Latest Updates :

चर्चित चुम्बनवाला नर्सको बिहीबार ९२ को उमेरमा निधन


SHARE THIS POST :


वासिङटन - न्युयोर्कको टाइम्स स्क्वायरमा एक नाविकले त्यो दिन अति उत्साही भएर एक नर्सलाई चुम्बन गरे । फोटोग्राफर अल्फ्रेड इसेन्सटाइडले यो दृश्य आफ्नो क्यामेरामा कैद गरे ।
यो तस्बिर दोस्रो विश्वयुद्धको अन्त्यको प्रतीक मानिन्छ । तस्बिरकी ती युवती ग्रेटा फ्रिडम्यानको गत बिहीबार ९२ को उमेरमा निधन भएको छ । उनका छोरा जोसुवा फ्रिडम्यानले निमोनिया लगायतका रोगले थला पारेपछि निधन भएको बताएका छन् । सन् १९४५ अगस्त १४ को बिहान २१ वर्षीया ग्रेटा जिम्मरले जापानले आत्मसमर्पण गरेको र दोस्रो विश्वयुद्ध अन्त्य भएको हल्ला सुनिन् । दिउँसो उनी सहरमा कुरा बुझ्न निस्केकी थिइन् । टाइम्स स्क्वायरमा प्रवेश गर्नासाथ उनलाई नाविक जर्ज मेन्डोन्साले अँगालो हालेर चुम्बन गरे । मेन्डोन्सा युद्धको अन्त्य भएकोमा अति उत्साही थिए ।

'लाइफ' म्यागजिनका फोटोग्राफर अल्फ्रेड इसेन्सटाइडले उक्त क्षण कैद गरेका थिए । यो केही सातापछि मात्रै प्रकाशित भएको थियो । दशकौंसम्म फ्रिडम्यान र मेन्डोन्सा दुवैले 'भि–जे डे इन टाइम्स स्क्वायर' नाममा चर्चित यो तस्बिरबारे थाहा पाएका थिएनन् । तस्बिर कैद हुनुअघि र पछि फ्रिडम्यानले निकै रोचक जीवन बिताइन् । अस्ट्रियामा १९२४ मा जन्मेकी उनी हिटलर र नाजीको डरले १९३८ मा दुई बहिनीहरूसहित अमेरिकातर्फ हिँडेकी थिइन् । उनका अभिभावकको मृत्यु कसरी भयो भन्ने परिवारलाई थाहा छैन । फ्रिडम्यान न्युयोर्क थियटरमा सहभागी भएर 'न्यु स्कुल्स ड्राम्याटिक वर्कसप'मा पोसाकसज्जाबारे अध्ययन गरिरँदा ह्यारी बेलाफोन्टे र रड स्टिगर जस्ता चर्चित अभिनेताको साथी बनिन् ।

सन् १९५६ मा उनको विवाह डाक्टर मिस्का फ्रिडम्यानसँग भयो । त्यसपछि उनी म्यारील्यान्डतर्फ लागिन् । त्यहाँ उनका सन्तान जन्मिए । फ्रिडम्यानले पहिलोपल्ट यो तस्बिर १९६० को दशकमा इसेन्सटाइडको पुस्तकमा देखेकी थिइन् । उनले त्यसपछि 'लाइफ' म्यागजिनसँग सम्पर्क गरेकी थिइन् तर म्यागेजिनले त्यतिबेला खासै चासो राखेन । सन् १९८० मा लाइफ म्यागजिनले यी नाविक र नर्सलाई परिचय दिन अनुरोध गर्दा दर्जनौं दाबी आए । सन् २०१२ मा प्रकाशित पुस्तक 'द किसिङ सेलरः द मिस्ट्री बिहाइन्ड द फोटो द्याट इन्डेड वल्र्ड वार सेकेन्ड' मा लेखक लरेन्स भेरियाले उक्त तस्बिर फ्रिडम्यान र मेन्डोन्साको भएको पुष्टि गरे । मेन्डोन्साको र तस्बिरमा देखिएका नाविकको दायाँ पाखुरामा भएको टाटु र फ्रिडम्यानले त्यतिबेला खिचाएका तस्बिरहरूमा भएको उचाइ, हेयरस्टाइल र पोसाकमा मेल खाएको आधारमा यसको पुष्टि गरिएको थियो । यी नाविक र नर्स १९८० को दशकमा पुनः भेटेपछि साथी बनेका थिए ।

एकअर्कालाई क्रिसमस कार्ड पठाउँथे । ती नाविक अहिले ९३ वर्ष पुगेका छन् र रोड आइल्यान्डमा भूतपूर्व माझीको जीवन बिताइरहेछन् । फोटोग्राफरले १९८५मा प्रकाशित आफ्नो पुस्तकमा सो प्रसंग सम्झँदै लेखेका छन्, 'जब मैले टाइम्स स्क्वायरमा एक नाविकले लगातार चुम्बन गरिरहेको देखेपछि मैले आफैंलाई रोक्न सकिन ।' उनले १० सेकेन्डमा चार सट लिएका थिए । उनले मेन्डोन्साले कालो रंगको कपडा र फ्रिडम्यानको सेतो रंगको कपडाले आफूलाई आकर्षित गरेको उल्लेख गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv