काठमाडौं १९ कार्तिक | सत्तारुढ कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको गोवामा आज (शुक्रबार) बाट हुन लागेको ‘इण्डिया आईडियाज कन्क्लेभ- २०१६’ मा तिव्वती नेताहरुसँग एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन् ।
‘एक चीन नीति’ अख्तियार गरेको नेपाल र नेपाली नेताहरुले स्वतन्त्र तिव्वत पक्षधर गतिविधिमा आफूलाई असंलग्न राख्दै आएकोमा पूर्वप्रधानमन्त्री देउवाको गोवा–सहभागितालाई कुटनीतिक वृत्तमा आश्चर्यजनक मानिएको छ ।
भारतको सत्तारुढ भाजपानिकट थिंकट्यांक ‘इण्डिया फाउन्डेशन’ ले आइतबारसम्म आयोजना गर्ने तीनदिने कन्क्लेभलाई तिब्बतका निर्वासित नेता दलाई लामाले भिडियो सम्बोधन गर्ने कार्यक्रम छ भने निर्वासित ‘तिव्वती सरकारका प्रधानमन्त्री’ लोब्साङ साङ्गे त्यहाँ देउवासँगै प्रत्यक्ष सहभागी हुँदैछन् ।
केही महिनायता चीनसँग सम्बन्ध चिसिदै गएपछि भारतले तिब्बती स्वतन्त्रता पक्षधर गतिविधिलाई प्रश्रय दिन थालेको छ । यही पृष्ठभूमिमा गोवामा आयोजित कार्यक्रममा तिब्बती पृथकतावादी नेताहरुसँगै कांग्रेस सभापति देउवालाई पनि आमन्त्रण गरिएको हो । त्यहाँ उनको सहभागिताले नेपालको सत्ता सञ्चालकसमेत रहेको सबभन्दा ठूलो दलका सभापति विवादमा तानिने र नेपाल–चीन सम्बन्धमा समेत यसले असर पार्नसक्ने जानकारहरुको भनाइ छ ।
‘इण्डिया एट सेभेन्टी: डेमोक्रेसी, डेभलपमेन्ट एन्ड डिसेन्ट’ बिषयक उक्त कन्क्लेभमा भाजपा अध्यक्ष अमित शाह, भारतका अर्थमन्त्री अरुण जेट्ली, रक्षामन्त्री मनोहर परिकर, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, विदेश राज्यमन्त्री एमजे अकवरलगायतले पनि बोल्नेछन् । इण्डिया फाउन्डेसनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण अवसरमा काठमाडौंमा पनि बुधबार र बिहीबार दुईदिने सेमिनार आयोजना गरेको थियो, जसमा भाजपा महासचिव राम माधव पनि सहभागी भए ।
गोवाको कार्यक्रम सकेर देउवाले दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने जनाइएको छ । यसका लागि उनी शुक्रबार सबेरै भारततर्फ प्रस्थान गरिसकेका छन् । इकान्तिपुर बाट

Post a Comment