लाइट नेपाल
काठमाडौं १२ मङ्सिर – भाउ घट्नु र बिहेको सिजन पनि भएकाले अहिले सुन किन्नेहरुको भीड बढेको छ। तुलनात्मक रुपमा यो बेला सुनको कारोबार उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ केही सस्तिएर प्रतितोला ५४ हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। यो मूल्य ६ महिनायताकै सस्तो हो। तर सुन किन्ने बेलामा ग्राहकले पनि केही सावधानी भने अपनाउनैपर्छ।
यदि सुन किन्दा ठगिनुभयो भने तपाईलाई सुनको मूल्य घट्नुले कुनै अर्थ राख्दैन। त्यसकारण सुन किन्दा ग्राहकले पनि सावधानी अपनाउनुपर्नेमा स्वयम् व्यवसायीहरुको जोड छ।
पछिल्लो समय शहरी केन्द्रमा मात्रै नभई कुना काप्चामा पनि सुन पसलहरु खुल्न थालेका छन्। यसरी कुना काप्चामा खुलेका कतिपय सुन पसलहरु दर्ता नभईकन खुलेको र करको दायराबाहिर रहेको पाइएको छ।
तथ्याङ्कअनुसार नेपालभर २१ हजार सुन पसल मात्रै दर्ता भएर संचालनमा आएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघकै भनाईलाई आधार मान्ने हो भने पनि ३ हजारजति सुन पसलहरु दर्ता नभइकन खुलेको अनुमान छ।
पछिल्लो समय सहरका कुनाकाप्चामा सुन पसल खुल्ने प्रवृति बढेको भन्दै महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुरक्षाका दृष्टिकोणले यो उपयुक्त नभएको बताउँछन्। ‘कुना काप्चामा खोलिएका सुन पसलले स्थानीयलाई सजिलो त होला तर ति सबै व्यवसायीहरु करको दायरामा आएको पाइँदैन र सम्वन्धित निकायले समेत करको दायरामा ल्याउन सकेको देखिँदैन’ शाक्यले भने।
प्यान, भ्याट केहीमा पनि पसल दर्ता नगरेपछि राजश्व रकम तिर्न नपर्ने हुँदा व्यवसायीहरु कुना काप्चातिर लागेको पनि हुन सक्ने उनको भनाई छ। कुना काप्चामा रहेका कतिपय पसलहरुले प्रदान गर्ने गहनाको डिजाइन र क्वालिटी पनि कमजोर हुने गरेको शाक्यले बताए।
छलकपट गर्दा सुनमा बढी फाइदा हुने भएकाले पनि पछिल्लो समय केही व्यवसायीले फाइदा खोजेर केन्द्रमा भन्दा कुना काप्चामा सुन पसल खोल्न हौसिएको उनले बताए। सुरुमा काम सिक्ने, दुई चार महिना काम सिकेपछि घरका परिवारका दुई चार तोला गहना राखेर पनि सुन पसल खोल्नेहरु समेत आफूले देखेको उनले सुनाए।
त्यसकारण पनि ग्राहकले सुन किन्दा निकै सावधानी अपनाउनुपर्नेमा उनको जोड छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य विश्वासिलो एउटै पसलमा मात्रै सुन किन्न सुझाव दिन्छन्।
सुन किन्ने बेलामा बिलमा पनि ध्यान दिनु पर्दछ। कति तोलाको छ, भ्याट नम्बर छ कि छैन, पसलको नाम छ कि छैन, जर्ति र ज्याला कति लेखिएको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
यदि तपाईले सुन किन्दा भ्याटबिल नलिएमा जुनसुकै बेला पनि फँस्न सक्नुहुन्छ। तसर्थ बिललाई जतन गरेर राख्नु पनि उत्तिकै आवश्यक छ। बजारमा सुनको आजको भाउ के छ? आफूले भने अनुसारको परिणामको छ कि छैन यस्ता कुरामा ध्यान दिनु आवश्यक छ।
सुन किनेपछि अन्य पसलमा गएर तौल जाँच्दा झन् राम्रो हुन्छ। यदि सुनमा कुनै कैफियत भेटिएमा प्रत्यक्ष सुनचाँदी व्यवासायी महासंघलाई पनि जानकारी गराउन सक्ने छन्। सुनमा क्यारेटको मात्राबाट पनि ग्राहक ठगिने गरेको पाइन्छ। २४ क्यारेट भनेर २३ क्यारेटको सुन तपाईलाई हात लाग्यो भने तपाई ठगिनुभयो।
क्यारेटले वास्तविक सुनको मात्रालाई जनाउँछ। पछिल्लो समय १८ क्यारेटको सुन बेच्ने र किन्नेहरु पनि छन्। व्यवसायीहरुका अनुसार २४ क्यारेट सुनमा ९९ दशमलव ९ प्रतिशत सुनको मात्रा हुन्छ । २३ क्यारेटमा ९५ दशमलव ८३ प्रतिशत, २२ क्यारेटमा ९१ दशमलव ६६ प्रतिशत, १८ क्यारेटमा ७५ दशमलव र १४ क्यारेटमा ५८ दशमलव ३३ प्रतिशत सुनको मात्रा हुन्छ।
त्यस्तै १० क्यारेटमा ४१ प्रतिशत, ९ क्यारेटमा ३७ प्रतिशत र ८ क्यारेटमा सुनको मात्र ३३ प्रतिशत मात्रा हुने व्यवसायीले बताए। नेपालमा अहिले २४ र २२ क्यारेट सुन बढी बिक्ने व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए।
त्यसकारण सुन किन्दा क्यारेटको मात्रालाई विशेष ख्याल गर्नुहोस्। त्यस्तै सकेसम्म सुनमा कम जर्ति प्रयोग गर्नुहोला किनकि तपाईले सुन पुनः पछि बेच्नुपरेमा जर्ति धेरै भएमा बढी नोक्सान पर्न जान्छ।
सुन पसलेहरुले सुनका गहना बेच्ने बेलामा जर्तिको रकम पनि जोडेर बेच्ने गर्दछन्। तर सोही गहना उपभोक्ताले विक्री गर्ने बेलामा भने जर्तिको मूल्य पाउँदैनन्। विभिन्न सुन पसलेहरुको जर्तिको फरक फरक रकम काट्ने तरिकाबाट पनि उपभोक्ता मारमा पर्ने गरेको पाइन्छ।
सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले महासंघले व्यवसायीलाई १० प्रतिशत सम्म जर्ति काट्न छुट दिएको बताउँछन्।उनले भने ‘उत्पादनका समयमा सुनको केही मात्रा नष्ट हुन जान्छ त्यसैको क्षतिपुर्तिको लागि हामीले जर्ति काट्ने गरेका हुन्छौँ। जसका कारण हामीले खरिद गर्ने बेलामा सुनको मात्रै पैसा ग्राहकलाई दिने गर्दछौँ।’
पत्थर राखेका गहनामा सुनको जर्ति बढी काटिने शाक्यको भनाई छ। पत्थर राखेका गहना निर्माणको क्रममा सुनको मात्रामा धेरै नष्ट हुने हुँदा जर्तिको मात्रा धेरै काटिने उनले बताए। औंठी, नेकलेस जस्ता गहना निर्माण गर्दा सुनको मात्रा कमै मात्र क्षति हुने भएका कारण यस्ता गहनामा कम जर्ति काटिने उनको भनाई छ।
सरकारले उचित मापदण्ड नबनाएका कारण यसमा एकरुपता ल्याउन नसकेको शाक्यको भनाई छ। सुनको गहना निर्माण गर्दाको ज्यालाको भाउ समेत भिन्न भिन्न देखिन्छ। त्यसैले ज्याला कति लाग्दछ भन्ने सम्वन्धमा पनि ग्राहक चनाखो हुनु पर्दछ। सोतो पाटि बाट
Post a Comment