Latest Updates :

राजेश हमाल पनि अब राजनीतिमा लाग्ने, कुन पार्टीमा प्रवेश गर्लान त?


SHARE THIS POST :

काठमाडौ । नेपाली फिल्मी जगतका महानायक राजेश हमाल छिट्टै नै सक्रिय राजनीतिमा प्रवेश गर्ने भएका छन् । हमाल निकट स्रोतका अनुसार महानायक हमालले छिट्टै सक्रिय राजनीतिमा प्रवेश गर्नेछन । आफ्नो जीवनको दशकौंको अबधी नेपाली चलचित्र क्षेत्रमा खर्चेका हमाल आखिर कुन पार्टीमा प्रवेश गर्दैछन् त ? उनको सक्रिय राजनीतिक गर्ने खबरले आम सर्वसाधारण, फिल्मी क्षेत्रमात्रै नभई समग्र राजनीतिक पार्टीहरुमा पनि तरङ्ग पैदा गरेको छ । केही समय अघि अमेरिकामा रहँदा महानायक हमाल आफैंले नेपाली काँग्रेस, एमाले वा बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल मध्ये कुनै एकबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्ने खुलासा नै गरिसकेका छन् ।
चलचित्र क्षेत्रबाट लगभग फेजआउट जस्तै भएका हमाल आखिर किन रोज्दैछन् त राजनीतिक बाटो ? धेरैलाई चासोको बिषय पनि बनेको छ । नेपाली चलचित्र जगतको ‘महानायक’ उपमा पाएका हमाल आजभोलि फिल्मी क्षेत्रमा कमै मात्र देखिन्छन् । उमेरले पनि ५ दशक पार गरिसकेका उनलाई आजकल फिल्म निर्माताहरुले पनि कमै पत्याउने गरेका छन । अझ भनौ उनको फिल्मी यात्रामा करिबकरिब पूर्णबिराम लागेको छ । अब उनले राजनीति गर्ने र कुन पाटीबाट राजनीति गर्लान हमालले भन्ने कुरा आम चासोको बिषय बनेको छ । यस अर्थमा हामीले उनको पार्टी प्रवेशको सम्भावनालाई सकारात्मक र नकारात्मक रुपमा केलाउने जमर्को गरेका छौं ।
कुन पाटीमा प्रवेश गर्लान त हमाल ?
काँग्रेसमा प्रवेश गर्ने सम्भावना :
महानायक राजेश हमाललाई नेपाली कांग्रेस निकटका हुन भनेर बेला बखतमा चर्चा गरिने भएपनि हालसम्म उनको सक्रिय समर्थन नेपाली कांग्रेसलाई नै हो भनेर हालसम्म त्यस्तो कुनै तथ्य बाहिर आएको छैन । चुनाबी समयमा कतिपय कलाकारले आफ्नो समर्थन पार्टी बिशेषप्रति खुलाएर भोटै माग्न हिँडे पनि महानायक हमालले भने हालसम्म यस्तो सार्वजानिक रुपमा गरेका छैनन । यद्यपी उनलाई कतिपयले नेपाली कांग्रेसका शुभचिन्तक हुन भनेर चर्चामा ल्याउने गरेका छन । यही पृष्ठभुमीमा पनि कतिपयले हमाल काँग्रेसमा प्रवेश गर्ने अनुमान गरेका छन । उनी निकट स्रोतले हमाल काँग्रेसमा प्रवेश गर्ने सम्भावना कमजोर नभएको बताए ।
काँग्रेसमा कोइराला खानदानको पकड कमजोर बनिरहेको अवस्थामा बिगतमा कोईराला परिवारमा राम्रो सम्बन्ध बनाएका उनी कांग्रेसमा प्रवेश गर्ने सम्भावना कमजोर रहेको कतिपय उनी निकटकाहरु बताउँछन । खासगरी कांग्रेसका पुर्व सभापति गिरिजाप्रसाद कोईरालाको निधन पछि हमालको कांग्रेस पार्टीसँगको सम्बन्ध त्यति निकट नरहेको जानकारहरु बताउँछन ।
यतिमात्र होईन हमाल आफ्नो उच्च सामाजिक छबि बमोजिम उच्च पदमा आसिन हुनेगरी पार्टीमा प्रवेश गर्न चाहन्छन तर कांग्रेसले तत्काल उनलाई उनको चाहना बमोजिम माथिल्लो पद दिनसक्ने अवस्थै छैन । अर्कोतर्फ कांग्रेसका समकालिन नेतृत्व तहका नेताहरुको कार्यशैली र नेतृत्व क्षमताप्रति हमाल खासै सन्तुष्ट छैनन् । यसले पनि उनको कांग्रेस प्रवेश गर्ने सम्भावनालाई मनोबैज्ञानिक रुपमा कमजोर बनाएको छ ।
यद्यपी, नेपाली कांग्रेस समकालिन नेपाली राजनीतिको सबैभन्दा ठुलो पार्टी भएको कारण आफ्नो पहुँच बिस्तार गरी राजनीतिमा चाँडो माथि पुग्न सकिन्छ भन्ने मतको प्रभावले पनि उनको कांग्रेस पार्टीमा प्रवेशलाई थप बल पुर्याईरहेको छ । यही तर्कलाई पुष्टि गर्नेगरी एकजना कांग्रेस नेताले हमालसँग कांग्रेसबाट सक्रिय राजनीति सुरु गर्ने बिषयमा कुराकानी भईरहेको बताए पनि अन्य कुरा खुलाउन चाहेनन् ।
एमाले प्रवेशको सम्भावना :
अभिनयका क्रममा बाहेक वास्तविक जीवनमा कम्युनिष्टप्रति खासै चासो नदेखाउने हमाल आफैंले एमालेमा पनि प्रवेश गर्न सक्ने संकेत दिएपछि उनी अब कम्युनिष्ट प्रति आकर्षित भएका हुन कि भन्ने पनि अड्कल काट्न थालिएको छ । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको बखत ओलीले देखाएको ईच्छाशक्ति र कतिपय दृढताका कारण ओलीप्रति केही सकारात्मक देखिएका महानायक हमाल कम्युनिष्ट बृत्तको पाटीमा सजिलै प्रवेश गरिहाल्ने अवस्था छैन ।
अर्कोतर्फ कांग्रेसमा जस्तै एमालेमा पनि हमालले तत्काल सम्मानित पद पाईहाल्ने सम्भावना ज्यादै कम रहेको छ । एमाले निकट एकजना कलाकर्मीले अघिल्लो सरकारको प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको काम र राष्ट्रियताको सम्बन्धमा ओलीले लिएको अडानलाई महानायक हमालले खुलेरै प्रशंसा गरेको र केपी ओलीसँग उनको सम्बन्ध निकै नजिकिँदै गईरहेको जनाउँदै उनी एमाले प्रवेश गर्ने सम्भावना बलियो रहेको जनाए । तर कम्युनिष्ट सिद्धान्तनै नरुचाउने हमाल, गुट र संरचनागत जटिलताले कसिलो गरी बाँधिएको एमालेमा प्रवेश गरिहाल्छन भनि सहज अनुमान लगाउनु आधारबिहिन अपरिपक्वता नहोला भन्न सकिन्न ।
नयाँ शक्ति पार्टी (नेपाल)मा प्रवेशको सम्भावना :
के महानायक राजेश हमाल नयाँ शक्ति नेपालमा प्रवेश गर्दैछन् त ? यो प्रश्नको जवाफ अन्यको भन्दा तुलनात्मक रुपमा सत्यताको नजिक रहेको धेरैको बुझाई रहेको हुन सक्छ । देशको अर्थतन्त्र र विकासको मोडलमा तुलनात्मक रुपमा स्पष्ट भिजन भएका पुर्व माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वमा बैकल्पिक राजनीतिक धारका रुपमा पार्टी गठन प्रक्रिया अघि बढिरहेको नयाँ शक्ति पाटी नेपालमा महानायक राजेश हमालको प्रवेशको सम्भावना बलियो रहेको हमाल निकटका कलाकर्मी र उनका सहयोगीहरु समेत बताउँछन । राजेश हमाललाई नयाँ शक्ति पाटी नेपालमा समेट्नका लागी डा. बाबुराम भट्टराईले निकै मेहनत गरिरहेको र हमालले पनि सकारात्मक प्रतिक्रिया दिएको भट्टराई निकट स्रोत बताउँछन । यद्यपी प्रवेशको औपचारिकता सजिलै भईहाल्छ भन्नेमा भने उनीहरु निर्धक्क देखिँदैनन् । हमालका एक निकटस्थका अनुसार हमाल नयाँ शक्ति नेपालबारे ‘पर्ख र हेर’को अवस्थामा रहेका छन । ‘नयाँ शक्ति खास कुन तहसम्म पुग्छ र जनताको प्रतिक्रिया कस्तो आउँछ त्यसको बिश्लेषण गरेर मात्र पाटीमा औपचारिक प्रवेशको निर्णय गर्नेछन’ उनले भने ।
डा. भट्टराईले यस अघि गरेका कतिपय काम र उनको व्यक्तित्वबाट तुलनात्मक रुपमा प्रभावित हमालले आफ्नो राजनीति ‘देशको विकास र राजनीतिबाट निराश जनताका लागि केही गर्नको लागि’ भन्ने सार्वजानिक गरेसँगै उनको भनाईबाट उनी नयाँ शिराबाट राजनीति गर्न चाहेको र सो नयाँ शक्तिको सोँचसँग करिब–करिब मेल खाएकोले पनि उनी नयाँ शक्तिमा प्रवेश गर्ने कतिपय बताउँछन् । यतिमात्र होईन, कुनैबेला उनको घनिष्ट सम्बन्ध रहेका नायिका करिश्मा मानन्धर, चलचित्र निर्माता अशोक शर्मा, सरोज खनाल लगाएतका व्यक्तिहरु नयाँ शक्तिमा रहेको र उनीहरुले हमाललाई नयाँ शक्तिमा ल्याउनको लागी पटकपटक मेहनत गरिरहेको हुँदा हमाल नयाँ शक्तिमा आवद्ध हुने सम्भावना उत्तिकै रहेको छ ।
सबैभन्दा महत्वपुर्ण सम्भावना भनेको नयाँ शक्ति नेपालले आफुलाई नयाँ र बैकल्पिक राजनीतिक शक्तिका रुपमा अघि बढाउँदै जानु, जुनसुकै पदका लागी नयाँ शक्ति नेपाल हमालसँग छलफल गर्न खुला हुनु, अन्य सामाजिक अभियान्ताहरु समेत नयाँ शक्तिमा आवद्ध हुनु, बाम लोकतान्त्रिक बिचार नयाँ शक्ति नेपालको बैचारिक कार्यदिशा हुनु, हमालका समकालिन कलाकर्मीहरु नयाँ शक्तिमा सक्रिय रुपमा सहभागी हुनु जस्ता कारणहरुले गर्दा हमाल नयाँ शक्तिमा प्रवेश गर्ने सम्भावनमा प्रवल रहेको धेरैको अनुमान रहेको छ । हमाल निकटका कतिपयले भने हमाल राजनीतिमा प्रवेशै नगर्ने तर प्रवेश गरिहालेपनि नयाँ शक्ति वा एमालेमा प्रवेश नगर्ने बताउँछन । उनीहरुका अनुसार डा. बाबुराम भट्टराईको बिगतको राजनीतिक पृष्ठभुमी र पछिल्लो समय नयाँ शक्ति भित्र देखिएको भनिएको माओबादी र गैह्माओवादीहरु बिचको वेमेल आदी जस्ता कारण पनि हमाल नयाँ शक्तिमा प्रवेश गर्ने छैनन ।
माओबादी केन्द्रमा यसकारण जाँदैनन् हमाल
महानायक राजेश हमाल आँफैले ३ वटा पाटी मध्ये कुनै एउटामा प्रवेश गर्ने जनाईसकेपछि अब अर्को पाटी प्रवेशको सम्भावना त रहेन नै, तथापी किन माओवादी केन्द्रको नाम लिन नै चाहेनन त हमालले ?
यसका पछाडी केही कारणहरु रहेका छन :
हमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजनीतिक भेटघाट हुँदा रमाईलो तरिकाले घोचपेचपुर्ण डाईलग हान्ने गरेका छन । चाहे प्रचण्ड पुत्रको सगरमाथा चढाई होस् वा तेस्रो बिहे होस् चाहे प्रचण्डका फेरिईरहने कुराकै बिषयमा होस् वा प्रधानसेनापति देखी पशुपतिको पुजारी सम्मका बिषयमा नै होस्, हमालले प्रचण्डलाई हान्ने गरेको डाईलगले पनि उनी प्रचण्डलाई मनपराउँदैनन् भन्ने बुझिन्छ । अर्को बलियो तर्क त प्रचण्डको पाटी दोश्रो संबिधानसभा पछि सानो पाटीमा खुम्चिईरहेको, पाटी एकपछि अर्कोगरी चोईटिईरहेको, पाटी अध्यक्ष प्रचण्डको घटिरहेको साख, एमाले नेतृत्वको सरकारलाई प्रचण्डबाट भएको धोकाधडी, माओबादी केन्द्रको अस्थिर राजनीतिक एजेण्डा लगाएतका मुद्धाहरुका कारण पनि हमालको रोजाई माओबादी केन्द्र नहुने निश्चितप्राय छ ।
आर्थिक बिकास र संबृद्धिमा हमालको जोड
राजेश हमालले राजनीतिक जमघट र भेटघाटमा क्रममा देशलाई बिकाश र संबृद्धिको दिशामा लैजाने खालको राजनीतिक नेता भएनन् भन्दै गुनासो गर्ने गरेका छन । त्यसो त देशको राजनीति साह्रै फोहोर भयो यसलाई सफा गर्नुपर्छ भन्दै कहिलेकहीँ अभिव्यक्ति दिने गरेका महानायक हमालले देशको राजनीतिको समस्या राजनीतिक तहमा भिजन र दृढ ईच्छा शक्तिको अभाव रहेको राम्रै गरी बुझेका छन । यस अर्थमा उनको राजनीतिमा प्रवेश देशको आर्थिक बिकास र संबृद्धिका लागी हुने कुरा उनी निकटका कतिपय बताउँछन । दशकौं बिताएको चलचित्र क्षेत्रलाई करिबकरिब बिटमारी राजनीतिमा लाग्नु उनको रहर वा बाध्यता ? अनि कुन पाटीमा प्रवेश गर्दैछन उनी ? यी बिषयमा सबैभन्दा बढि यथार्थ त स्वयं राजेश हमाललाई नै जानकारी होला तथापी उनको राजनीतिमा लाग्ने घोषणाले नेपाली राजनीतिक वृत्तमा बहस पैदा गरेको छ । आफैंले राजनीतिमा लाग्न खुट्टा उचालिसकेको खुलासा गरेका हमालको राजनीतिक यात्रा देश र जनताको पक्षमा होस् र उनलाई सफलता मिलोस् शुभकामना।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv