Latest Updates :

दशैको मुखमा फेरी भारतले गर्यो नेपालीलाई दुख दिने काम:सामान बोकेर नेपाल छिर्न लागेका ट्रकलाइ गर्यो अबरोध गरि लाइनमा लगाउन थाल्यो


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं २० असोज | सुनौली नाका हुँदै मुलुक प्रवेश गर्ने औद्योगिक र व्यापारिक मालवाहक गाडीलाई भारतीय जनपद प्रहरीले अवरोध पुर्‍याउन थालेका छन् । सिमानादेखि करिब १५ किलोमिटर पर सडकमा तैनाथ भारतीय प्रहरीले नेपाल आउने गाडीलाई सहज रूपमा आउन नदिएर रोक्दै लाइनमा लगाउन थालेका हुन् ।
मालवाहक गाडीलाई १५ किमि दूरी पार गर्न ५ दिनसम्म लाग्न थालेको छ । केही दिनअघि सीमावर्ती नेपालको बेलहियामा आयोजित दुई देशका सीमावर्ती उच्च सुरक्षा अधिकारीसहितको बैठकमा नेपाली पक्षले यस बारेमा कुरा राख्दा भारत महाराजगन्ज जिल्लाका जिल्लाधिकारी (डीएम) बिरेनकुमार सिंहले यो समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए । तर, समस्या समाधान हुन सकेको छैन ।

‘चालकले भारतीय प्रहरीलाई पैसा दिएमा गाडी चाँडो आउँछ नत्र एक सातासम्म पालो पाउँदैन,’ भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष तथा थैव क्लियरिङ एजेन्टका सञ्चालक प्राचिन थैवले भने, ‘गाडीवालाले ५ सयदेखि १ हजार भारुका दरले पैसा दिँदै आउनुपर्ने बाध्यता छ ।’

भारतीय प्रहरीले फलफूल, तरकारीजस्ता चाँडै सडेर नष्ट हुने सामानका गाडीलाई भने रोक्ने गरेका छैनन् । सुनौली हँुदै नेपाल आउने मालवाहक गाडीलाई भारतीय पुलिसले यस्तै अवरोध भारतको नाकाबन्दी र नेपालको मधेस आन्दोलनको बेलामा गरेका थिए । त्यसबेला दैनिक १ सय गाडी मात्र नेपाल आउने कोटा छुट्याएर उनीहरूले पैसा असुलेको व्यवसायीको आरोप छ ।

नेपाल र सीमावर्ती भारतीय व्यापारी र भारत–नेपाल मैत्री समाजले यसको विरोध गर्न थालेपछि सुधार आएको थियो । भैरहवा भन्सार कार्यालयका अनुसार अन्य दिन सहज भएको बेलामा दैनिक साढे ४ सयसम्म मालवाहक गाडी आउने गरेकामा यो अवरोधले दैनिक मुस्किलले साढे २ सयसम्म आउने गरेको छ । ‘वारि र पारिको भन्सार कार्यालयमा कुनै अवरोध नहँुदा पनि गाडी आउने संख्या निकै कम भएको छ,’ भैरहवा भन्सारका अधिकृत रवीन्द्र प्याकुरेलले भने, ‘भारततर्फ नियतबस अवरोध गरेजस्तो लाग्छ ।’ यस नाकाबाट अत्यधिक सवारी यातायातका गाडीको आयातले भन्सार राजस्व लक्ष्यभन्दा बढी असुली भइरहेकामा यसबाट असर पर्ने उनले बताए ।

गाडी चालकका अनुसार सिमानादेखि १५ किमि पर सम्पत्तियादेखि नेपाल आउने गाडीलाई भारतीय प्रहरीले रोक्ने गरेका छन् । सम्पत्तिया, नौतनवाको वाइपास, कोतवाली थाना, सुनौलीको ट्याम्पो स्ट्यान्ड र बसपार्कमा तैनाथ प्रहरीले रोक्ने गरेका हुन् । चाँडो आउन खोज्नेले प्रत्येक ठाउँमा ५ सयदेखि १ हजार भारुसम्म दिनुपर्ने नत्र धेरै दिनसम्म लाइनमा बस्नुपर्छ ।

‘भारतीय प्रहरीको यो अवरोधले सुनौली नाकाबाट आउने गाडीले रुट परिवर्तन गरी अन्य नाकाको प्रयोग गर्न थालेका छन्,’ थैवले भने, ‘सुनौली नाकाबाट आउँदा लागत बढ्ने भएकाले आयातकर्ताले अरू नाकाको खोजी गर्न थालेका छन् ।’ उनका अनुसार प्रहरीको पैसा असुली खर्चबाहेक धेरै दिनसम्म गाडी रोकिनाले गाडीलाई विलम्ब शुल्क (डिटेन्सन चार्ज) तिर्नुपर्दा लागत बढ्ने गरेको हो ।

सीमावर्ती बैठकमा भारत महाराजगन्जका एसपी भरतसिंह यादवले सिमानामा एसएसबीले चेकजाँच गर्ने गरेकाले जति गाडी मगाउँछन् उति मात्रै छाड्ने गरिएको बताएका थिए । गाडी रोक्नुको कारण पैसा असुली नभएको दाबी गर्दै उनले अत्यधिक गाडीको संख्याले सडक जाम हुने गरेकाले सडक व्यवस्थापनका लागि रोक्ने गरिएको उनको भनाइ छ ।

साभार इकान्तिपुर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv