Latest Updates :

“धीरेन्द्रकी प्रेमिकाको निहुँमा मलाई खाल्डोमा हालियो”


SHARE THIS POST :

सरकारी सेवाबाट अवकाश पाएको केही महिनापछि एक दिन बेलुकीपख सादा पोसाकमा प्रहरी र गुप्तचरले ठमेलस्थित मेरो पुरानो घर कम्पाउन्डवरिपरि बारम्बार चक्कर लगाएर निगरानी गरेको थाहा भयो । मैले नै चार्ज बुझाएका आइजिपी हेमबहादुर सिंह र तत्कालीन मध्यक्षेत्र डिआइजी रणबहादुर चन्दसँग बुझ्न उनीहरूले केही थाहा नभएको बताए । वास्तविकता के रहेछ भनी फेरि मैले तत्कालीन गृहसचिव वीरबहादुर शाहीसँग सम्पर्क राख्दा उनले पनि यस विषयमा केही थाहा नभएजस्तो गरे । तर, सादा पोसाकका प्रहरीले भने म र मेरो घर कम्पाउन्डको निगरानी झन्झन् बढाएर गर्न लागेको मैले अनुभव गरेँ । यत्तिकैमा मैले आइजिपीबाट अवकाश पाएको ठीक एक वर्षपछि ०४४ असार १७ गते बिहान, मलाई पूर्वजानकारी र सूचनाविना लिखित पुर्जीसमेत नदिई तत्कालीन बागमती अञ्चल एसपी अच्युतप्रसाद चालिसेको नेतृत्वमा आएका ६०७० जना प्रहरी अधिकृत र जवानले मेरो घर कम्पाउन्ड घेराउ गरी खानतलासी लिए । त्यहाँ आएका अधिकांश अधिकृत मेरो कार्यकालमा कुनै न कुनै विभागीय कारबाहीमा परेकाहरू थिए ।

 बिहान त्यस्तै ९ बजेदेखि उनीहरूले मेरो घर खानतलासी सुरु गरेको सो क्रम रातको १० बजेसम्म चालू रह्यो । खानतलासी गर्दा पूर्वाग्रहित प्रहरी अधिकृतले घरका महिला सदस्यहरूप्रति अपशब्द र अभद्र व्यवहार गर्दै सामान मनपरी रूपमा फालिदिएका थिए । घरका भित्ताहरू ठाउँ-ठाउँमा फोडी भताभुंग पारिदिए । महेन्द्र पुलिस क्लबमा सोधपुछ र केरकार त्यस दिनभर नै खानतलासी गर्नमा सहभागी एसपी अच्युत चालिसेसहितको टोलीले मलाई र मेरी जेठी श्रीमती वसुन्धरालाई रातको १० बजे महेन्द्र पुलिस क्लबमा केही कुराको सोधपुछ गर्नुछ भनी लिएर गए । त्यहाँ सोधपुछ र छानबिनका लागि त्यसैदिन एउटा छानबिन टोली गठन गरिएको रहेछ । जसमा मध्यक्षेत्रीय प्रहरी डिआइजी रणबहादुर चन्द, नोकरीबाट बर्खास्त भइसकेका एसपी द्वारिकाबहादुर श्रेष्ठ (जसलाई त्यही दिन पुन: नियुक्ति दिई उक्त टोलीमा समावेश गरिएको), एसपी रूपकराज शर्मा, विशेष प्रहरी गोपालबहादुर विष्ट तथा गुप्तचर विभागका अन्य कर्मचारी सम्मिलित थिए । प्रहरी टोलीमा भएका रुपकराज शर्माबाहेक डिआइजी रणबहादुर चन्द र एसपी द्वारिकाबहादुर श्रेष्ठहरू मेरो कार्यकालमा विभागीय कारबाहीमा परेका थिए ।

 म र मेरी श्रीमतीलाई पुलिस भ्यानमा लिएर त्यहाँ पुर्‍याउँदा त उनीहरू पर्खेर बसेका रहेछन् । छानबिन टोलीको सदस्य देख्दै मलाई थाहा भयो कि मप्रति यिनीहरूको राम्रो नियत छैन र मलाई अवश्य पनि विभिन्नथरीका दु:ख दिनेछन् । त्यस रातभर महेन्द्र पुलिस क्लबमा डिआइजी रणबहादुर चन्दलगायतका अधिकृतले चाहिँदा–नचाहिँदा प्रश्न गरिरहे । पूरा रात त्यहीँ बिताएपछि बिहानीपख हामीलाई प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) महाराजगञ्ज लगेर राखे । सात दिनसम्म बिहान महेन्द्र पुलिस क्लब लैजाने अनि राति अबेर तालिम केन्द्र फिर्ता ल्याउने क्रम चलिरह्यो । तथाकथित छानबिन टोलीले महेन्द्र पुलिस क्लबमा सात दिनसम्म हामीविरुद्ध गरेका कठोर केरकारको क्रममा विशेष गरी राजा वीरेन्द्रका भाइ धीरेन्द्र र उहाँका अंगरक्षक कर्णेल भरत गुरुङमाथि केन्द्रित भई ममाथि प्रश्न ओइरिन थाले । उनीहरूले विशेष गरी धीरेन्द्रले राखेकी विदेशी केटीलाई तैले कतिपटक भिसा दिइस् ?

 काठमाडौं आउँदा कहाँ–कहाँ बस्ने व्यवस्था गरिस् ?, विदेशीलाई किन भिसा दिइस् ? जस्ता प्रश्नहरू केरकार गरिरहे । यसका साथै धीरेन्द्रका अंगरक्षक भरत गुरुङसँग तेरो केकस्तो सम्बन्ध छ ? उनीहरूबारे के थाहा छ जस्ता प्रश्नहरू गरिरहे । मलाई पक्राउ गर्नुभन्दा केही दिनअगाडि कर्णेल भरत गुरुङलाई पनि पक्राउ गरी थुनामा राखेका थिए । मलाई दैनिक सशस्त्र प्रहरीको घेरामा बिहान सबैरै पुलिस क्लब ल्याउँथे भने राति अबेर भएपछि तालिम केन्द्र लैजान्थे, खाना घरबाट आउँथ्यो, तर खाना लिएर आउनेसँग भेट गर्न पाउँदिनथेँ र दिँदैनथे । ममाथि बारम्बार अपशब्द भने प्रयोग गरी छिटो खा भन्ने गर्थे । सात दिनअघि म र मेरी श्रीमती वसुन्धरालाई ल्याएपछि बेग्लाबेग्लै राखी केरकार गर्ने भएको हुँदा यो अवस्थासम्म वसुन्धरासँग मेरो सम्पर्क हुन सकेको थिएन । उनलाई कहाँ राखेको थियो मलाई थाहा थिएन । एक्कासी † महेन्द्र पुलिस क्लबमा हामीलाई ल्याएको सातौँ दिनमा फेरि कान्छी श्रीमती सावित्री लामालाई पनि विनापुर्जी पक्राउ गरी त्यहाँ ल्याएको थाहा पाएँ । त्यसवेलासम्म सावित्रीले नै घरमा कमसेकम बालबच्चाहरूसँग बसी रेखदेख गरिरहेकी थिइन् । त्यसैमा म भावविह्वल र दु:खित भएँ । सैनिक अनुसन्धान र बरफबागमा यातना महेन्द्र पुलिस क्लबको सात दिनको कठोर केरकार र यातनापछि मलाई प्रहरीको भ्यानमा राखी लगे । वसुन्धरा र सावित्रीलाई चाहिँ कहाँ लगे मलाई थाहा थिएन । मैले सुरुमा पुलिस क्लबबाट मलाई कहाँ लिएर हिँडेको भनेर पुलिस कर्मचारीहरूलाई सोधेँ, तर उनीहरूले केही जवाफ दिएनन् ।

 सायद उनीहरूलाई मसँग नबोल्न आदेश दिइएको हुनुपर्छ । एक छिनपछि मोटर सिंहदरबारको बरफबागअगाडि गएर रोकियो । त्यसवेला पानी झमझम परिरहेको थियो, मानौँ आकाश पनि भक्कानो फुटाई रोहिरहे जस्तो । मोटरबाट ओर्लिएपछि मात्र थाहा भयो, मलाई सिंहदरबारस्थित बरफबाग जाने साँगुरो बाटोबाट नेपाल गुप्तचर विभाग रहेको बरफबाग भवनको एउटा सानो कोठामा पुर्‍याइरहेको रहेछ । त्यहाँको कोठाका झयालहरू बाहिरबाटै काठको फलेक ठोकी बन्द गरिएको रहेछ । ढोकामा संगीन जडी बन्दुक बोकेका सैनिकले पहरा दिइरहेका थिए । मलाई त्यो कोठामा लगेर प्रहरीले सेनाको जिम्मा सुम्पिए । यतिखेर म स्मरण गर्छु, त्यहाँ बरफबागमा मलाई राखेको भवन एउटा सानो ढिस्कोमाथि अवस्थित छ । त्यसवेला मलाई राखिएको कोठाको ढोकामा मात्र नभई भवनको वरिपरि नै सेनाले पहरा दिइरहेका थिए । यसरी प्रहरी संगठनजस्तो निजामती प्रकृतिका सेवानिवृत्त कर्मचारी जसको साधारण नागरिकसरहको हैसियत मात्र भएकोलाई प्रहरीले पक्राउ गरी सोपछि सेनाको जिम्मा लगाउनु आश्चर्यजनक कुरो मानिन्छ । सामान्यतया सर्वसाधारण नागरिकलाई यसरी सेनाको जिम्मा लगाउनु भनेको संगीन कुरा हो, मामुली होइन । एक किसिमले सेनामा त कालोलाई सेतो र सेतोलाई कालोसमेत बनाइन्छ भन्ने मैले सुनेको थिएँ । सेनाको आफ्नै अलग ऐन, कानुन, नीति, नियम र परिपाटी हुन्छ ।

 बाहिरको कुनै कानुन वा प्रशासनले त्यहाँ केही गर्न सक्दैन र सैनिक काम कारबाहीमा बाहिरबाट कसैको हस्तक्षेप चल्न सक्दैन । बरफबागमा ल्याइएको भोलिपल्ट बिहानै छानबिन टोलीका सदस्यहरूमध्येका सैनिक अधिकृतसमेतका व्यक्तिहरूले मलाई फेरि नानाथरीका प्रश्नहरू राखी केरकार गर्न थाले । यो क्रम केही दिनसम्म चलिरह्यो । अकस्मात् † एकदिन झुलुक्क त्यहाँ वसुन्धरालाई देख्दा मलाई झनै दु:ख लाग्यो । मैले त उनीहरूलाई छाडिसकेका होलान् र घरमा गई उनीहरूले बालबच्चाको हेरविचार गरिरहेका होलान् भन्ने सोचेको थिएँ । मलाई केरकार गर्ने कोठामा लाँदै गर्दा अर्को कोठाबाट वसुन्धराले देखेर ‘म पनि यहीँ छु’ भन्दा पो थाहा भयो कि उनीहरूलाई पनि त्यही दिन बरफबागमा ल्याएको रहेछ । त्यसको त्यस्तै एक सातापछि सावित्रीलाई पनि त्यहीँ देखेँ । मलाई सोधपुछको क्रममा यताउता लैजाँदा, यसो मौका पारेर सावित्रीले भनिन्, उनीहरूलाई पनि महेन्द्र पुलिस क्लबबाट सोही दिन त्यहाँ ल्याई मलाईजस्तै झ्यालहरूमा बाहिरबाट फलेक ठोकी अँध्यारो बनाएको कोठामा सेनाको निगरानीमा राखेको रहेछ । त्यसबेला सेनामा महिला सिपाही नभएकाले भैरवनाथ गणबाट प्यारासुट पट्याउन राखेका महिलालाई तैनाथ गरी उनीहरूलाई राखिएको कोठाको ढोकामा पहरा दिन लगाइएको रहेछ ।

 एकाकी सन्नाटापूर्ण दिनरात बिताएको एक सातापछि नभन्दै मेरो अनुमान ठीकै भएझैँ लाग्यो । किनकि सातौँ दिनको बिहान १० बजे मलाई फेरि केरकार गर्ने कोठामा लगियो । त्यहाँ टोलीका सदस्यहरू : डिआइजी रणबहादुर चन्द, एपसी द्वारिकाबहादुर श्रेष्ठ, विशेष प्रहरीका डिएसपी गोपाल विष्ट र रूपक शर्मा अनि सेनाका कर्णेल गीर्वाणविक्रम शाह पहिलेदेखि आएर कुर्सीमा बसिरहेका रहेछन् । रणबहादुर चन्दको आँखाको इसारामा रूपक शर्मा कोठाबाट बाहिर गई सर्प राख्ने पेठारी बोकेको मधिसेलाई लिएर तुरुन्तै भित्र आए । अब भने मेरो मुटुले झन् ढ्याङ्ग्रो ठोक्न थाल्यो, सर्प भनेपछि बाल्यकादेखिनै म असाध्यै डराउँथे । यतिसम्म कि कसैले सर्प मात्रै भने पनि म डरले थुरथुर हुन्थेँ र सिनेमाको पर्दामा सर्प देखेँ भने पनि मेरो जिउ सिरिंग भई डरले जुरुक्क खुट्टा उचाल्थेँ । थर्ड डिग्रीका लागि विभिन्न यातना दिएर पनि केही सीप नलागेपछि मलाई कायल गराउन फेरि यो (म) सर्पदेखि डराउँछ भन्ने थाहा पाएर त्यससम्बन्धी एउटा नौलो र भयानक नाटक गर्ने कार्यक्रम बनाएका रहेछन् । त्यसरी रूपक शर्माले सपेरालाई भित्र लिएर आउनासाथ रणबहादुर चन्दले ‘ल साँचो भन्नु पर्‍यो, होइन भने सर्प लगाइन्छ’ भनेर रूखो स्वरले मलाई भनेका थिए । प्रत्युत्तरमा ‘मैले थाहा पाएका सबै कुरा भनेकै छु, थाहा नभएको कुरा कसरी भनूँ’ भन्नेबित्तिकै रणबहादुर चन्दको आँखाको इसारामा सपेराले झन्डै छ–सात हात लामो एउटा गोमन सर्प निकालेर मेरो शरीरमा लगाउन अगाडि बढ्यो । सर्प देख्नेबित्तिकै मेरो प्राणै जाला जस्तो भई शरीरभर करेन्ट लागेझैँ भएर आयो ।

डरले जोडसँग कराउँदै यताउता भागेँ । सपेराले एउटा हातमा गोमन सर्प बोकी मलाई लगाउन पछिपछि लखेट्दा अर्को हातमा बोकेको पेटारी खसी अर्को गोमन पनि बाहिर निस्किएर मतिर हान्निँदै आयो । त्यसपछि म त डरले भित्तामा टाँसिएर त्यहीँ बेहोस भई भुईंमा ड्याम्मै पछारिएछु । धेरै बेरपछि होस आई यसो आँखा खोलेर हेरेको त रणबहादुर चन्दले फेरि सर्प लगाउने धम्की दिइरहेका थिए । त्यसवेला मेरो होस आए पनि चेतना भने सुषुप्त नै रहेको थियो । म डरले बेस्सरी कराउँदा घाँटी सुकेर मेरो आवाज बाहिर आउन सकेको थिएन । म निरीह भई आततायीसामु विवश भई हेरि मात्र रहन सकेको थिएँ । उनीहरूले खुब दया देखाएझैँ गरी मेरो अर्धमूर्छित शरीलाई बोकेर कोठाको खाटमा राखेर बाहिर गए । यसरी दुई दिनसम्म सर्प लगाउने यो क्रम जारी रहेको थियो । मलाई लाग्दछ कि विश्वको अपराध विज्ञानमा अपराधीलाई कायल गराउन अनेक उपाय र विधिहरू होलान्, तर ममाथि चालिएको सर्प लगाउने यो विधिचाहिँ सायदै कहीँ होला । एक दिन यसो मौका छोपेर मैले वसुन्धरा र सावित्रीलाई सर्प लगाएर दु:ख दिएको कुरा सुनाएँ । उनीहरूले आँखाभरि आँसु लिएर आफूले थाहा पाएको कुरा बताए । सावित्रीलाई राखेको कोठाको झ्यालको एउटा सानो च्यापबाट मलाई राखेको भवनतिर आउने गोरेटो बाटो देखिँदो रहेछ, त्यहीँबाट रूपक शर्माले पेटारी बोकेको सपेरा लिएर केरकार गर्ने कोठामा लगेको उनीहरूले देखेका रहेछन् ।

 एक छिनपछि म डरले भवनै थर्कने गरी कराएको दुवैले सुनेर केरकार गर्ने कोठातिर आउने प्रयास गर्दा गार्डले उनीहरूलाई हप्काएका पनि रहेछन् । त्यसपछि केही नलागी विवश भई आ–आफ्नो कोठामा रुँदै नानाथरी कल्पना गर्दे भगवान्सँग प्रार्थना गर्दै बसेछन् । उक्त घटनामा म बेहोस भई ढलेपछि मलाई त केही थाहा भएन, तर छानबिन टोलीका ती आततायी सदस्यहरूलाई पनि सर्पदेखि डर लाग्ने रहेछ भन्ने कुरा टोकरीबाट उम्कन पाएको सर्प यताउता जाँदा उनीहरूको पनि भागाभाग भएको रहेछ भन्ने कुरा पछि मैले सुनेको थिएँ । यसवेला मलाई पक्राउ गरिएको २०-२२ दिन भइसकेको थियो, बालबच्चाको चिन्ता, मैले पाएको शारीरिक र मानसिक यातनाले दिक्क भएर बरु प्राणै त्याग्ने भनी आत्महत्या गर्नेसमेत निर्णय गरेको थिएँ । तर, सुत्ने कोठाको खाटमा एउटा सतरन्जनबाहेक अरू केही पनि थिएन र चौबीसै घन्टा मेरो सामुन्ने संगीनसहित रहेको सेनाको कडा पहराले गर्दा आत्महत्या गर्न पनि सहज र सम्भव थिएन । घोडा क्याभलरीको केरकार सोधपुछ, केरकार र यातनको क्रम चलिनै रहेको थियो ।

 त्यत्तिकैमा एकदिन राति १० बजेतिर सशस्त्र सैनिकको घेरामा मलाई बरफबागबाट बाहिर निकालियो । सम्झिएँ सायद कतै यो बरफबागको हिरासत कोठाबाट बाहिर लान खोजिरहेका छन् । त्यसैले होला, मलाई बाहिर लैजानुअघि आँखामा पट्टी बाँधियो र त्यसमाथिबाट कपडाको खोलले ढाकियो । मेरो दुवै हातहरू बाँधी सिपाहीहरूले मोटरमा चढाए । हिँडेको केही क्षणमै मोटर टक्क अडियो, सिपाहीहरूले दुवै पाखुरामा समाई एक छिन पैदल हिँडाएपछि टाउकोमा ढाकिएको खोल र आँखाको पट्टी पनि खोलिदिए । सामुन्ने एउटा ठूलो सानदार बैठक कोठा देखेँ । २००७ सालको क्रान्तिको योद्धा भएकाले सोपछि आफू पनि त्यहाँ धेरै वर्षसम्म कार्यरत रहेको हुँदा त्यो ठाउँ ठम्याउन मलाई कत्ति पनि गाह्रो परेन । त्यो ठाउँ थियो, सिंहदरबार हाताभित्रको घोडा राख्ने क्याभलरी । त्यहाँ जर्नेल लक्ष्मणबहादुर सिंह (जसलाई एलसी पनि भन्ने गरिन्छ) लगायतका १०१२ जना सैनिक अधिकृतहरू आएर बसेका रहेछन् । कान्छा अधिराजकुमार धीरेन्द्र सरकारका अंगरक्षक कर्णेल भरत गुरुङलाई पनि मलाईजस्तै सास्ती, यातना दिएका रहेछन् भन्ने कुरा उनको शारीरिक, मानसिक अवस्था र बोलाइले मैले अनुमान लगाउन सक्थेँ ।

 मलाई त्यहाँ पुर्‍याएपछि हामी दुवै जनालाई आमनेसामने गराएर जर्नेल एलसीलगायतका सैनिक अधिकृतले तिमीहरूबीच ‘घनिष्ठता कत्तिको छ र दुईजना मिलेर धीरेन्द्र सरकारको मर्यादित नाम बेची कुन–कुन गलत काम गर्‍यौ, सरकारलाई किन गुमराह गराएको’ भनी घुमाईफिराई तिनै पुराना प्रश्नहरू बाम्बार सोधिरहे । मैले भरत गुरुङसँग मिलेर त्यस्तो केही काम गरेको छैन भनेँ, भरत गुरुङले पनि सोही कुरा भनिरहेका थिए । हामी दुवैको जवाफ उनीहरूलाई चित्त नबुझेपछि ‘ठोक सालेहरूलाई’ भनी सेनाका अधिकृतहरूले सिपाहीलाई आदेश दिए । त्यसपछि सिपाहीहरूले हामीलाई पैतालामा हिर्काउन सुरु गरे । लगातारको पिटाइले हाम्रो पैतालाबाट रगत बग्न थालेको हुँदा खुट्टा टेकी उभिन नसकेपछि हामी दुवैजनालाई घुँडा टेकाएर राखे । हामीलाई अझ ज्यादै पीडा होस् भनी हाम्रो घुँडा राख्ने ठाउँमा पनि इँटाका स–साना टुक्राहरू छरेर राखेका थिए । यसरी त्यो रात अनि अर्को रात म र भरत गुरुङले धेरै चुटाइ, लात्ती, मुक्का र थप्पड खायौँ कि यसबारेको यथार्थ वर्णन मेरो जीवनीमा लेखी साध्य छैन । अर्को बिहानीपख उक्त क्याभलरीबाट मलाई फेरि मोटर चढाई बरफबागको त्यही पहिलाको सानो कालकोठरीमा ल्याएर राखे ।

 कर्णेल भरत गुरुङलाई भने कहाँ लगे, के गरे त्यसवेला मलाई केही थाहा भएन । जंगलको त्रासदीपूर्ण पहिलो क्षण म र मेरो परिवारलाई पक्राउ गरिएपछि सुरुमा महेन्द्र पुलिस क्लब, त्यसपछि क्रमश: सिंहदरबारको बरफबाग हुँदै सैनिक क्याभलरीमा धेरै दिनदेखि भएका केरकार र यातनाबाट रातभरि अनिँदो रहँदा मेरो शरीर सिथिल अवस्थामा पुगिसकेको थियो । एकरात चाहिँ कसोकसो धेरै थकाई र यातनाको पीडाले गर्दा मेरो आँखालाई निद्राले झपक्कै छोपेको रहेछ । त्यसै मध्यरात करिब ११–१२ बजेतिर कसैले मलाई यसो घच्घच्याएको जस्तो लागेर बिउँझिँदा केही सैनिकहरू मलाई उठाउन आएका रहेछन् । उनीहरूले मलाई इसाराले चुपचाप जुत्ता र लुगा लगाउन भने । मलाई लाग्यो, वसुन्धरा र सावित्रीले थाहा नपाऊन् भनेर आवाज ननिकाली इसाराले अह्राएको हुनुपर्छ । कपडा लगाई तयार भएपछि अघिपछि संगीनसहित हतियार तेस्र्याएका सिपाहीहरूको घेरामा राखी बफरबागको कोठाबाट तल बाटोमा खडा गरी राखेको आर्मीको एम्बुलेन्समा चढाए । गाडीको सिटमा बस्न खोज्दा सैनिकहरूले ‘होइन तल बस्’ भनेपछि म भुइँमा बसेँ । त्यसै समयमा मलाई आँखामा पट्टी बाँधी हात पछाडि लगेर बाँधे अनि घाँटीसम्म पुग्नेगरी कालो कपडाको खोल लगाइदिए ताकि मैले बाहिर कता लान लागेको रहेछ देख्न नसकूँ ।

 रातको अँध्यारो भए पनि बाहिरबाट कसैले मलाई नदेखोस् भनेर सिटमा बस्न नदिई भुईंमा बस्न लगाएकाले पनि ‘आज मलाई कतै मान त लगिरहेका छैनन्’ भन्ने ठानेँ । करिब एकघन्टा जति एउटै रफ्तारमा गुडिरहेको एम्बुलेन्स गाडी एक ठाउँमा पुगेपछि रोकियो, गाडीको ढोका खोलेर मलाई तल ओरालो र मेरा दुवै पाखुरा समाई वर्षात्को कारणले हिलो भएको अप्ठेरो बाटो हिँडाएर अज्ञात स्थलतिर लगे । एउटा निर्दिष्ट ठाउँमा पुगेपछि पाता फर्काइएकै अवस्थामा मलाई कुनै ठूलो थाम जस्तोमा बाँधे । आँखामा पट्टी भएकाले पाता फर्काएको हातको औँलाले यसो छामी हेर्दा कुनै ठूलो रूख भएको अड्कल लगाएँ । रुन र चिच्याउन खोजेँ तर, मुखबाट आवाजै आइरहेको थिएन । अनि लाचार भई भगवान्को नम जप्नुसिवाय त्यसवेला अर्को कुनै उपाय मसँग थिएन । एकपछि अर्को आफूलाई बाँधेको ठाउँमा नजिकै कोदालो र बेल्चाले खाल्डो खनेको आवाज आयो । सैनिकहरूको टीकाटिप्पणी सुनिन थाल्यो, ‘गहिराइ पुग्यो, तर लम्बाइ–चौडाइ पुगेन, अलिक खन, यताउति ताछ’ आदि आदि । एकछिनपछि त्यो कुराकानी पनि रोकियो सायद मलाई पुर्ने खाडल तयार भएछ भन्ने मैले ठानेँ । यत्तिकैमा मैले नदेखे पनि उही चिरपरिचित जर्नेल लक्ष्मणबहादुर सिंह (एलसी)को आवाज सुनेँ । उनको आवाजसँग म राम्ररी परिचित थिएँ किनभने म इन्सपेक्टर भएका वेला उनी सेनामा कप्तान थिए । राजा महेन्द्रको सवारी शिविरमा हामी सँगसँगै काम गरेका थियौँ । पछि पनि धेरै सरकारी कामहरूमा हामी साथै रही काम गर्ने मौका पाएका थियौँ । झन् बरफबागमा बस्ने छानबिन टोलीमा समेत उनी नै थिए । त्यसपछि एउटा कागज निकालिएको आवाज आयो ।

त्यो कागजको बेहोरा उही जर्नेल एलसीले पढेर सुनाएका थिए । त्यसवेला मेरो मनोदशा विचलित भएकाले मलाई सुनाइएको त्यो कागजको बेहोरा यतिखेर जस्ताको तस्तै उतार्न नसके पनि सम्झना भएसम्म मोटामोटी रूपमा यसप्रकार थियो, ‘श्री ५ महाराजाधिराज सरकारबाट तपाईं प्रहरी विभागको गरिमामय सर्वोच्च पदमा बहाल भइकन भ्रष्टाचार गरेकाले गोली ठोकी मारिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएकाले सोबमोजिम आजका दिन तपाईंलाई गोली हानी मारिँदै छ । मर्नुअघि तपाईंको अन्तिम इच्छा भए भन्नुस् ।’ त्यस्तो हुकुम प्रमांगी पढेपछि एलसीले खोकेर आफ्नो गला सफा गरे । ‘त्यसो हो भने मेरो लास परिवारको जिम्मा लगाइदिनू, यही मेरो अन्तिम इच्छा हो’ भनी भनेँ । त्यसपछि जर्नेलले ‘यसलाई अब खाल्डोमा हाल्’ भनेपछि मलाई रूखमा बाँधिएको डोरी खोली आँखामा लगाइएको पट्टी र पछाडि बाँधिएको हातको डोरी केही नखोली सिपाहीहरूले उचालेर मलाई खाल्डोमा राखे । त्यसपछि साबेल र बेल्चा चलाएको आवाज साथसाथै मेरो वरिपरि माटो खसालेर मलाई पुर्न थालिएपछि मैले चिच्याएर भने, ‘गोली हानी मार्ने भनेको होइन र’ भन्दा ‘हो हो गोली हानी मार्ने हो’ भने । त्यसपछि कमान्डरले सिपाहीहरूलाई गोली भर् भन्ने आदेश दिएका थिए । सिपाहीहरूले चार–पाँचवटा बन्दुकमा गोली भरेको खटखटको आवाज सुनियो । मैले त्यसवेला मुटुमै लागोस् र एउटै गोलीले सजिलै मेरो प्राण जाओस् अनि मर्न सजिलो होस् भनी माटोभित्र रहेर पनि गोली भरेको आवाज आएतर्फ तन्किएर बायाँ छाती फुकाई गोलीको प्रतीक्षामा बसेँ । त्यसवेला मेरो मनले सोचेको कुरा अहिले पनि ताजै रूपमा सम्झना भइरहन्छ । ताक् भन्ने कमान्डरको आदेश आएपछि गोली चल्छ भनेर पर्खेर बसिरहेँ, तर कस्तो अचम्म गोली चलेन, चल्दै चलेन । हे भगवान् ! मृत्युदायी गोलीको कस्तो त्रासदीपूर्ण प्रतीक्षा ! यसवेला एकपल पनि मेरा लागि एकघन्टा जस्तो भइरहेको थियो । ताक् भन्ने आदेशपछि सिपाहीहरू पनि फायर गर् भन्ने आदेशको पर्खाइमा बसेका थिए । तर, गोली फायर भन्ने आदेश भएन, गोली चलेन, कस्तो मानसिक यातना, यहाँ लेखेर व्यक्त गरेर साध्य छैन ।

 कोही कसैबाट अर्को आदेश आएको सुनिएन । तर, त्यो डरलाग्दो क्षणको १५२० मिनेट जति पछि माटो पन्छाएर पाखुरामा समाई मलाई फेरि सिपाहीहरूले बाहिर निकाले । यसपछि अब अझ मलाई के गर्न लागिरहेका छन् भन्ने मनमा खुल्दुली चल्यो र सायद हिँडाउँदै गोली हान्ने हो भन्दै थिएँ, यत्तिकैमा तीनचार जवानहरूले मलाई जुरुक्कै उठाएर कुनै अग्लो ठाउँमा बसाले । तारो हान्ने सुर गरेको होला भन्ने सोचेको थिएँ । तर, गाडीको ढोका ड्याम्म लागेको अवाजसहित मोटर स्टार्ट भयो । गाडी अगाडि बढ्यो । मलाई मार्न भनी लगेको ठाउँमा जरुर केही बाधा अड्चन भयो होला र अर्को ठाउँमा लिएर हिँडेका होलान् भन्ने आशंका गरेँ । निकैबेर गाडी गुडेपछि गाडी रोकियो । गाडीभित्रै मेरो हातको डोरी र आँखाको पट्टी खोलिदिएर मलाई तल उतारे । मसँगै रातको समयमा सिपाहीहरूले पनि दु:ख र झन्झट पाएकाले होला फतफताउँदै मलाई लगेर उही बरफबागको कोठामा लगेर थुनिदिए । यस्तो अचम्म र आश्चर्यको कुरो राजाको हुकुम पढेर प्रमांगी सुनाउने व्यक्ति भने लक्ष्मणचन्द्र सिंह नै हुन् । अर्का लेफ्टिनेन्ट कर्णेल गीर्वाणविक्रम शाह (जनरल रंगविक्रमका छोरा) हुन् । ट्रिगर दबाए मात्र पुग्ने अवस्थामा गोली किन हानिएन ? के–कति कारणले यो कार्य पूरा गरेनन् । राजाको हुकुम प्रमांगी भनी पढेर सुनाएको कागज सायद फर्जी पो थियो कि ? मप्रति राजा रिसाएर त्यस्तो क्रूर व्यवहार त अवश्य नगर्नुपर्ने हो ।

वसुन्धरा र सावित्रीसँगको मार्मिक क्षण एकदिनको कुरा हो, साँझपख त्यस्तै ७ बजेको हुँदो हो, वसुन्धरा र सावित्रीलाई मेरो कोठाभित्र एकजना सैनिक अधिकृतले एक्कासि लिएर आए । यत्तिकैमा ती सैनिक अधिकृत कोठाभित्र पसे र शिष्टतापूर्वक भने ‘तपाईंहरूको मन परेको र इच्छा लागेको खानेकुरा के हो भन्नुहोस्, हामी तुरुन्तै मगाइदिन्छौँ ।’ हामीले, अहिले केही खान मन छैन भन्दा पनि अति आग्रह गरे, यो क्रम १०–१५ मिनेट चलिरह्यो । अन्तमा त्यसो भए जे भए पनि हुन्छ, ल्याइदिनुहोस् भनी सावित्रीले भनिन् । त्यस कुरालाई नमानी उनीहरूले भने, ‘होइन होइन तपाईंहरूले पाँचतारे होटलको जे खाना खाने हो, भन्नुभयो भने पनि हामी मगाएर खुवाउँछौँ, माथिको आदेश छ ।’ यसरी ती सैनिक अधिकृतले मरिहत्ते गरे । ‘यदि तपाईंहरूले आफूलाई मन लागेको खानेकुरा मगाउनुभयो भने दुई घन्टा निगरानीविना सँगै बस्न पाउनुहुनेछ र मनमा लागेको जेजति कुराकानी पनि गर्न पाउनुहुन्छ, होइन भने साथमा बस्न र कुरा गर्न नदिनू भन्ने मलाई आदेश छ,’ अलि धम्कीको भाषामा सैनिक अधिकृतले भनेका थिए । त्यसपछि सावित्रीले भनिन्, ‘त्यसो भए हामीलाई कुखुराको मासु र भात ल्याइदिनोस् ।’ मृत्युदण्ड दिनुभन्दा पहिले इच्छाएको खाना खान दिने चलन छ भन्ने सुनेको थिएँ । मेरो मनमा चिसो पस्यो । अस्ति मलाई तर्साउन मात्र लगेको रहेछ । आज भन्ने पक्का मार्ने भए, मैले सोचेँ । जीवनको यो अन्तिम घडीमा खानेकुराको भन्दा पनि श्रीमतीहरूसँग एक क्षणको न्यानो भेटघाटको सुवर्ण मौका गुमाउनु पर्ला भनी मन नलागी–नलागी कुखुराको मासु र भात मगायौँ ।

 अनि मात्र हामी तीनजनालाई एकान्त छाडेर ती अधिकृत बाहिर गए । अरू वेला ढोकामा सधैँ संगीनसहितको बन्दुक लिएको पहरा दिने गार्डलाई पनि त्यहाँबाट हटाएर अलि पर लगेर राखे । हामीमाथि यो कृपा गरेको मलाई मार्न नै हो भन्ने भएकाले श्रीमतीहरू डाँको छोडेर रुन थाले । ममाथि भए–गरिएका अन्याय र अत्याचार श्रीमतीहरूलाई सुनाउँदा सबै थाहा पाइसकेका छौँ भन्दा पो म त छक्क परेँ । दुवैजनालाई भिन्दाभिन्दै कोठामा बन्दी बनाएर राखेको अवस्थामा पनि ती अत्याचारीहरूले निर्दोष असहाय महिलाहरूलाई मानसिक रूपले आघात पार्न ममाथि गरिएका दुव्र्यवहार र यातनाहरूको बेहोराहरूमा झन् नुनचुक थपेर सुनाउँदा रहेछन् । लाचार भई रुँदै उनीहरूको कुरा सुन्दा रहेछन् । आज पक्कै मार्छन् भन्ने भएकाले त्यो भेटमा दिएको समयमा मैले दुवैलाई सम्झाउने कोसिस गरेँ । यिनीहरूले मलाई मारेपछि मेरो लास जसरी भए पनि पहाड घरमा लगी आफ्नो धर्म र संस्कृतिअनुसार सदगत गरिदिनू । यदि पहाड र काठमाडौंको घरजग्गा सरकारले सर्वस्वहरण गरेन भने बेचबिखन गरी केटाकेटीहरू लिएर भारत गई बस्नू । सतीको श्राप गरेको देशमा सोझो र इमानदार मानिसको कहिल्यै भलो नहुने रहेछ । तिमीहरूलाई पनि केही नगर्लान् भन्न सकिँदैन । अन्तिम इच्छा सोधे भने छोराछोरीहरूलाई एकपटक भेट्न पाऊँ भन्नू भनेँ । जंगलको त्रासदीपूर्ण दोस्रो क्षण मेरा पत्नीहरू वसुन्धरा र सावित्रीसँगको यस्तो भेटपछिको रातको १२ बजे कर्णेल गीर्वाणविक्रम शाह आई मलाई लुगा लगाउन आदेश दिए । साथमा सेनाका अरू अधिकृतहरू पनि थिए । सबैले सेनाको रातमा लगाउने कम्ब्याट पोसाक लगाएका थिए । अनि सबै गम्भीर मुद्रामा देखिन्थे ।

त्यसपछि उनीहरूमध्ये दुईजनाले मेरो पाखुरा समाएर कोठाबाट बाहिर लैजान लाग्दा म त पागलजस्तो भई त्यसवेला मेरा परिवारहरू साथमा नभए पनि उनीहरूलाई राखिएको कोठाबाट मेरो आवाज सुनियोस् भनी ‘वसु, सावित्री बस है, मलाई लाँदै छन्, म गएँ’ भन्दै बेसरी चिच्याएँ । गलामा भएको गणेश भगवान्को लकेट वसुन्धरा र सावित्रीलाई दिन्छु भन्दा ती सैनिकहरूले त्यसवेला ठाडै इन्कार गरे । यसरी अकस्मात् आएको आवेगमा लत्तै छाडेर कराउँदै भुइँमा थचक्कै बसेँ । संयोगवश भर्‍याङछेउको कोठामा वसुलाई राखेको रहेछ । मेरो आवाज सुनेपछि उनी हुत्तिएर ढोकामा आइपुगिन् र हातमा लकेट र घडी दिँदै भनेँ, ‘तिमीहरू बाँच्यौ भने बच्चाहरूलाई बचाऊ ।’ यत्तिकैमा मलाईचाहिँ सिपाहीले तान्दै तल लगे । बरफबागको आँगनमा पुगेपछि ठूलो आवाजमा पशुपतिनाथलाई पुकार्दै पूरै बरफबागको एरिया थर्कने गरी कराएको थिएँ । सैनिकहरूले भने मलाई ओरालोतिर लगिरहेका थिए । अघिल्लो पटकझैँ यसपटक पनि सेनाको एम्बुलेन्स त्यहाँ तयार गरेर राखेको रहेछ । मलाई चढाउनेबित्तिकै सैनिकले गाडी अगाडि बढाए ।

 गाडी गुडिरहेकै अवस्थामा मेरो हात पछाडिबाट बाँधिदिए र आँखामा पट्टीसमेत बाँधेर टाउकोमा कपडाको खोल ओढाइदिए । साउन महिनाको त्यो औँसीको रात, त्यसमा पनि आँखामा पट्टी अनि एकछिनपछि सधैँका लागि अन्धकार ! कस्तो डरलाग्दो जीवनको कालो सत्यता ! यसपटक पनि पहिला झैँ झन्डै एकघन्टा जति हिँडेपछि गाडी रोकियो । गाडीबाट ओरालेपछि आँखामा पट्टी लगाइएकै अवस्थामा दुईतिर पाखुरामा समाई मलाई अज्ञातस्थलतर्फ हिँडाउन थाले । अहिले अनुमान गर्दा त्यो ठाउँ गोकर्णको वन हो कि जस्तो मलाई लाग्छ । हिँड्दाहिँड्दै म रुने र कराउने गर्दा कर्णेल गीर्वाणविक्रमले हकारेर ‘चुप लाग्’ भनेका थिए । यसरी १५ मिनेटजति हिँडाएपछि एउटा रूखमा मलाई बाँधे । यो अनुमान लगाउँदा त्यो ठूलै रूख हुनुपर्छ । ‘ल आज जे भन्नु छ भनिहाल्नू अहिले, नत्र एक छिनपछि मारिँदै छ,’ गीर्वाणविक्रमले जोडदार रवाफमा भने । मलाई लागिरहेको थियो, त्यहाँ उनीहरूभन्दा ठूलो कोही व्यक्ति पनि हुनुपर्दछ र उसको अगाडि मलाई कुनै कबुल गराउन खोजिएको छ । गीर्वाणले पनि बारम्बार उही कुरा दोहोर्‍याइरहन्थे, ‘सबै कुरा नलुकाई भन्यो भने जीवनदान पनि हुनसक्नेछ ।’ ‘मैले के त्यस्तो कसुर गरेँ र मलाई यस्तो सास्ती दिएको ? बरु गोली हानी भुतुक्क मारिहाल’ भनेर बेसरी कराएपछि एकैछिन सास रोकिएर आवाजै आएन, त्यत्तिकैमा हतारहतार एकजना आएर मलाई बाँधेको छातीनिरको डोरी अलि खुकुलो पारिदियो ।

 मे फेरि कराएँ, ‘तिमी पापीहरूसँग म भीख माग्दिनँ, तिमीहरूले यसरी कति जनालाई विधवा र टुहुरा बनाएका छौ ? तिमीहरूले मैलेभन्दा बढी दुर्दशा भोग्नु परोस्, तिमीहरूको बर्बाद होस्, यो मर्ने मान्छेको श्राप हो । मान्छेको अन्तिम डर नै मृत्यु हो तर म मर्ने मान्छेलाई केको डर ?’ मैले यति भन्दै बेसरी सरापेँ । त्यसैवेला मभन्दा केही टाढा गोली पड्केको आवाज मेरो कानमा पर्‍यो । ऐइया।।। भनेको आवाज पनि सुनेँ । त्यसलगत्तै अर्को गोली चल्यो र त्यसवेला मरेँ नि मरेँ।।। भनिएको पीडायुक्त आखिरी चिच्याहट पनि सुनेँ । ‘ऊ भरत गुरुङ मारियो, अझै पनि मौका छ भनिहाल, होइन भने भरत गुरुङकै हातल तेरो हुनेछ, अब पालो तेरै हो’ भनी आक्रोशपूर्ण तरिकाले कर्णेल गीर्वाणले मलाई भने । त्यसपछि, लगभग आठ–दश मिनेट चकमन्न भयो । मैले सम्झिएँ भरत गुरुङको लास ठेगान लगाएर मलाई गोली हान्ने तर्खर भएको होला । अचानक मेरो टाउकोको मुखुन्डो निकालियो र आँखाको पट्टी पनि खोलियो । यसैबीच केही टाढाबाट मेरो अनुहारमा टर्चलाइटको चहकिलो बत्ती लागिरहेको थियो र त्यो लाइट करिब २३ मिनेटसम्म रहिरह्यो । त्यसपछि त्यो टर्चलाइटको उज्यालो मेरो अनुहारबाट हटाई करिब २५-३० फिटपरको जंगलमा केन्द्रित गरियो । जहाँ लाइटको उज्यालो परेको ठाउँ थियो, त्यहाँ सेतो कपडाले बेरेको लासलाई सेतै धोती लगाएका चारजना बाहुनले बोकेर लगिरहेको दृश्य र लासभन्दा पछाडि १०१२ जना मलामी पनि छर्लंग देखियो । भर्खरै आँखाको पट्टी खोलेको, औँसीको रात, झ्वाट्ट उज्यालो प्रकाश आँखामा परेकाले त्यो आकृति ठम्याउन सकिनँ । मलाई भ्रम परेको त होइन भनेर खुब नियालेर हेर्ने कोसिस गरेको मात्र के थिएँ तुरुन्तै मेरो आँखा छोपेर मुखुन्डो फेरि मेरो टाउकामा लगाए । ‘अझ पनि मौका छ भन्’ भन्दा ‘मेरो लास परिवारलाई बुझाइदिनू यति नै हो मेरो भनाइ’ भनेँ । मलाई त्यसरी टर्चलाइट देखाई मेरो अनुहार हेर्न चाहने व्यक्ति को हुन सक्छ, मैले अहिलेसम्म निक्र्योल गर्न भने सकेको छैन । त्यो व्यक्ति पत्ता लगाउने जिम्मा पाठकवर्गलाई नै छोडेको छु ।

 जे होस्, मेरो भनाइप्रति रिसले चुर भएका गीर्वाणले सैनिक शैलीमा सिपाहीलाई गोली भर्ने आदेश दिए । त्यसपछि खटयाकखुटुक्क गरी गोली भरेको आवाज सुनेपछि मर्न सजिलो होस् भनी आवाज आएतिरै मेरो छाती उचाली लामो सास फेरेर सासलाई माथि तानी रोकेर बसिरहेँ । अब गोली छुट्यो–छुट्यो जस्तो हुँदाहुँदै आठ–दश चोटी लामो सास फेर्दै रोक्दै गरेँ । गोलीको प्रतीक्षामा छाती तेस्र्याएर पर्खिबसेँ, गोली चलेन । आज भने अवश्य मार्छन् नै होला, केवल केही चाँजोपाँजो नमिलेर ढिलो गरेका होलान् भनी पीडादायी मृत्युको प्रतीक्षा गर्दै बसेँ । यत्तिकैमा केही सैनिक आफूतिर बढ्दै आएको आवाज सुनेँ । मनमा लाग्यो गोली चलायो भने मानिसहरूले थाहा पाउलान् भनेर अब मलाई खुकुरीले काटेर मार्ने पो हुन् कि भनी ठानेँ । कस्तो अचम्म ! मार्न अघि बढेका यमदूतले त आँखाको पट्टी र मुखुन्डोबाहेक रूखमा बाँधेका सबै बन्धन फुकाए । मैले ‘के गरेको, मलाई किन नमारेको’भन्दा ‘चुप लाग्’ भनी हपारेर डोर्‍याउँदै मोटरमा चढाए र अघि बढे । पौने घन्टा जति हिँडेपछि मोटर रोकियो र मोटरभित्रै मुखुन्डो र आँखाको पट्टी खोली त्यही बरफबागको त्यही कोठामा छाडेर गए । यसरी म दुई–दुईपटक मृत्युनजिक पुगी फर्केर आएँ । मेरो मनभित्र कुरा खेलिरहेको थियो, ‘आखिर के–कति कारण रहेछ, मलाई यी आततायीहरूले यस्तो शारीरिक र मानसिक यातना दिएको ? मार्न त अवश्य नै मार्छन्, एक–दुई दिनको ढिलो–चाँडो मात्र न हो ।

 धीरेन्द्र सरकारजस्तो राजपरिवारका सदस्यलाई आँच आउने गरी बयान गराएर सरकारको सेवामा कार्यरत भरत गुरुङलाई मेरै अगाडि मारिसके । दुईवटा गोली लाग्दा निस्केको उनको दर्दनाक आवाज मेरै कानले सुनेको थिएँ । मलाई पनि राजपरिवारसँग जोडेर बयान गराउन हरप्रयास गरेका छन् । त्यसैसँग सम्बन्धित रहेर प्रश्नहरू सोध्ने र केरकार गर्ने गरेका छन्, त्यसैले मलाई पनि अवश्य मार्छन् ।’ दिन मात्र कहिले हो भनी म मृत्युको पर्खाइमा रहिरहेको थिएँ । त्यसबाहेक मेरो मन मस्तिष्कले अरू कुरा सोच्नै सकेको थिएन । मेरो आँखाले केवल अगाडिको मृत्युलाई मात्र देखेको थियो । पहिला–पहिला त यातना खप्न नसक्दा आत्महत्या गरेर यो कष्टबाट पार हुने उपाय खोजेको थिएँ । यसरी दुईपटक मृत्युकै मुखमा पुगेर फर्किएपछि ‘यदि आफ्नो समय सकिएको छैन भने नमरिँदो रहेछ’ भन्ने यकिन भयो । यसले भित्रभित्रै अब म बाँच्छु भन्ने आत्मबल बढेर आयो । कथंकदाचित् भाग्यले पल्टा खाई यहाँबाट उम्कन पाएँ भने मलाई र अन्याय तथा षड्यन्त्र गरी फसाउनेहरूको सुकिलो र इज्जतदार अनुहारको नकाब उतारेर वास्तविकता पर्दाफास गरी मेरा सन्तति र समाजसामु ल्याउनेछु भनी मनमनै अठोट गरेको थिएँ । तर, यतिखेर यो कृति प्रकाशन हुनुअगावै मेरो जीवनमा भुमरी ल्याउने मुख्य रचनाकार (खेलाडी)हरू कतिले त यस धर्तीबाट बिदा लिइसकेका छन् । त्यसैले अब जो–जो पात्रहरू जीवित हुनुहुन्छ, उहाँहरूका लागि पनि हो यो मेरो कथा र बेथाको उपहार । (यो सामाग्रि पूर्व प्रहरी प्रमुख डीबी लामाको किताब ‘संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू‘ बाट लिएको हो । दोस्रो फोटो सम्बत डटकमबाट लिएको हो ।)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv