लाइट नेपाल
एजेन्सी – अठारौं शताब्दीपछि अमेरिकी राजनीति र सामाजिक क्षेत्रमा ‘फस्ट लेडी’ (प्रथम महिला) ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। फस्ट लेडीलाई कुनै कानुनी अधिकार नदिइए पनि उनीहरू सामाजिक क्षेत्रमा संलग्न हुनुका साथै ह्वाइट हाउसको व्यवस्थापन र औपचारिक समारोहमा उपस्थित हुन्छन्।
त्यो जिम्मेवारी अब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई आएको छ। ट्रम्प बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएसँगै मेलानिया चार वर्ष ह्वाइट हाउसमा बस्नेछन्। उनी अमेरिकाकी फस्ट लेडी बन्ने पहिलो अंगीकृत नागरिक हुन्।
चुनावी अभियान क्रममा नै मेलिनियाबारे धेरै कुरा बाहिर आइसकेका छन्। चुनावी अभियानमा आफ्ना पतिलाई साथ दिनुले भन्दा उनका व्यक्तिगत आनीबानी र जीवनशैलीले बढी चर्चा पाएको थियो। उनका पति ट्रम्प आप्रवासी र मोडलिङ गर्ने महिलाप्रति अनुदार मानिन्छन्। तर, उनी स्वयं आप्रवासी र मोडल हुन्।
सन् १९७० अप्रिल २६ मा स्लोभानियाको सेभनिकामा जन्मेकी मेलानियाका बुबा भिक्टर नाभ्स सोल्भियन कम्युनिस्ट पार्टीका सदस्य थिए। राजनीतिका साथै उनी कार र मोटरसाइकलको डिलर चलाउँथे। उनकी आमा बच्चाका कपडा बनाउने काम गर्थिन्। उनकी एक बहिनी र एक सौतेनी दाइ छन्।
उनको बाल्यकाल सेभनिकामा बित्यो। उनले माध्यामिक विद्यालयमा डिजाइन र फोटोग्राफी पढेकी थिइन्। १६ वर्षको उमेरमा मेलानियाले मोडिलिङ थालेकी हुन्। १८ वर्षमा उनले इटालीको मिलानस्थित एक मोडलिङ एजेन्सीसँग काम गर्ने सम्झौता गरेकी थिइन्। मोडलिङ क्रममा उनी महिलाको सेक्स अपिललाई आफ्नो आवरण पृष्ठमा स्थान दिने फेसन म्यागेजिनहरु हार्पर्स बजार, भ्यानिटी फेयर लगायतको ‘कभर गर्ल’ बनेकी थिइन्। बेलायतको जिक्यू म्यागेजिनको आवरणमा उनको नग्न तस्बिरसमेत छापिएको थियो।
पाँच फिट ११ इञ्च अग्ली मोडल मेलानियाको भेट डोनाल्ड ट्रम्पसँग एउटा फेसन विक पार्टीमा भएको थियो। सन् १९९८ मा ट्रम्प आफ्नी दोस्री श्रीमतीसँग डिभोर्स गरेर बसेका बेला मेलानियासँग उनको भेट भयो। वर्षदिन संगत गरेपछि ट्रम्प र मेलानियाले सन् २००५ मा विवाह गरे। भनिन्छ, ट्रम्पले मेलानियासँगको विवाहमा लगाएको पोसाकका लागि एक लाख डलर खर्च गरेका थिए। फ्लोरिडाको मारालागो रिर्सोटमा भएको उनको विवाह भोजमा बिल क्लिन्टन र हिलारी क्लिन्टन पनि पाहुना बनेका थिए।
विवाह हुँदा मेलानियासँग अमेरिकाको ग्रिनकार्ड मात्र थियो। उनले सन् २००१ मा अमेरिकाको ग्रिनकार्ड लिएकी थिइन्। ट्रम्पसँग विवाह गरेपछि उनले सन् २००६ मा अमेरिकाको नागरिकता पाएकी थिइन्।
सन् २००६ मा यो जोडीबाट एक छोरा (ब्यारन) जन्मेका छन्। मेलानियालाई स्लोभानियन, सर्वियन, फ्रेन्च, जर्मन र अंग्रेजी भाषा बोल्न आउँछ।
चुनावी अभियान क्रममा प्रायः उनले महिला र आप्रवासीका मुद्दामा आफ्ना पतिको प्रतिवाद गरेकी थिइन्। उनले आफूलाई लागेका कुरा ट्रम्पलाई सबै भन्ने गरेको बताएकी छन्। ‘मैले उनलाई आफ्नो विचार एकपटक होइन, पटकपटक भनेको छु,’ न्यू योर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेकी छन्।
चुनावी अभियानताका उनले गरेको एउटा भाषण मिसेल ओबामाले सन् २००८ मा गरेको भाषण चोरेको आरोप लागेको थियो। मेलानियाले आफूले साइबर अपराधविरुद्ध सामाजिक अभियान चलाउने बताएकी छन्।
सन् १९९९ मै न्यू योर्क टाइम्सलाई नै उनले आफू अमेरिकाकी प्रथम–महिला बनेमा परम्परागत महिला भएर बस्ने बताएकी थिइन्। ‘गेराल्ड फर्डकी श्रीमती बेटी फर्ड र जोन एफ केनडीकी श्रीमती ज्याकी केनडीजस्तै म परम्परागत महिला बनेर बस्छु,’ उनले भनेकी थिइन्। यस्तो बताएको १७ वर्षपछि उनी अमेरिकाकी प्रथम–महिला बनेकी छन्।
पूर्व प्रथम–महिला मिसेलले सामाजिक क्षेत्रमा गरेको कामले चर्चा पाइरहेका बेला मेलानिया परम्परागत महिला मात्र बनेर बस्नेछिन् वा सामाजिक काममा लाग्नेछिन् बाँकी दिनले बताउनेछन्।
(सेतोपाटी बाट साभार )
Post a Comment