रौतहट ,रौतहटमा स्यालको आक्रमणबाट २३ जना घाइते भएका छन् । गरुडा नगरपालिकाको महम्मदपुरमा आज बिहान स्यालले स्थानीयमाथि आक्रमण गरेको थियो ।
बिहानको समयमा गाउँमा हिडडुल गरिरहेका तथा घरमा बसिरहेका स्थानीयलाई स्यालले एक्कासी आक्रमण गरेको हो । जंगलबाट आएको स्यालको टोकाइबाट महम्मदपुरका ललन देवी, सावित्री देवि, नितेश यादव, बसन्त यादव, रामबहादुर यादव, रामपि्रत यादव, लगायत २३ जना घाइते भएका छन ।
उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । एकाबिहानै स्यालले आक्रमण गरेपछि गाउँमा व्यापक त्राश फैलिएको छ ।
घाइते भएका २३ जना मध्ये १२ महिला, १० जना पुरुष र १ जना ५ वर्षको बच्चा रहेका छन् ।
एकै पटक २३ जना घाइते आए पछि जिल्ला अस्पताल गौरमा रेबिज विरुद्धको भ्याक्सीनको समेत अभाव भएको छ । अस्पतालमा भ्याक्सिनको अभाव भएकाले क्षेत्रीय मेडिकल स्टोर हेटौडाबाट भ्याक्सिन माग गरीएको जिल्ला सरकारी अस्पताल गौरले जनाएको छ ।
घाइतेमध्ये घाँटीभन्दा माथि टोकेका विरामीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल मेमोरियल सरुवा रोग अस्पताल टेकु काठमाण्डौ रिफर गरीएको छ भने अर्का एक घाइते बसन्त यादवलाई तिलगंगा आँखा अस्पताल पठाइएको छ ।
गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्ने दुई स्याललाई गाँउलेले मारेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
Post a Comment