Latest Updates :

लुकाएको बिजुली सर्वसाधारणलाई वितरण गरे पछि उपत्यका र देशका प्रमुख स्थानमा लोडसेडिङमुक्त


SHARE THIS POST :

काठमाडौं - विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले 'लुकाएर वितरण गरेको' बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।
काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई 'व्यवस्थित' गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 'हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति गरेका मात्र हौं', घिसिङले आइतबार अन्नपूर्णसित भने, 'भाँडोमा भएको वस्तुलाई बराबरी बाँड्दा लोडसेडिङ हालका लागि हट्यो ।' प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो ।

घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन 'व्यवस्थापन' मात्र गरिएको बताए । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार देशभर २४ घन्टामा २२ घन्टा सात सय मेगावाट बिजुलीको माग हुन्छ । कुल उच्चतम माग एक हजार पाँच सय मेगावाटको बिजुली माग करिब दुई घन्टाका लागि मात्र हुँदै आएको छ । देशभर करिब तीन सय मेगावाटको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट (भार स्थानान्तरण) गर्दै व्यवस्थित गरिएको घिसिङले बताए ।

'उचित व्यवस्थापन गर्न सकेको भए गत जेठदेखि नै देशलाई लोडसेडिङमुक्त गर्न सकिन्थ्यो,' उनले भने । उपत्यकामा गत तिहारको बेला उच्चतम माग तीन सय मेगावाट थियो भने आइतबारको माग दुई सय ६० मेगावाट छ । उपत्यकामा राति माग सय मेगावाट हुने र दिउँसो एक सय ५० देखि दुई सय मेगावाटसम्म हुने घिसिङले बताए । बेलुकीको उच्चतम विद्युत् माग (पिक आवर) का बेला एकदेखि डेढ घन्टासम्म जलाशययुक्त कुलेखानी सञ्चालन गरिएको छ ।

'सय मेगावाटको पिकिङ (अधिक माग) लाई कुलेखानीले धान्दोरहेछ', उनले भने, 'कुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ ।' यसअघि प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स (देशभर एकसाथ विद्युत्गृह बन्द) हुँदाका बखत र आंशिक मात्र सञ्चालन गर्दै आएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv