Latest Updates :

सकियो कलियुग, कलियुग सकिनासाथ खुसी र पर्वको महिना सुरु हुने विश्वास


SHARE THIS POST :


नेवारी पात्रो अनुसार दसौं महिनाको अन्तिम दिन हो बिहीबार । भाद्र औंशी तिथि यो महिनाको अन्तिम दिन पर्छ । दसौं महिनालाई नेपाल संवत्मा ‘गुँला’ को नामले चिनिन्छ । यो महिना विशेष महत्त्वका रूपमा लिइन्छ नेवारी समुदायमा । किनभने यो महिना संकटको महिना हो । संकटै संकट आइपर्ने भएकाले कलियुगको रूपमा पुकारिन्छ। अनि पूजापाठ र दानधर्ममा बिताइन्छ ।

संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार गुँ भनेको जंगल र ला भनेको महिना हो । ‘यस अर्थमा यो जंगली महिना हो,’ बज्राचार्य भन्छन्, ‘जंगली हुनुको अर्थ असभ्य हुनु हो । कानुनको व्यवस्था नहुनु हो । जंगली न्याय भनेको भनेको न्याय नै नहुनु हो । न्याय नहुनु भनेको असभ्य समाज हो । कालो कानुन हो । जसलाई जे मन लाग्छ, त्यही गरिदिने हो । जो बलियो छ, त्यसले खाइदिने, निर्धो हेरेको हेर्‍यै हुने हो । यस्तो न्याय भनेको मत्स्यन्याय हो । मत्स्यन्याय भनेको ठूलो माछाले साना माछालाई खाइदिने हो । बलियाले निर्धालाई खाने भनेको असभ्य हुनु हो । यो समय असभ्य समय हो ।’

बज्राचार्यका अनुसार यही समयलाई बज्रायान दर्शनमा कलियुग भनिएको छ । बज्राचार्यका अनुसार यो महिनामा जताततै संकटै संकट देखिन्छ । धान रोपेको हुन्छ तर पाकेको हुँदैन । त्यसैले भोकमरीको समस्या यही बेला देखिन्छ । खानेकुराको अभावले चोरी डकैती यही बेला बढ्छ । बाढी पहिरोले यही बेला दुस्ख दिन्छ । अतिवृष्टि हुन्छ । रोगव्याधिको प्रकोप बढ्छ । झाडाबान्ता, टाइफाइड जस्ता समस्या यही बेला देखिन्छन् । ‘गुँला भनेको नराम्रो महिनाको बिम्ब हो । यो समयमा यस्तै देखिन्छ,’ बज्राचार्य भन्छन्, ‘संस्कृतिमा पनि विज्ञान छ ।’

कलियुगको चरम सीमाबाट मुक्त हुने अपेक्षा राखेर यो महिनाभर विभिन्न पूजापाठ गरिन्छ । महिनादिनभर विहार र वहीहरूमा पूजापाठ गरिन्छ । हरेक दिन विशेष बाजा बजाइन्छ । यो महिनामा बजाइने विशेष बाजालाई गुँला बाजा भनिन्छ । दानधर्म गरिन्छ । महिनाको सबैभन्दा ठूलो पर्व पञ्चदान मनाइन्छ । भाद्र कृष्ण पक्षको त्रयोदशी तिथिमा यो पर्व मनाइन्छ । ‘दान दिनु भनेको मैत्री भाव प्रदर्शन गर्नु हो,’ बज्राचार्य भन्छन्, ‘जसले मैत्रीभाव प्रकट गर्दैन, उसले बौद्ध धर्म बुझदै बुझदैन ।’

पञ्चदानमा सकेसम्म बढीभन्दा बढी दान दिइन्छ । ‘जगतहताय, जगत्सुखाय,’ उनी भन्छन्, ‘दान दियो भने सबै प्राणीको हित हुन्छ । सबैको भलो हुन्छ । आफ्नो कमाइको केही भाग दान दिनुपर्छ । दान दिँदा स्वर्गीय अनुभूति हुन्छ ।’

बज्राचार्य र शाक्यलाई मात्रै दान दिइन्छ । ‘बज्रयानी दर्शनअनुसार सबै जातलाई दिने हो । सबै स्वतन्त्र छन् तर पछि जातीय व्यवस्था लागू भएपछि बज्राचार्य र शाक्यलाई मात्र दिन थालियो,’ उनी भन्छन् ।

पञ्चदान गर्ने दिन बज्रयान सम्प्रदाय दिपंकर बुद्धको पूजा गर्छन् । बौद्ध समुदायमा महायान्, हीनयान र बज्रयान गरी तीन समुदाय छन् । यसमध्ये महायान समुदायले मूर्ति पूजा गर्दैन । अचेल पञ्चदानको स्वरूपमा केही परिवर्तन हुँदै आएको छ । पञ्चदानमा उठेको रकम सामाजिक काममा खर्च हुन थालेको छ । वसन्तपुरमा बज्राचार्य क्लबले पञ्चदान आयोजना गर्छ । यसबाट उठेको पैसा विहार बनाउने, विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता काममा खर्च गर्न लागिएको क्लबका सल्लाहकार शैलेन्द्रमान बज्राचार्य बताउँछन् । ‘यो वर्षको दान कुट ठहिटीको मैत्रीपुर महाविहार निर्माणमा खर्च गर्छौं,’ उनले भने, ‘पञ्चदानबाट डेढ लाख उठ्ने अनुमान गरेका छौं । त्यसमा नपुग रकम क्लबले उठाउँछ ।’ पहिला रातिसम्म चल्थ्यो पञ्चदान । केही वर्षयता भने समय तोकेर गर्न थालिएको छ । पञ्चदान समापन गर्ने छुट्टै समूह हुन्छ । यो समूहलाई ‘फु बडे’ भनिन्छ । फु बडेलाई बन्दनीय, पूजनीय समूह मानिन्छ । यो समूहले बाँकी बसको सबै दान लिएर जान्छ । जसको दान गर्ने इन्छा छ उसले पञ्चदान आयोजना गर्छ । यो दिन कोही व्यक्तिगत रूपमा र कोहीले समूहगत रूपमा टोलटोलमा जान्छन् । ‘टोलमा जानासाथ यो संस्कार बुझेकाले खुसीसाथ दान दिन्छन्,’ शैलेन्द्रमान भन्छन्, ‘बाहिरबाट आएका नयाँ मान्छेले भने संस्कृतिको यो स्वाद थाहा पाउँदैनन् । दान दिन सहभागी हुँदैनन् ।’

पञ्चदान विहार र बहिमा गरिन्छ । विहार भनेको बौद्ध दर्शन पढाइने स्वतन्त्र विश्वविद्यालय जस्तै हो । पहिला विहारमै पढाइ हुन्थ्यो । अचेल यस्तो प्रचलन कमी हुँदै गएको छ । वही भनेको विहारको सम्बन्धन पाएको काठमाडौंमा १८ वटा विहार छन् । विहार १८ वटा हुनुको पछाडि पनि बौद्ध दर्शन छ । बौद्ध दर्शन स्थवीरवादी र महासांगिकवादी गरेर दुई भागमा विभाजन भयो । भगवान् बुद्धले जे जे दर्शन स्थापित गरेका छन् त्यही हुनुपर्छ भन्ने मान्यता राख्ने समूह स्थवीरवादी हो । यो समूह घरमा बस्दैन । घरगृहस्थी गर्दैनन् ।

महासांगिकवादी दर्शन मान्नेहरू समयअनुसार बुद्ध दर्शन परिवर्तन हुनुपर्छ, परिवर्तन गर्दै जानुपर्छ भन्ने मान्यता राख्छ । यो दर्शन पनि टुक्राटुक्रामा विभाजन भयो । त्यही १८ वटा दर्शनमा १८ विहारको परम्परा सुरु भएको बज्राचार्य बताउँछन्। ललितपुर र भक्तपुरमा पनि १८ वटै विहार छन् । ललितपुरमा चाहिँ श्रावण शुक्ल अष्टमीको दिन मनाइन्छ। साभार : कान्तिपुर दैनिक

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv