उनकी छोरीलाई फकाउनमा सघाएका थिए।

हाल नेपालमै रहेका बराइलीका भाईका नाममा मुद्दा दियो भने घटना संलग्न सबै कानूनी कारवाहीको दायरामा आउछन् भन्ने विश्वास उनलाई लागेको छ।

आफ्ना कलिला छोरीहरुलाई भारतमा लगेर बेच्नेहरुलाई कानूनको कठघरामा उभ्याउने उनको जिन्दगीको एउटै लक्ष्य छ।
अझै सम्पर्कमा नरहेका श्रीमानको खोजी र छ जना छोरीहरुको लालनपालनको जिम्मेबारी त उनको काँधमा छँदैछ।

(ती महिलाको आग्रहमा समाचारमा पीडितको परिचय खुलाईएको छैन )

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv