बनेपा / विश्वकै दुर्लभ स्तनधारी जन्तु सालकको मासु र छालाको अन्तर्राष्ट्रिय बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको छ । वर्षमा झन्डै सात करोड कमिला तथा धमिरा खाएर बाँच्ने यो जनावरको तस्करी उनकै लजालु र संवेदनशील स्वभावका कारण हुने गर्छ । खासगरी यसको मासु, खपटा र छालाको अन्तर्राष्ट्रिय बजार रहेकाले काभ्रेपलाञ्चोकको ग्रामीण भेगबाट तस्करी हुने गरेको गैरसरकारी संस्था प्राकृतिक सम्पदा नेपालका अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउनुहुन्छ ।
“लजालु स्वभाव र संवेदनशील हुने भएकाले सालकले आफूलाई खतराबाट जोगाउन गुडुल्किएर बस्छ र तस्करलाई चोरी सिकारी गर्न सजिलो हुन्छ,” लामो समयदेखि दुर्लभ सालकको विषयमा अनुसन्धान गर्दै आउनुभएका कसपालले भन्नुभयो । नेपालमा खसीको मासु खाएजस्तै चिनियाँहरु यसको मासु खान लालायित हुन्छन् । अर्को, परम्परागत चिनियाँ औषधिमा सालकको खपटा प्रयोग भएको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ता कसपाल जैविक विविधतामा महत्वपूर्ण योगदान पु¥याउने सालकले वातावरणमैत्री पर्यावरण कायम गर्न पनि मद्दत पु¥याउने बताउनुहुन्छ र भन्नुहुन्छ – “झन्डै १५ वर्षको अवधिमा स्तनधारी दुर्लभ सालक लोप हुन सक्ने चिन्ता व्याप्त छ ।” अनुसन्धानका क्रममा ज्याम्दी गाविसको ग्रामीण क्षेत्रमा एक वर्षअघि सालकको खपटा र छाला भेटिएको थियो ।
उहाँ भन्नुहुन्छ – “स्थानीय बासिन्दा पैसाको लोभमा सालकको तस्करीमा फस्ने अवस्था देखिएको छ । सालकलाई उसको बासस्थानबाट निकाल्दा आहारा नभएर मर्ने र उसका खपटा र छालाको तस्करी हुने संभावना रहने भएकाले जुन स्थानमा बसेको हुन्छ, त्यसलाई त्यही स्थानमा संरक्षण गर्न उपयुक्त हुन्छ ।” यस जिल्लाबाट चीनका साथै कम्बोडिया, भियतनाम, कङ्गो, मलेसिया, भारत र इन्डोनेसियामा समेत यसको तस्करी हुने गरेको पाइएको छ ।
सामुदायिक वनबाट हुने सालकको चोरी सिकारी नियन्त्रणमा सामुदायिक वनका उपभोक्ता नै सक्रिय हुनुपर्नेमा जोड दिँदै कसपालले काभ्रेपलाञ्चोकको सालकको सुरक्षित वासस्थान रहेको कटुवापाखा सामुदायिक वन र बाँसखर्क सामुदायिक वनमा यसको विस्तृत अध्ययन तथा अनुसन्धान हुन लागेको जानकारी दिनुभयो । सालकबारे अनुसन्धान गरिरहनुभएका उहाँले चरिचरन, वन विनाश, आगलागीलगायतका कारण काभ्रेपलाञ्चोकको सामुदायिक वनमा पाइने दुर्लभ सालकको वासस्थान जोखिममा परेकोे बताउनुभयो । उहाँले सालक संरक्षणमा जुट्न विभिन्न सामुदायिक वन उपभोक्ता समूहसँग आग्रह पनि गर्नुभयो ।
अनुसन्धानकर्ता कसपालले सालक संरक्षणपछि सामुदायिक वनको पहिचान बढ्ने र वातावरणमैत्री पर्यावरणको विकास हुने जिकिर गर्नुभयो । सालकको यकिन तथ्याङ्क उपलब्ध नभए पनि काभ्रेपलाञ्चोकबाहेक, सिन्धुली, रामेछाप र दोलखाका वन पनि सालकको सुरक्षित वासस्थान भएको उहाँ बताउनुहुन्छ । एउटा वयस्क सालकबाट कम्तीमा एक किलोग्रामसम्म खपटा आउँछ जसको अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलोग्राम मूल्य रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म रहेको बताइन्छ ।
जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रेम खनालले सालकको संरक्षणका लागि बजेट नभएको उल्लेख गर्दै संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार विगत चार वर्षदेखि तीनवटा मुद्दामा अखेटोपहारको खरिद बिक्री गर्ने÷गराउने सातजना अभियुक्तमाथि कानुनी कारबाही गरिएको छ । वनपाखा, गाउँघर जताततै चिनियाँ कालो सालक फेला पर्ने गरेको उहाँ बताउनुहुन्छ । यस जिल्लामा सालक संरक्षणका लागि सबै सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनामा सालकको वासस्थान संरक्षणमा जोड दिनुका साथै चोरी सिकारी गर्नेमाथि कारबाहीको प्रावधान राखेका छन् ।
यो प्रजातिका सालक जो कोहीले हत्पती नदेख्ने गोप्य र शान्त स्थानमा बस्न रुचाउँछ र राति मात्रै सक्रिय हुने गर्छ । सालकको वासस्थान, चोरी सिकारी एवम् जीव विज्ञानबारे अध्ययन अनुसन्धान ज्यादै कम मात्रामा हुने गरेको वन अधिकृत खनालले बताउनुुभयो । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले सालकको खपटा र मासु बेचबिखनलाई वातावरणीय अपराधका रुपमा लिइएको बताउनुहुन्छ । चीनमा नयाँवर्षको आगमनमा यसको माग बढी हुने भएकाले त्यतिबेला बढी तस्करी हुन सक्ने आशङ्का उहाँ व्यक्त गर्नुहुन्छ । अरनिको राजमार्ग सिन्धुपाल्चोक हुँदै चीनसँग जोडिएको छ र यही मार्गबाट तस्करी हुने गर्छ ।
धादिङ, नुवाकोट, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत देशका विभिन्न ठाउँबाट बरामद गरिएका सालकका खपटाका आधारमा चोरी सिकारी बढेको पुष्टि हुन्छ । अन्य वन्यजन्तुको तुलनामा यसलाई पक्रन र मार्न सजिलो हुन्छ भने सालकको खपटा महँगोमा बिक्री हुन्छ । यसकारण यसको चोरी सिकारी गर्नेहरु पल्किएको अनुमान गर्न सकिन्छ । भक्तपुरको सिपाडोल र नंखेल गाउँमा बस्ने तामाङ र लामा जातिका बासिन्दामा सालक देख्ने मानिसलाई दशा लाग्छ भन्ने अन्धविश्वास रहेको छ । हिन्दू धर्ममा सालकलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ ।
विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन् । त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइन्छ । नेपालमा यो संरक्षित वन्यजन्तु मानिएकाले गैरकानुनी तरिकाले सालकलाई मार्ने, घाइते बनाउने, बेचबिखन गर्ने वा खरिद बिक्री गर्ने व्यक्तिलाई रु ४० हजारदेखि ७० हजारसम्मको जरिवाना वा पाँच देखि १० वर्षसम्मको जेल सजाय वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । रासस
Post a Comment