काठमाडौं, १४ मङ्सिर । साउदी अरबमा कार्यरत ५३ जना नेपाली कामदार अलपत्र परेका छन् । एउटै कम्पनीमा आवद्व यति ठूलो संख्याका नेपाली कामदार एक सातादेखि अलपत्र परेका श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अलपत्र कामदारको उचित व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताए । ‘विगत एक सातादेखि ती कामदार अलपत्र परेका नेपाली कामदारको त्यहाँस्थित नेपाली दूतावासले व्यवस्थापन गरिरहेको छ,’ उनले भने ।
अलपत्र कामदारको व्यवस्थापनका लागि श्रम मन्त्रालयसँग आग्रह
अलपत्र कामदारको व्यवस्थापनका लागि साउदी सरकारको श्रम उपमन्त्रीसँग संवाद भइरहेको मन्त्रालयले बताएको छ । ‘हामीले त्यहाँको श्रम उपमन्त्रीसहित श्रम विभागसँग पनि निरन्तर संवाद गरिरहेका छौं,’ प्रवक्ता भुर्तेलले भने ।
‘काम पनि नदिने, तलब पनि नदिने, अर्को कम्पनीमा जान पनि नपाईने र स्वदेश फर्किन पनि नपाइने स्थितिमा त्यहाँ नेपाली कामदार रहेका छन्,’ भुर्तेलले भने, ‘यो स्थिति हटाएर सहज बनाउन साउदी सरकारसँग कुरा भइरहेको छ ।’
रोजगारदाता कम्पनी सम्पर्कमा
मन्त्रालयका अनुसार अलपत्र परेका ती नेपाली कामदार कार्यरत कम्पनीसँग विशेष दूतमार्फत संवाद भएको छ । ‘कामदारलाई पुनः कम्पनीमा फिर्ता हुने व्यवस्था मिलाउन र तलब दिने व्यवस्था मिलाउनका लागि दूतमार्फत कम्पनीलाई आग्रह गरेका छौं,’ उनले भने ।
कामदारले ६ महिनादेखि तलब पाएनन्
मन्त्रालयका अनुसार ती ५३ जना कामदारले विगत ६ महिनादेखि तलब पाएका छैनन् । विभिन्न समयमा कम्पनीमा काम गर्न पुगेका कामदारले ६ महिनादेखि तलब नपाएका हुन् । साउदीमा नेपालीहरू कार्यरत कम्पनीको नमा हिजाज गेट इन्टरनेसनल हो ।
क्षितिज मेनपावर कम्पनीलाई कारबाहीका लागि विभागलाई पत्र
क्षितिज मेनपावर कम्पनीमार्फत उक्त कम्पनीमा पुगेका नेपालीलाई अलपत्र पारेको भन्दै उक्त मेनपावर कम्पनीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पत्र पठाइएको भुर्तेलले बताए । ‘कन्ट्रयाक्ट अवधिभर कामदारको रेखदेख गर्ने जिम्मा मेनपावर कम्पनीको हुन्छ,’ भुर्तेलले भने, ‘अलपत्र परेका कामदारको जिम्मेवारी अब उक्त कम्पनीले लिनुपर्छ ।’ मेनपावर कम्पनीलाई उचित क्षतिपूर्ति तिराइने उनले बताए ।
साउदी अरब नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक हो । हाल साउदीमा ५ लाख ८४ हजार नेपाली कामदार कार्यरत रहेको मन्त्रालयले बताएको छ ।
क्षितिज इन्टरनेसनलको स्पष्टीकरण
क्षितिज इन्टरनेसनलका प्रवन्ध निर्देशक झविन्द्र पराजुलीले विगत एक वर्षयता विभिन्न समयमा उक्त कम्पनीमा नेपालीहरू पठाएको र त्यस कम्पनीमा ८५ जना नेपालीहरूलाई उक्त कम्पनीमा पठाएको बताए । पराजुलीले भने, ‘मेरो मेनपावर कम्पनीबाट ती कामदार पठाउँदा सुरूतिर राम्रै थियो । काम, तलब र अन्य व्यवस्था सामान्य स्थितिमै थियो । तर बीचमा कम्पनीमा मन्दी भयो । विगत करिब ३ महिनायता कम्पनी मन्दीमा गएपछि कामदारले तलब पाउने स्थिति भएन र कार्यरत कामदारले कम्पनी छाडे ।’
कम्पनी त्यागेका र तलब नपाएपछि अलपत्र कामदारका लागि उनले विभिन्न समयमा खर्च पठाएको पराजुलीले दाबी गरे । उनले भने, ‘गत सेप्टेम्बरयता बेखर्ची भएपछि मैले विभिन्न समयमा गरेर हालसम्म ९ सय साउदी रियाल पठाइसकेको छु । अहिले उनीहरू दूतावासको रेखदेखमा छन् । यसभन्दा अघि कार्यरत कम्पनीमा नेपालीसहित भारतीय र पाकिस्तानी कामदार पनि कार्यरत् छन् ।’
पराजुलीका अनुसार अहिले कम्पनी पुनस्र्थापित भइसकेको छ र नेपाली पनि गएर काम गर्न सक्ने स्थिति छ । उनका अनुसार तर ८३ मध्ये ५३ जना नेपालीले अब काममा नफर्किने बताएका छन् । बाँकी भने काममा जाने बताएका छन् । पराजुलीले बताए अनुसार भारतीय र पाकिस्तानीहरू काममा फर्किएका छन् ।
उनले भने, ‘नेपाल फर्कन चाहनेका लागि अहिले प्रक्रिया अघि बढेको छ । सम्बन्धित कम्पनीमार्फत सो प्रक्रिया अघि बढाइएको छ । केही समयभित्र उनीहरू नेपाल फर्कन सक्ने वातावरण बनेको छ ।’ – सुवास भट्ट / लोकान्तर ।
Post a Comment