Latest Updates :

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज


SHARE THIS POST :

काठमाडौं— एशियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएका चार नेपाली फुटबल खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो।

एएफसीले नेपाली टोलीका तत्कालीन प्रशिक्षक अन्जन केसी, तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईले म्याच फिक्सिङ गरेको पुष्टि गर्दै आजीवन प्रतिबन्ध लगाएको थियो। सो निर्णयमा पुनःविचार गर्न उनीहरुले अपिल कमिटीमा निवेदन दिएका थिए। बिहीबारको बैठकले नेपाली खेलाडीको अनुरोध खारेज गर्दै फुटबलमा आजीवन प्रतिबन्ध गर्ने यसअघिको एएफसी निर्णयलाई निरन्तरता दिएको हो।

एएफसीको निर्णयले फुटबल करिअर अघि बढ्ला कि भन्ने उनीहरुको झिनो अाशा समाप्त भएको छ।

यस कारण कारवाही भएको थियो
नेपाली राष्ट्रिय टोलीमा रहँदा उनीहरुले विभिन्न समयमा म्याच फिक्सिङ गरी झन्डै १८ लाख रुपैयाँ बुझेको र दामासाहीले बाँडेको अनुसन्धानबाट पुष्टि भएको थियो। सो अभियोगमा प्रहरीले उनीहरुलाई २०७२ असोज २७ मा पक्राउ गरेको थियो। एएफसीले म्याच फिक्सिङ गरेको पुष्टि गरेपछि नेपाल प्रहरीलाई कारवाहीका लागि आग्रह गरेको थियो।

सन् २००८ मा भएको मोर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने शर्तमा प्रतिखेलाडी ५ हजार अमेरिकी डलर लिएको, २००९ को साफ च्याम्पियनमा जम्मा ३ हजार ६१ अमेरिकी डलर लिएका थिए। त्यस्तै, २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने शर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको, २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार डलर लिएको खुलेको थियो।

सन् २०१२ मा भारतमा भएको नेहरु कपअन्तर्गत क्यामरुनसँगको खेल ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार डलर लिन सर्त भएकोमा खेलको अन्तिम समयमा गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको तथ्य पनि खुल्न आएको प्रहरीले जनाएको छ। वेस्टर्न युनियन मनि ट्रान्सफर, साइबर मनि ट्रान्सफरसमेतबाट नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अन्जन केसीले रकम बुझेको प्रमाणित भएको थियो।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv