नाम मिना चन्द । १० वर्ष भयो ट्याम्पो चलाउन थालेको । साना काखे बच्चा हुर्काउने जिम्मेवारी काँधमा आइलाग्यो । तिनै बच्चाको पालन पोषणका लागि मैले पनि समाए टयाम्पुको ह्याण्डल । रहरले होइन,बाध्यताले ड्राइभर भए ।
टेम्पो चलाउँदै गर्दा दुधे बच्चा छेडेर जान्थ्ये । टेम्पो चलाउन जाँउ बच्चा भोकै मर्ने डर न जाउँ झन हामी सबै भोकै पर्ने अवस्था । बच्चाहरुलाई छिमेकीले सोध्थे ‘ममि खोइ ?’ उनीहरु जवाफ फर्काउथे ममि हुनुहुन्न,सानीममी मात्र हुनुहुन्छ । बिहान पाँच बजे उठेर घरबाट निस्कदा बच्चाहरु सुतिरहेकै हुन्थे, बेलुका घर फर्किदा बच्चाहरु सुतिसकेका हुने मलाई त बच्चाले देख्न पाएनन ।
हाम्रा लागि सबैभन्दा खराब ट्राफिकका बद्रीधारीहरु हुन । यीनले अनावश्यक दुख दिन्छन फसाँउछन । गत भदौ अन्तिम तिरको कुरा । सुन्धारा बाट चावहिलतिर गुडाइरहेको थिए । गौशाला पुगेपछि यात्रुले हात दिदै थिए । टा«फिकले चिट काट्छ भनेर मैले टम्पो रोकिन । त्यहाँ हरिमोहन यादव नाम गरेको ट्राफिक आएर मेरो टेम्पो साईड लगाउ भने । लाईसेन्स मागे । लाईसेन्स त नक्कली रहेछ भनेर मेरो लाईसेन्स च्यातिदिए । ट्रफिक यादवले कस्तो लाईसेन्स खोजेको हो मलाई थाहा भएन । सयद स्मार्ट लाईसेन्स खोजेका होलान । जुन समय मेरो लाईसेन्स रिन्यु भएको थियो,त्यो बेला सम्म स्मार्ट लाईसेन्स चलेकै थिएन ।
रिस उठ्यो, मैले गलत गरेको भए चिट काट्नु न लाईसेन्स किन च्यात्नु भयो भन्दा मलाई एक झापड हाने । गलत गरेको भए चिट काट्नु यस्तो व्यवहार किन गर्नु हुन्छ भन्दा मलाई फेरि जोरले मेरो मुखमा एक मुक्का हान्यो । जसले गर्दा मैले १५ दिन सम्म खान पनि खान सकिन । तेस्रो पटक हान्न खोज्दा मैले उसको हात रोके । ए बाबा ! तिनका मुक्का खानु पर्ने पनि मैले नै,चौकी जानुपर्ने र थुनिनुपर्नै पनि मैले नै ? यो यिनको कस्तो कानुन हो ?
प्रहरी चौकी पुगे । त्यहाँ इन्पेक्टर सागर बोहोरा खटिएका थिए उनले म माथि झनै अमानवीय व्यावहार गर्यो । विना कसुर मलाई ल्याएर जेलको कुकुरलाई राख्ने ठाँउमा सुताइयो । भोली पल्ट मलाई हनुमानढोका लगियो । त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो ट्राफिक माथि दुव्र्यवहार हातपत गरेर ट्राफिकको हात भाचेको र मोबाईल समेत फोडेको आरोप म माथि लगाईएको रहेछ । त्यही खटिएका इन्पेक्टरले भने ‘ चालीस हाजार दिएपछि मिल्छ केश । नत्र हुँदै हुँदैन जेलमा सडिएर बस । म हनुमानढोकाचौकी पुग्दा सम्म बाटोमा हिडदा हिड्दै दुई जना साथीलाई फोन गरेको थिए । मलाई हनुमान ढोका पु¥याईसके पछि दुईजना साथी माईति नेपाल गए । सात दिन पछि मलाई अनुराधा दिदिले छुटाउनु भयो ।
यस्तो छ,नेपालको ट्राफिक व्यवस्था वर्दीको आडमा जस्ले जसरी फसाए पनि हुन्छ । महिला टेम्पो चालक माथि हुने दुव्र्यवहारसँग लड्नका लागि अहिले महिला टेम्पो चालक संघ बनाएका छौ । अहिले म यो संघको अध्यक्ष पनि हुँ । यो घटना भएको तीन महिना बित्यो अझैं पनि मैले सडकमा टयाम्पो निकाल्न सकेको छैन ।
म माथि भएको दुव्र्यबहार सम्झन्छु,आङै सिरिङ्ग हुन्छ ।
प्रस्तुति : भरत रावल
Post a Comment