Latest Updates :

श्रीमतीलाई डोकोमा बोकेर अस्पताल पु¥याएँ


SHARE THIS POST :

(शुरबहादुर सिंह)
जुम्ला। यतिबेला हुम्ला जिल्ला दार्मा–१, गर्खागाउँका दलवीर नेपालीको अनुहारमा न चमक छ, न त उनको आङमा घाम नै लागेको छ । उनकी श्रीमती टुल्की नेपाली पाठेघरको मुखको क्यान्सरबाट सख्त बिरामी छिन्, तर उपचार गर्ने उनको गोजीमा तीनसय रुपैयाँबाहेक थप कौडी पैसा छैन ।

आङ खस्ने समस्याबाट हिँड्नै नसक्ने भएपछि उनले एक हप्ताअघि हुम्लाबाट तीन दिनको बाटो डोकोमै बोकेर ३६ बर्षिया श्रीमती टुल्की नेपालीलाई उपचारका लागि मुगु अस्पतालमा पु¥याए । मुगु अस्पतालले यहाँ उपचार हुन नसक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिफारिस ग¥यो । श्रीमतीको उपचार हुने आशाले पुनः उनले मुगुबाट दुई दिन लगाएर उपचारका लागि जुम्ला पु¥याए ।

प्रतिष्ठानमा उपचार गर्दा उनको पाठेघरको मुखमा क्यान्सर भएको मेडिकल डाइरेक्टर डा निरेश थापाले खुलासा गर्नुभयो । प्रतिष्ठानमै उपचार हुने आशा बोकेका दलवीरलाई डा थापाले उपचारका लागि भरतपुर, चितवन लानुपर्ने सल्लाह दिँदै गर्दा छाँगाबाट खसे झँै भएको उनले बताए ।“श्रीमतीको उपचार गरौँ पैसा छैन, नगरौँ जीवन सङ्गिनीबाट विछोड हुने चिन्ताले पिरोलिरहेको छ”, ५१ बर्षीय नेपालीले भने । निकै भक्कानिएर उनले आफूजत्ति अभागी संसारमा अरू कोही नरहेको पीडा व्यक्त गरे ।

यता टुल्की नेपाली सन्तानको मुख देख्न नपाइने हो कि भन्ने पीरले बरबर आँसु झारिरहेकी थिइन् । “घरबाट छुटेको नौ दिन भयो, लालाबालाहरुले के खाए होलान्, यदि म बाँचिन भने उनीहरुको हालत के होला,” उनले रुँदै भनिन् ।“बच्चा आँखा वरिपरि आउँछन्, तिनकै झझल्कोले झनै पीडा बढेर आउँछ । भरतपुर कहाँ हो थाहा छैन, त्यहाँ हाम्रो उपचार गरेर कसले ज्यान बचाउला ?” निराश मुद्रामा पाँच सन्तानकी आमा उनले भनिन् । उनका यी यस्तै भावुक शब्दले अस्पताल आसपासका बिरामी कुरुवालाई पनि स्तब्ध बनाएको थियो । उनका तीन छोरी र दुई छोरा छन् भने सबैभन्दा कान्छी छोरी सात बर्षकी छन् ।

नेपाली दम्पतीले आफूहरुको नाउँमा एक कित्ता जग्गासम्मको लालपूर्जा नभएको जनाए । बाबुको सम्पत्ति दाइको नाममा भएको र सामान्यतः उहाँले दिएको एकभारी (करिब ५० पाथी फल्ने) बराबरको जग्गा उपभोग गर्दै आएको र त्यही पनि पोहोरको बाढीपहिरोले घरजग्गा नै बगाएर लगेपछि अहिले गाविस भवनमा आश्रय लिएको उनीहरुले बताए । नेपाली दम्पतीले भने, “घरको बार्षिक उत्पादन (२० केजी कोदो र १२ केजी मकै) ले एक महिनाको छाक टार्न पनि धौ–धौ हुन्छ र बाँकी जीवन ज्यालादारीबाटै निर्वाह गर्दै आएका छौँ ।”

मेडिकल डाइरेक्टर डा थापाको पहलमा प्रतिष्ठानका कर्मचारीबाट रु २० हजार उठाएर नेपाली दम्पतीलाई भरतपुर जाने चाँजोपाँजो मिलाइएको डा कमल थानीले जनाउनुभयो ।गरिबीका कारण उपचार गर्नबाट वञ्चित नेपाली दम्पतीले आर्थिक सहयोगका लागि मोबाइल नं ९८६८९४०४९६ मा सम्पर्क गरी ज्यान बचाई दिन सबैसंग हार्दिक अनुरोध गरेका छन् । आजै बिहान ५ः३० बजे उनीहरु उपचारका लागि जुम्लाबाट भरतपुर, चितवन हान्निएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv