Latest Updates :

क्षमता भन्दा बढी ‘ओभरलोड’का कारण बस दुर्घटना, लगभग १०० को संख्यामा सवार, ३३ मृत्यु, २६ को सनाखत


SHARE THIS POST :

साउन ३२, काभ्रे ।
 काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा भएको बस दुर्घटना क्षमता भन्दा बढी ‘ओभरलोड’का कारण भएको प्रहरीले जनाएको छ । ‘बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोड तान्न नसकी दुर्घटना भएको देखिन्छ’, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीन राईले भने । हामि पनि सहजै अनुमान गर्न सक्छौ कि मृतक मात्र ३३ जना छन् भने घाईते ४१ जना पुगेको छ त्यो संख्या जोड्दा ७४ जना भयो । त्यसमा सकुशल रहने १५/२० जना हुन सक्छ यो जोड्दा यात्रुको संख्या लगभग १०० को हाराहारी हुन आउछ । अब ३०/३५ जनाको क्षमता भएको गाडीले तेब्बर यात्रु बोक्दा के हालत हुन सक्छ त ? त्यो सहजै अनुमान गर्ने कुरा हो । यसमा ड्राईभर, यातायात सेवा र राज्यको उत्तिकै जिम्मेवार देखिन्छ ।
घटनास्थलमा रहेका राईका अनुसार अहिलेसम्म घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा कात्तिके देउराली–७ का ४५ वर्षीय दीपक गौतम, ६५ वर्षीय गोविन्द गौतम, ६५ वर्षीय सुनिल बर्देवा, मादनकुँडारी–५ का ६५ वर्षीय नीलकण्ठ गौतम, वर्ष नखुलेका विनोद गौतम, मादनकुँडारी–१ का आठ वर्षीया एलिसा तामाङ, ठेगाना तथा वर्ष नखुलेका औलात सिंह, पञ्जा तामाङ, सानुमाया तामाङ छन् । त्यसैगरी कात्तिके देउराली–३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा र वर्ष नखुलेका सीता बर्देवा, गोठपानी गाविसका २१ वर्षीय रेशम विक, मादनकुँडारी–५ का छविलाल चौलागाई र वर्ष खुल्न नसकेका सीता गिरी, कात्तिके देउराली–७ की कुनामाया परियार, सीता परियार, मादनकुँडारी–३ की माईली तामाङ, ठेगाना खुल्न नसकेका इन्द्रकुमारी लामा, लीलानाथ गौतम, कृष्ण दमै, ठुलीकान्छी सुनुवार, सुस्मा लामा, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ र रामेछाप लखनपुर–१ जुनकिरी गौतमको मृत्यु भएको छ ।

घटनास्थलमा भारी वर्षा भइरहेकाले शव सङ्कलन र उद्धारमा समेत समस्या भएको उनले जानकारी दिए। मृतकको शव अहिले घटनास्थलमै राखिएको छ । भोलि घटनास्थलमै मेडिकल टोली झिकाइ शवपरीक्षण गरी आफन्तलाई बुझाइने उनले जानकारी दिए। यसैबीच धुलिखेलमा उपचारार्थ १२ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको टाउको र मेरूदण्डमा चोट लागेको छ। घाइतेमध्ये २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ। उनीहरूमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौं र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात सेवा समितिअन्तर्गत बा ३ ख १०६ नम्बरको सो बस बिहान ७ बजे पुरानो बसपार्कबाट काभ्रेको मादनकुँडारी जाँदै थियो। प्रत्येक दिन काठमाडौंबाट मादनकुँडारीसम्म एउटा मात्र बस जाने भएकाले बसमा खचाखच यात्रुहरू रहेका स्थानीयवासीले बताएका छन्। दुर्घटनाग्रस्त बस २०–२२ टुक्रा भएको छ। यसैबीच गृह मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गरी उक्त घटनामा २५ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु तथा ४२ जना घाइते भएको जनाएको छ । मन्त्रालयले लामो रुटको यातायात सेवामा सिट क्षमताभन्दा बढी यात्रुहरू राख्न नदिने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

यसैबीच गृहमन्त्री विमलेन्द्र निधि साँझ ट्रमा सेन्टर पुगेर घाइतेहरूको उपचारमा सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने बताएका छन् । उनले घाइतेको सम्पूर्ण उपचारखर्चसमेत सरकारले नै बहोर्ने बताएको गृह मन्त्रालका प्रवक्त यादव कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सेतोपाटिबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv