नील आर्मस्ट्रङसँगै चन्द्रमा पुगेका अल्ड्रिन भन्छन: सपना देख्नुपर्छ असम्भव केही छैन
गुड आफ्टरनुन नेपाल । आज म तपाईंहरूसँग हुँदा खुसी भएको छु ।
अहिले मानिसहरू सोचिरहेका छन्, सोधिरहेका छन्, ‘भविष्यमा मंगल ग्रहमा जान रेडियसन समस्या हुनेछ ।’ तर, यसमा मेरो फरक मत छ । किनकि मंगल ग्रहमा मानिस पठाउने सपना मैले बनाएको छु । हो, त्यहाँ जसलाई पठाउने निर्णय हुन्छ, उसका लागि त्यो निर्णय चुनौतीपूर्ण हुन्छ । जो मंगल ग्रहमा जान तयार हुन्छ, उसलाई त्यहाँ जाने निर्णयका कारण पनि पछुतो लाग्न सक्छ । त्यसैले, अन्तरिक्षमा चासो भएका मानिसलाई हामीले सहयोग गर्नुपर्छ । हामी सबैले सहयोग गर्दा मात्र त्यो सम्भव हुन्छ ।
अन्तरिक्षमा जाने मानिसबारे म थप किन पनि चिन्तित छु भने मैले यो समस्या भोगिसकेको छु । र, हाम्रो सहयोगले सबैलाई सहज हुन्छ भन्ने मेरो सोच हो । पहिलोपटक म अन्तरिक्षमा जाँदा मैले मात्र होइन, मेरो परिवारले पनि समस्या भोगेको थियो । मेरो बुवाले समस्या भोग्नुभएको थियो ।
म जन्मिनुअघि नै मेरो हजुरबुवाको निधन भइसकेको थियो । म चन्द्रमा जानुभन्दा एक वर्षअघि मेरी आमाको मृत्यु भयो । त्यसैले, त्यतिवेला मैले समस्या भोगेको थिएँ । एउटा सेना युद्धमा गएर फर्किंदा वा युद्धमा जाने तयारी गर्दा उसको परिवारले भोग्नेजस्तै समस्या मैले पनि भोगेको थिएँ ।
नेपाल आएपछि मैले हिजोको यहाँको पत्रिकामा पढेको थिएँ– अब मानसिक स्वास्थ्यका विषयमा सरकारले जिज्ञासा दिन थालेको छ । मलाई विश्वास र आशा छ, विश्वभर मानिसहरू जो अहिले पृथ्वीमा बाँचिरहेका छन्, उनीहरू यस्तो समस्याका सिकार नहोऊन् ।
अहिलेको समय अत्यन्त महत्वपूर्ण छ । मानिसको जीवनमा पनि सही समयको अत्यन्त ठूलो महत्व हुन्छ । मेरो जीवनका लागि पनि समय अत्यन्त महत्वपूर्ण रह्यो । सही ‘टाइमिङ’का कारण नै मैले सफलता हात पारेँ । जे हुनुपथ्र्यो, त्यो समयमा नै भयो । मेरो शिक्षा र मेरो परिवारको साथ पनि महत्वपूर्ण भयो ।
यही समयको कुरामा मलाई गर्व लाग्छ, मेरो देशले सैन्य कार्यक्रममा मात्र लगानी गरेन । उसले अपोलो कार्यक्रममा पनि लगानी ग-यो । तर, यो देशको मात्र लगानी थिएन । सयौँ मानिसको सपना त्यसमा जोडिएको थियो । हजारौँ मानिसको सपना नजोडिएको हुने थियो भने त्यो कार्यक्रम सफल हुने थिएन । सयौँ मानिसले सँगै एउटै लक्ष्यमा काम गरेका थिएनन् भने त्यो अपोलो कार्यक्रम सम्भव हुने थिएन । एउटै लक्ष्य भएकाले र दर्जनौँले त्यही लक्ष्यमाथि काम गरेकाले नै चन्द्रमामा हामीले पाइला राख्न सफल भयौँ ।
मानव जातिले अन्तरिक्षमा जाने सपना बनाएको २०औँ शताव्दीमा मात्र हो । र, यो सोच थप सम्भव हुन पाएको सन् १९०३ देखि हो । राइट ब्रदर्सले पहिलोपटक सन् १९०३ मै हावामा उड्न सकिने कल्पनालाई सत्यमा परिणत गरिदिए । उनीहरूले क्यारोलिनमा गरेको त्यो उडानले मानिसका सपना फराकिलो बनाइदियो ।
मेरी आमाको जन्म त्यही वर्ष भएको थियो । त्यसैले पनि मलाई लाग्छ, यो मेरो ‘डेस्टिनी’ थियो । पहिलोपटक चन्द्रमामा म ‘डेस्टिनी’कै कारण पुगेको थिएँ । हो, ‘एम ओ ओ एन’ मुनमा ।
र, पहिलोपटक आकाशमा मानिस उड्न सफल भएको ६६ वर्षपछि मात्र हामीले चन्द्रमामा पाइला राख्न सक्यौँ । चन्द्रमामा पाइला टेक्नु सम्पूर्ण मानव जातिको सपना पूरा गर्नु थियो । हामीले सबैको प्रतिनिधित्व गर्दै कसरी त्यहाँ पुग्यौँ त भन्ने कुरा म आज सेयर गर्न चाहन्छु ।
मैले जीवनको पहिलो उडान दुई वर्षको हुँदा गरेको थिएँ । म त्यतिवेला बुवासँग पहिलोपटक हवाइजहाजमा बसेको थिएँ । उहाँ इन्जिनियर हुनुहुन्थ्यो र एभियसनको पायोनिरका रूपमा पनि उहाँलाई चिनिन्छ । उहाँ ओलिभर राइटको साथी पनि हुनुहुन्थ्यो । मैले गरेको त्यो पहिलो उडान सिंगल इन्जिन जहाजमा थियो । त्यो जहाज चिलजस्तै देखिन्थ्यो ।
तर, ग्राजुयट सकिएपछि मात्र मैले पहिला पटक अन्तरिक्षमा जाने सोचेँ । त्यतिवेला त मेरो बुवा एयरफोर्समा पनि हुनुहुन्थ्यो । उहाँले विमानमा आफूभन्दा पछाडि राखेर उडान भर्नुभएको थियो । पछि उहाँ ‘सिभिल एभियसन’को म्यानेजर हुनुभयो । त्यहाँ ५० भन्दा बढी निर्देशकको उहाँ व्यवस्थापक हुनुहुन्थ्यो । न्युजर्सीमा बुवाको कार्यालय थियो र म त्यहीँ हुर्किएँ ।
ममा एउटा सपना जन्मिइसकेको थियो । त्यसैले मैले बुवाकै पाइलालाई पछ्याए“ । अनि अमेरिकी सेनामा काम गर्न थालेँ । पहिलोपटक मैले कोरियन युद्धमा युद्धक विमान चलाएँ । त्यहाँ धेरै विरोधी युद्धक विमानलाई मैले
ध्वस्त पारेँ ।
त्यसपछि म जर्मनी गएँ । १९५० को दशकका अन्तिम वर्षहरूमा विश्व विभाजित भएको थियो । युरोपमा शीतयुद्ध चलिरहेको थियो । सोभियत संघ युद्धमा थियो ।
तर, सन् १९५७ मा अचानक र अपत्यारिलो ढंगले सोभियत संघले स्पुतनिकको ‘लन्च’ ग¥यो । त्यतिवेलासम्म यस्तो प्रविधिको कल्पना पनि गरिएको थिएन । सोभियत संघको यही कदमका कारण अमेरिकाले पनि अन्तरिक्षमा पुग्ने सपना बनायो । त्यसको एक वर्षपछि अमेरिकाले यसका लागि संस्था खोल्यो– नासा । र, सन् १९६१ मा त पहिलोपटक अन्तरिक्षका लागि नासाले उडान नै गरायो ।
त्यतिवेलासम्म रुसको अन्तरिक्षयानले ठूलो उपलब्धि गरिसकेको थियो । उसको अन्तरिक्षयानले पृथ्वीलाई परिक्रमा लगाइसकेको थियो । तैपनि अमेरिकाले त्यस्तो उपलब्धिमूलक केही गर्न सकेन ।
त्यतिवेला अमेरिकाका राष्ट्रपति जोन एफ केनेडी थिए । उनले नासालाई सोधेका थिए, ‘मंगल ग्रहमा जान कति समय लाग्छ रु’ नासाका इन्जिनियरहरूलाई यो प्रश्न सोधिएको थियो । उनीहरूले जम्मा एक सातामा जवाफ दिए– मंगल ग्रह अहिलेका लागि सम्भव नहुन सक्छ, तर चन्द्रमामा जानुचाहिँ अहिलेका लागि वास्तविक चुनौती हो ।
त्यसपछि केनेडीले नासालाई भने, ‘यो दशकको अन्त्यसम्ममा चन्द्रमामा हामी पुग्नै पर्छ ।’
त्यसका लागि दुई रकेटको आवश्यकता पथ्र्यो । धेरैले त्यतिवेला भनेका थिए, ‘यो असम्भव छ ।’ हुन पनि हामीसँग खासै केही थिएन । तर, हामीले काम गर्न थाल्यौँ । दृढ अठोट, आत्मविश्वास र आँटले गर्दा हामीले काम गर्न पनि सक्यौँ । र, अन्ततः सफल पनि भयौँ । यो हाम्रा लागि मात्र होइन, सम्पूर्ण मानव जातिका लागि ठूलो उपलब्धि भयो ।
जर्मनीमा काम गर्दा मलाई नासासँग काम गर्ने चाहना पलायो । कोरियाली युद्धमा होस् या जर्मनीमै किन नहोस्, मैले विमानहरू उडाएको थिएँ । युद्धकविमानहरू उडाएको थिएँ । यसले नासामा धेरै सहयोग हुन्छ भन्ने लागेको थियो । तर, मलाई निश्चित थिएन कि म त्यहाँ छानिन्छु ।
हुन पनि पहिलोपटकमा मलाई नासामा लिइएन । मैले गर्न सक्दिनँ भनेर फर्काइयो । तर, मैले दोस्रोपटक पनि प्रयास गरेँ । मैले आफूसँग भएको अनुभवबारे बताएँ । मलाई थाहा थिएन, उनीहरूले मलाई स्वीकार गर्छन् या गर्दैनन् भन्ने ।
त्यतिवेला हामी चन्द्रमामा पुगेपछि फर्किन्छौँ कि फर्कन्नौँ, वा चन्द्रमामा नै पुग्न सक्दैनौँ कि भन्ने कुरा थियो । तर, मैले विश्वास लिएर त्यहाँ काम गर्न थालेँ ।
पहिलो अन्तरिक्ष यात्रा सकेर म पृथ्वीमा फर्किंदा मलाई अद्भूत लागेको थियो । त्यतिवेला मैले पाँच घन्टा अन्तरिक्षमा बिताएको थिएँ । १७ हजार माइल प्रतिघन्टाको गतिमा मैले पृथ्वीको परिक्रमा गरेको थिएँ । मेरो पहिलो स्पेस फ्लाइटको ५० वर्ष अब नोभेम्बरमा पुग्दै छ । यो अवसरमा जर्मनीमा विशेष कार्यक्रम गरिने भएको छ ।
मैले नासामा काम गर्दा अत्यन्त धेरैको सुझाब पाएँ– पानीमुनि तालिम लिनु । चन्द्रमामा उडान भर्नका लागि मैले यो तालिम लिनु आवश्यक थियो । मैले त्यसलाई पालना गरेँ । नौ वर्षसम्म मैले यस्ता तालिम लिइसकेको थिएँ । त्यसपछि बल्ल हाम्रो यान अपोलो चन्द्रमामा जान तयार भएको थियो ।
चन्द्रमामा हामी तीन, निल आर्मस्ट्रङ, माइकल कोलिन र म जाने तयारी भयो । हामी तीनले सोचेका थियौँ– चन्द्रमामा सफल ल्यान्ड गर्ने र पृथ्वीमा फर्किने हाम्रो सम्भावना ६० प्रतिशत छ । हाम्रा इन्जिनियरहरूले यही सम्भावना ९० प्रतिशत भएको बताए । ती इन्जिनियरको कुराले हाम्रो विश्वास बढायो ।
अन्ततः हामीले सुरक्षित रूपमा चन्द्रमामा अवतरण ग-यौँ । हामी चन्द्रमामा पुग्यौँ । चन्द्रमामा पाइला टेकेपछि मैले भनेँ– म्यागनिफिसेन्ट लोकेसन ।
मेरा लागि मात्र होइन, चन्द्रमामा पाइला टेक्नु सम्पूर्ण मानवजातिका लागि एउटा ठूलो उपलब्धि थियो । एउटा ठूलो उपलब्धि थियो । हामीले पहिलोपटक संसारको अर्को कुनामा पाइला टेकेका थियौँ । अर्को संसारमा जहाँको हावा फरक थियो, त्यहाँ पाइला टेक्नु अचम्म थियो । तर, त्यहाँ जीवन थिएन । त्यसको अर्को महत्वपूर्ण पक्ष थियो– लोकेसन, त्यो स्थान ।
त्यतिवेला निलसँग क्यामेरा थियो । उसले फोटो खिच्यो । त्यो फोटोमा निलको भाइजरको फोटो पनि अयो । म भिन्न परीक्षण गर्न चाहिरहेको थिएँ । मैले निलसँग क्यामेरा मागेँ र फोटो लिएँ । मैले खिचेका फोटो ‘अमेजिङ’ आए । त्यसमा चन्द्रमाको ‘सर्फेस’ देखियो ।
मेरो छोरो फोटोग्राफीको एक्सपर्ट हो । उसले हजारौँ फोटोहरू लिएको छ । मैले जम्मा दुई–चारवटा फोटो खिचेको छु । यो सन्दर्भमा ऊ मलाई भन्छ, ‘यो त फेयर भएन । मैले यति धेरैे फोटो लिएको छु र पनि चर्चामा छैन । तपाईंले लिनुभएका तीन–चार फोटा छन् र पनि तपाईं अत्यधिक चर्चामा हुनुहुन्छ ।’ त्यो फोटोको बारेमा मैले अरूबाट पनि प्रश्न सुन्छु । त्यो फोटो किन त्यति चर्चामा भन्ने प्रश्नमा मेरो तीन शब्दको एउटा जवाफ हुन्छ– लोकेसन, लोकेसन एन्ड लोकेसन ।
छोरोलाई चाहिँ म भन्छु, ‘तिमी योभन्दा कठिन काम गर । मेरा लागि त्यो सबैभन्दा प्राउडेस्ट मोमेन्ट हो । हामीले धेरै वर्षपछि त्यो काम गर्न सकेका थियौँ । तिमीले पनि नयाँ काम गर्न सक्छौ ।’ तर, केचाहिँ सत्य हो भने त्यो काम हाम्रा लागि मात्र थिएन, त्यो काम सम्पूर्ण मानवजातिका लागि थियो ।
पहिलोपटक १९ जुलाई १९६९ मा चन्द्रमामा पाइला टेक्न अपोलोको कारणले सम्भव भएको थियो । अपोलोको कथा एउटा सानो कथा होइन, एउटा सामान्य कथा होइन । त्यो त एउटा प्रोसेस हो । त्यो त मानव जातिका लागि सफलताको कथा हो ।
हामीले चन्द्रमामा पाइला टेकेपछि पृथ्वीमा स्वागत गरियो । यो स्वागत हामी तीनको मात्र थिएन, सम्पूर्ण मानिसको लागि स्वागत थियो । त्यसैले पनि अपोलोको कथा एउटा आविष्कारको कथा हो, जुन अचम्मको छ र जुन चन्द्रमामा पुगेको छ ।
म त्यो समयको र त्यो कथाको सदस्य बन्न पाएकोमा गर्व महसुस गर्छु । तर, मेरो यो गर्व मेरो मात्र प्रयास थिएन, चार हजारभन्दा धेरै मानिसको प्रयासको प्रतिफल थियो । नासामा काम गर्ने चार हजार मानिस, इन्जिनियर, वैज्ञानिक, व्यवस्थापक, प्राविधिकको संयुक्त सपनामाथिको प्रयासका कारण नै यो सम्भव भएको थियो । सबैको एउटै प्रयास भएकाले नै हामीले २ घन्टा १५ मिनेट चन्द्रमामा पाइला राख्न सफल भयौँ ।
अहिले म ८६ वर्षको भएँ । तर, म सक्रिय हुन छाडेको छैन । म त झन् भविष्यका लागि योजना बनाइरहेको छु । म आफूलाई भविष्यको योजनामा अगाडि बढाइरहेको छु । मैले काम गरिरहेको छु र मलाई लाग्छ, मेरा सपनाहरू पूरा भइरहेका छन् ।
अहिले मानिसहरू सोधिरहेका छन्, ‘मंगलमा किन जानुपर्छ रु अन्तरिक्षका कार्यक्रम किन चाहिन्छ र रु’ अन्तरिक्षसम्बन्धी कार्यक्रम किन चाहिन्छन् भने योविना अरू आविष्कार हुँदैनन् । अहिले हाम्रो जीवनका अभिन्न अंग बनेका मोबाइल, टिभी, जिपिएस सिस्टम, मेडिकल आविष्कारहरू अन्तरिक्ष कार्यक्रममा लगानी गरेकाले नै सम्भव भएका हुन् । अन्यथा ती कार्यक्रम पनि सम्भव हुने थिएनन् ।
हामीले सय वर्षयता धेरै उपलब्धि गरेका छौँ । र, हामी भविष्यमा अन्तरिक्षमा थप काम गर्न खोजिरहेका छौँ । एक वर्षअघि मैले स्टेफन हकिङलाई उहाँकै घरमा गएर भेटेको थिएँ र यी विषयमा छलफल पनि गरेको थिएँ । मैले मेरो किताब ‘मिसन टु मार्स’मा पनि यी कुराहरू लेखेको छु । लेखेको छु– मंगलमा हामी किन जानुपर्छ । मेरो अर्को किताब ‘वेलकम टु मार्स’ सेप्टेम्बर २०१५ मा प्रकाशित भएको छ । र, त्यसमा पनि मैले मेरा सपनाहरू लेखेको छु ।
यी मेरा किताब किन पनि महत्वपूर्ण छन् भने युवाहरूले मैले बनाएका योजना पढ्नुपर्छ । उनीहरूले यी योजना र सपनालाई साकार पार्न सक्छन् । उनीहरूले ‘मार्स मिसन’ पूरा गर्न सक्छन् । मार्सका लागि मैले ‘साइक्लिङ पाथवेज’को योजना बनाएको छु । यसमा अमेरिकाको विश्वविद्यालयले पनि सहयोग गरेको छ । यो सपनामा म काम गरिरहेको छु । ३० वर्षयता यस्ता सपना साकार पार्न म काम गरिरहेको छु ।
हामी चन्द्रमामा पुगिसकेका छौँ । तर, यसको अर्थ के होइन भने हामीले सबै कुरा देखिसक्यौँ । हामीले अझै पनि धेरै देख्न बाँकी छ । यसमा हामी सबैको सहयोग चाहिन्छ ।
यो उमेरमा पनि मैले काम गरिरहेको छु भने सपना पूरा गर्न हामी सबैले काम गर्न सक्छौँ । म बेलायतको ‘स्टोन हेन्ज’ पनि गएँ । समुद्रमा ४ हजारमिटर तल गएको पनि छु । त्योचाहिँ टाइटानिक हेर्नका लागि थियो ।
मेरो सबैभन्दा प्रिय कुरा हो, स्कुबा डाइभिङ । र, हरेक वर्ष म स्कुबा डाइभिङ दुईपटक गर्छु ।
अबको मेरो योजना हो, साउथ पोलमा जाने । सपना भएकाले नै म अब साउथ पोलमा हुनेछु ।
हामीले ठूलो सपना लिनुपर्छ । मैले पनि सपना बनाएकाले नै चन्द्रमामा टेक्न सकेँ । सपना बनाउने हो भने कुनै पनि कुरा असम्भव हुँदैन । त्यसैले सपना लिन हामी सधैँ तयार हुनुपर्छ ।
सन् १९६९ मा हामीले अपोलो पाएका थियौँ, जुन मानवजातिका लागि नै एउटा सपना हो । त्यो एउटा सपनाको सुरुवात थियो । हामीले बनाएको त्यही सपनाले असम्भव भनिएको कुरालाई सम्भव बनाइयो । अब फेरि पनि हामी एकपटक असम्भवलाई सम्भव बनाउन सक्छौँ । मलाई यसमा विश्वास छ । किनकि मैले यही जीवन बाँचेको छु । लेट्स गो अप!
धेरै धन्यवाद ।
(अल्ड्रिनले कार्यक्रममा दिएको मन्तव्यलाई नयाँ पत्रिकाका शिखर घिमिरेले गरेको अनौपचारिक अनुदित तथा सम्पादित अंश)
Post a Comment