Latest Updates :

पढाइदिन्छु भन्दै छोरो विदेश पुर्‍याए’


SHARE THIS POST :

खिलक बुढाथोकी/विजय यादव काठमाडौं- पतिको हत्याछि उनको जीवनमा एउटै मात्र सहारा थियो छोरो । आमाजूको ‘दया’ ले विदेश पुगेर पढिरहेको । उसले पनि धर्ती छाडेर गएको खबर सुन्दा उनी छाँगाबाट खसेझैं भइन् । सुरुमा त विश्वासै लागेन । आमाजूले नै सुनाएपछि पत्याउनुको विकल्प रहेन । पीडाको घाउ पुनः बल्झियो । जीवनमा एकपछि अर्काे रहस्यमय नाटकका शृंखलाझैं शोकले घेरिएकी लापु, गोरखाकी लीला गुरुङ अहिले न्यायको खोजीमा भौंतारिँदै राजधानी आएकी छन् । ... ... ... ०५८ फागुन १२ । त्यो अध्याँरो दिन लीला कहिल्यै बिर्सन सक्दिनन् ।

 त्यही दिन हो उनका पति सन्तबहादुर मारिएको । माओवादी विद्रोहको जगजगी, कांग्रेस समर्थक सन्तबहादुरको हत्या भयो । पाँच वर्षको छोरो च्यापेर उनी रुनसम्म रोइन् । पीडामा थोरै भए पनि मलम लिएर उभिइन् आमाजू चिम्सी गुरुङ । ‘तिमी घरमा आमा (सासू) स्याहारेर बस, भदालाई मसँगै राखेर पढाइदिन्छु, यसलाई ठूलो मान्छे बनाइदिनुपर्छ,’ आमाजूको प्रस्ताव लीलाले नकार्न सकिनन् ।

 भविष्य हेरेर छोरो (हिरामान) आमाजूको हातमा सुम्पिइन् । ‘जिन्दगीको सहारा भनेकै त्यही छोरो थियो,’ स्पेनिस भाषा अनुवादक खोज्दै विश्वभाषा क्याम्पस पुगेकी लीलाले सोमबार नागरिक संवाददातासँग दुःख बिसाइन्, ‘पढेर, ठूलो मान्छे बनेर आउला भनेको त विदेशमै मृत्यु भएको खबर पो आयो ।’ गोरखा सदरमुकाम बसेर राजनीतिमा सक्रिय चिम्सीले हिरामानलाई आफूसँगै राखेर पढाइदिन्छु भन्दै ल्याएकी थिइन् । धेरै समय आफूसँग भने राखिनन् । द्वन्द्वपीडित बालबालिकालाई पढाउने संस्था खोज्दै उनले काठमाडौं पठाइन् ।

हिरामानसहित अन्य ६ बालबालिका प्रशासनबाट गरिब र द्वन्द्वपीडितको सिफारिस बनाएर काठमाडौं ल्याइए । हिरामानलाई काठमाडौं, धापासीस्थित असहाय बालबालिका शिक्षा केन्द्रमा राखियो । केन्द्रले कानुनविपरीत स्पेनिसलाई धर्मपुत्रका रुपमा जिम्मा लगाएपछि हिरामान स्पेन पुगे । सोझी लीलालाई यो केही थाहा थिएन । ‘के कारण, कसरी मृत्यु भयो भनेर खोज्दै जाँदा केन्द्रले धर्मपुत्र बनाएर स्पेन पठाएको रहेछ,’ उनका आँखा शोकजलले टिलपिलाउँदै थिए, ‘मलाई त विदेश पढ्न पठाएको भनेर झुक्याइयो, यसरी धर्मपुत्र बनाएर पठाउने थाहा पाएको भए त दिने नै थिइनँ ।

जसरी हुन्छ, आफैं पढाउथेँ ।’ त्यसो त हिरामानलाई आमाको अनुमतिमै पनि धर्मपुत्र बनाउन मिल्दैन । किनकि, कानुनले एक छोरा वा छोरी हुनेलाई धर्मपुत्र पठाउन बन्देज गरेको छ । मुलुकी ऐन, २०२० को महल १२ मा एक मात्र छोरा वा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री दिन हुँदैन भन्ने उल्लेख छ । हिरामान लीलाको एक मात्र सन्तान हो । धर्मपुत्र वा पुत्री दिन अनाथ हुनुपर्ने वा बुबाआमाले स्वेच्छाले त्यागेको हुनुपर्ने कानुनमा व्यवस्था छ । यो कानुन लीलाको हकमा लागू हुँदैन । न स्वेच्छाले त्यागेकी हुन्, न अनाथ नै हुन् । धर्मपुत्र लिने÷दिने स्वीकृति पत्रमा स्पेनका जोज माल दे ला कल्ले चपारो र केन्द्रकी सञ्चालिका सरस्वती श्रेष्ठको हस्तक्षर छ ।

केन्द्रले आमा र फुपूसँग सम्पर्क रहँदारहँदै बच्चालाई अनाथ बनाएर विदेश पु¥याएको देखिएको छ । लीला भने फुपू चिम्सी र केन्द्र अध्यक्षकै मिलेमतोमा धर्मपुत्र बनाएर पठाएको हुन सक्ने बताउँछिन् । अन्तरदेशीय धर्मपत्र, धर्मपुत्री व्यवस्थापन विकास समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले पनि कानुन प्रावधान नपु¥याई पठाउन नमिल्ने बताए । ‘धेरै प्रक्रिया गरेपछि मात्र धर्मपुत्र बनाएर लैजान मिल्छ,’ उनले भने, ‘कानुनी प्रक्रिया पु¥याएरै आएकाले मात्रै स्वीकृति पाएको हो । केन्द्रले बच्चालाई अनाथ बनाएर सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको हुनुपर्छ ।’ लीलाले फुपूसमेत मिलेको आशंका गरे पनि चिम्सीले धर्मपुत्र बनाएर पठाएको बारे आफूलाई कुनै जानकारी नभएको दाबी गरिन् । हिरामानलाई केन्द्रसम्म आफैंले ल्याएको भने उनले स्विकारिन् ।


 ‘गोरखाबजारमा पढाइरहेकी थिएँ भदालाई,’ चिम्सीले भनिन्, ‘द्वन्द्वपीडितलाई पढाउने व्यवस्था हुन्छ भनेपछि बुबाको मृत्यु भएको रिपोर्ट र जिविसबाट आर्थिक अवस्था कमजोर भएको रिपोर्ट बनाएर केन्द्रमा पढाउन ल्याएकी हुँ ।’ चिम्सीका अनुसार निःशुल्क पढाउने व्यवस्था हुने भएपछि हिरामानलगायत गाउँका ६ जना बच्चा केन्द्रमा ल्याइएको थियो । आफू र परिवारलाई झुक्याएर केन्द्रले धर्मपुत्र बनाएर पठाएको उनको दाबी छ । ‘हामीलाई त पढ्न पठाउन लागेको भनियो,’ नेपाली कांग्रेस तरुण दल जिल्ला सदस्यसमेत रहेकी चिम्सीले भनिन्, ‘पढ्न विदेश पठाइदिने भनेपछि हामीलाई पनि खुसी नै लागेको थियो ।’ यता, केन्द्रका कार्यक्रम निर्देशक लक्ष्मण श्रेष्ठले हिरामानको स्पेनमै मृत्यु भइसकेको पुष्टि गरे ।

 ‘कानुनअनुसार नै केन्द्रले हिरामानलाई धर्मपुत्र बनाएर स्पेन पठाएको हो,’ अध्यक्ष पुत्र लक्ष्मणले नागरिकसँग भने, ‘६÷७ महिनाअघि बस दुघर्टनामा हिरामानको मृत्यु भएको खबर आयो ।’ केन्द्रका अनुसार हिरामानलाई धर्मपुत्र बनाएर २०६० साल चैतमा स्पेन पठाइएको थियो । निर्देशक श्रेष्ठसँग कागजात माग्दा स्पेनिस र सरस्वतीले हस्ताक्षर गरेको पत्र दिए । अन्य कागजात मन्त्रालयमै रहेको र आफूलाई धेरै जानकारी नभएको उनले बताए । मन्त्रालयले भने यस्तो कागजपत्र बच्चाले मागेको खण्डमा मात्र उपलब्ध गराउन सकिने कानुनी व्यवस्था रहेको बताएको छ ।

धर्मपुत्र, धर्मपुत्री विदेश पठाएबापत पहिलेपहिले पैसाको ठूलै चलखेल हुने गरेको समितिका अध्यक्ष श्रेष्ठले बताए । ‘बालगृह र दाताको सिधै सम्पर्क हुन्थ्यो,’ श्रेष्ठले भने, ‘त्यही विकृति रोक्न २०६७ मा समिति बनाएर नयाँ व्यवस्था लागू गरेका हौं ।’ उनका अनुसार नयाँ व्यवस्थापछि धर्मपुत्र वा पुत्री बनाएर विदेश पठाउनेको संख्या धेरैले घटेको छ ।

नयाँ व्यवस्थामा कुनै बालगृहले बच्चा धर्मपुत्र वा पुत्री बनाएर पठाएबापत ५ हजार डलर मात्र लिन पाउने व्यवस्था छ । अहिले यसरी धर्मपुत्र वा पुत्री बनाएर पठाउन १५ वटा बालगृहलाई मात्रै अधिकार दिइएको छ । त्यसभित्र केन्द्र पनि पर्छ तर नयाँ व्यवस्था लागू भएपछि केन्द्रबाट भने धर्मपुत्र वा पुत्री बनाएर विदेश पठाएको रेकर्डमा देखिँदैन । केन्द्रले छोरालाई चाहेका बेला भेट्नसमेत नदिएको लीलाले गुनासो गरिन् । ‘

एकपटक काठमाडौं आएर केन्द्रमा छोरो भेटेँ,’ उनले भनिन्, ‘मुखभरि घाउ आएको रहेछ, यस्तो देखेपछि चिन्ता लागेर आफैं लैजान्छु भनेँ तर केन्द्रले दिएन, आमाजूले पनि बच्चा राम्रो ठाउँमा राखेको छ, ल्याउनुपर्दैन भनेपछि फर्किएँ ।’ त्यसपछि उनी रोजगारको सिलसिलामा विदेश गइन् । विदेशमै उनले छोरो स्पेनमा दुर्घटनामा परेर मरेको हल्ला सुनेकी थिइन् । स्वदेश फर्केपछि केन्द्रमा गएर बुझ्दा खबर सत्य रहेछ ।

 लीलाले बच्चा बितेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा न्याय पाऊँ भन्दै उजुरी गरिन् तर सुनुवाइ भएन । ‘पुलिसले मिल्न मात्र दबाब दिएपछि काठमाडौं आएकी हुँ,’ लीलाले भनिन्, ‘न्याय पाउँछु भन्ने आस छ ।’ अहिले उनी कहिले बालाबालिका खोजतलास केन्द्र त कहिले स्पेनबाट पठाएको रिपोर्ट अनुवाद गर्न भौंतरिइरहेकी छन् । अनुवादपछि उनी पुलिस रिपोर्ट गर्ने तयारीमा छिन् । स्पेनबाट आएको छोराको मृत्यु सम्बन्धी प्रहरी रिपोर्ट अनुवाद गराउन विश्वभाषा क्याम्पस आएकी लीला गुरुङ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv