Latest Updates :

चितवनका १० मध्ये ७ मुसामा स्क्रब टाइफस सार्ने ‘माइट’ भेटियो


SHARE THIS POST :

रासस/भाद्र २८, रत्ननगर, चितवन । स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ । चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो । टोलीले १० वटा मुसा समातेर परीक्षण गर्दा सातवटा मुसामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेला परेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । “माइट सङ्कलन गरेर पठाइएको छ, केसीले भने –‘‘त्यो माइट सङ्क्रमित छ कि छैन भन्ने कुरा भने परीक्षणपछि मात्रै पत्ता लाग्ने छ ।” काठमाडौँबाट आएको आठजनाको टोलीले मुसाको कलेजो, फोक्सो, मुटु किड्नी र रगतसमेत सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगेको केसीले जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेको नेतृत्वमा टोली मुसाको अनुसन्धान गर्न चितवनमा आएको थियो । शुक्रबारदेखि सुरु भएको नमुना सङ्कलन कार्य सकेर टोली फर्किएको लामिछानेले जानकारी दिए । उहाँका अनुसार उक्त नमुना काठमाडौँमा थाइल्यान्डका विशेषज्ञसहितको टोलीले परीक्षण गरेपछि यकिन प्रतिवेदन आउनेछ ।

मुसामा पाइने माइट नामको सङ्क्रमित किराले टोकेमा स्क्रब टाइफस रोग सर्छ । मुसाबाट झारमा झर्ने र झारबाट मानिसमा किरा टाँसिएर टोक्दा रोग लाग्ने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । अठसट्ठी जनाको नमुना परीक्षण मुसाको अध्ययनका लागि आएको टोलीले स्क्रब टाइफस रोग लागेको मानिस, मृत्यु भएका व्यक्तिको परवार तथा स्थानीय गाउँले गरी ८६ जनाको रगतसमेत परीक्षणका लागि नमुना सङ्कलन गरेको छ ।

मुसाको अध्ययन भएको क्षेत्रका स्थानीयवासीको यसरी रगत सङ्कलन गरिएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा रहेका विभिन्न घरमा यहाँ मुसाको अध्ययन गरी स्थानीयवासीको समेत नमुना सङ्कलन गरिएको हो । नेपालमा आजसम्म स्क्रब टाइफसबाट सातजनाको मृत्यु भएको छ भने २३९ जनाका सङ्क्रमण भएको पाइएको छ ।

केही दिनअघि मात्रै कान्ति अस्पतालमा उपचार गराइएका एकजनाको मृत्यु भएपछि मृतक सङ्ख्या सात पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेले जानकारी दिए । नेपालका ३२ जिल्लामा सङ्क्रमण देखिएको स्क्रब टाइफस रोग वैशाखयता चितवनमा सबैभन्दा बढी १८९ जनामा फेला परेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv