दैनिक नेपाल२०७३ असोज १२ गते २०:४६
– टिप्पणी
काठमाडौं, १२ असोज । काश्मिरको उरी घटनालगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहमा पाकिस्तानलाई विश्वमा एक्लो बनाउने चेतावनी दिएका थिए । यो चेतावनी उरीमा १७ भारतीय सैनिक मारिएको घटनाको बदलास्वरुप आएको थियो ।
मोदीको यो भनाई अब भने कार्यान्वयनमा देखिएको छ । पाकिस्तानलाई एक्ल्याउने योजनाको सुरुवात दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)बाट सुरु भएको छ ।
यसपटक पाकिस्तानको इश्लामावादमा हुन लागेको १९ औं शिखर सम्मेलन बहिष्कार गर्ने र अन्य सदस्य राष्ट्रबाट गराएर भारतले पाकिस्तानसँग बदला लिन सुरु गरेको हो ।
मंगलबार (हिजो) अपराह्न भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेरै सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो । पाकिस्तानमाथि उरी घटनाको योजनाकारको आरोप लगाउँदै आएको भारतले विज्ञप्तिमा आतंकवाद र क्षेत्रीय सहयोग सँगसँगै अघि बढ्न नसक्ने भन्दै इश्लामावादमा आफ्नो राष्ट्रको प्रतिनिधित्व नहुने उल्लेख गरेको छ ।
पाकिस्तानसँग बदला लिने रणनीति अन्तर्गत भारतले आफूसँगै बंगलादेश, भुटान र माल्दिभ्सलाई पनि सार्क सम्मेलन बहिष्कार गर्न लगाएको छ । यी तीनै देश भारतका शुभेच्छक हुन् ।
बंगलादेश, भुटान र माल्दिभ्सले भारतले बहिष्कार गर्ने घोषणा गरेको एक दिन नबित्दै सम्मेलनमा भाग नलिने बताएका हुन् ।
भारतीय पत्रिका हिन्दूतास्तान टाइम्सका अनुसार अब ढाकाले पनि सार्कको अध्यक्ष रहेको नेपाललाई ‘बंगलादेशमा एउटा देशको हस्तक्षेप बढी रहेको’ भन्दै सम्मेलनमा भाग लिन नसक्ने जनाएको छ ।
त्यस्तै भुटानले पनि सुरक्षा स्थितिबारे चाँसो व्यक्त गर्दै अहिलेको स्थितिमा सम्मेलनमा भाग नलिने जानकारी दिएको दाबी गरिएको छ । दुवै देशले मंगलबार नै नेपाललाई सम्मेलनमा भाग लिन नसक्ने जानकारी गराएका छन् ।
नेपाललाई अप्ठेरो
१८ औं सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको नेपाल अहिले १९ सार्क शिखर सम्मेलनको अध्यक्ष राष्ट्र हो । दक्षिण एसियाका केही राष्ट्रले भारतलाई समर्थन गर्दै सम्मेलन बहिष्कार गरिरहेका बेला नेपाल भने अप्ठेरोमा परेको छ । सार्क सम्मेलन आयोजना गर्न सबै दबाब दिने कि नेपालले भाग नलिने भन्ने विषयमा टुंगो लगाउन आज बैठक बस्ने बताइएको छ । धेरैले नेपाल तटस्थ बस्नुपर्ने सुझाव दिएका छन् ।
भारतको यो कदमबाट उत्पन्न हुने स्थितिलाई अध्यक्ष नेपालले कसरी सम्बोधन गर्ने हो त्यो स्पष्ट भैसकेको छैन । नेपाल अहिले दोधारको अवस्थामा छ ।
Post a Comment