Latest Updates :

६२ वर्षपछि नेपाली फुटबल इतिहास रच्न आतुर, आज सोलिडारिटी कपअन्तर्गत फाइनलमा मकाउसँग भिड्दै, यस्तो छ मकाउ र नेपाल बिचको इतिहास


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं ३० कार्तिक – सन्  १९५४ मा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यता लिएपछि नेपालले एएफसीले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता जितेको छैन। तर, नेपाली फुटबल मलेसियाको कोचिङमा आयोजना भइरहेको एएफसी सोलिडारिटी कपको उपाधि जितेर ६२ वर्षपछि नयाँ इतिहास रच्ने अवसर नजिक छ।

नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबार साँझ सवा ५ बजे फाइनलमा करिब २० वर्षदेखिको प्रतिद्वन्द्वी मकाउविरूद्ध भिड्दैछ। नेपाल र मकाउले यसअघि पाँच वटा खेल खेलिसकेका छन्। जसमा नेपाल नै बलियो देखिन्छ। मकाउविरूद्ध नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ। यस अवधिमा नेपालले १५ गोल गरेको छ भने ७ गोल मात्र खाएको छ।

सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई टाइब्रेकरमा ३–० ले हराएपछि यतिबेला नेपाली टिमको मनोबल उच्च छ। नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि चुमिसकेको छ। वर्षको सुरुवातमा बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुदको उपाधिपछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो। मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो। नेपाली टिमबाट मंगलबार उपाधिको धेरै आशा गरिएको छ। अहिले नेपालका तीन जनै स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तीमगर लयमा देखिन्छन्। मिडफिल्डमा हेमन गुरुङ र अन्जन बिष्ट जम्नु पनि नेपालको लागि सकारात्मक सन्देश हो। लाओसलाई पराजित गरेको खेलमा दुबैले आफ्नो भूमिकालाई स्थापित गरेका थिए। -

तर, यति हुँदाहुँदै पनि फाइनलमा नेपालको जितमा सबैभन्दा ठूलो तगारो मकाउका ५ फिट ११ इन्च अग्ला स्ट्राइकर निकी टोराओ बन्न सक्नेतर्फ जापानी प्रशिक्षक क्योटोको कोजीले सबै खेलाडीलाई अवगत गराइसकेका छन्। २८ वर्षीय टोराओ दक्षिण अफ्रिकाको जोहानेसवर्गमा जन्मिएका स्ट्राइकर हुन्। उनले प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेका छन्। उनको विशेषता भनेको हेडिङ र लामो प्रहार हो। नेपालको खेलमा सबैभन्दा ठूलो समस्या ‘एयर बल’ मा देखिन्छ। ‘एयर बल’ मा नेपाली डिफेन्डरले राम्रो ‘जज’ गर्न सकिरहेका छैनन्। शनिबार लाओसविरूद्ध २–१ गोलको अग्रता बनाएपनि नेपालले अतिरिक्त समयको खेलसकिन ४ मिनेट अगाडि गोल खानु परेको थियो। त्यसको मुख्य कारण लाओसका स्ट्राइकर झाइसोङ्खाम चाम्पाथोङलाई ‘एयर बल’ मा रोक्न नसक्नु नै थियो। चाम्पाथोङले नेपालविरूद्ध दुबै गोल हेडिङले गरेका थिए। नेपाली डिफेन्डरमा अर्को ठूलो समस्या विपक्षीहरूले कर्नर क्षेत्रबाट क्रस गरेको बलमा ‘जज’ गर्न नसक्नु पनि देखिएको छ। फेरि ‘टाइट मार्किङ’ नहुँदा विपक्षीहरूले नेपाली क्षेत्रमा मजाले बल खेल्ने अवसर जुटाइरहेका छन्। त्यसैले फाइनलमा प्रशिक्षक कोजी डिफेन्डर र मिडफिल्डबीचको दुरीलाई कम गर्ने प्रयासमा छन्। उनले अभ्यासका क्रममा मकाउका सम्भावित नायकलाई कडा ‘मार्किङ’ गर्न निर्देशन पनि दिएका छन्। ‘मैले लाओसविरूद्धको खेलमा पनि चाम्पाथोङलाई चेप्न भनेको थिएँ।

 अहिले टाराओलाई विशेष ध्यान दिनु भनेको छुँ,’ नेपालका जापानी प्रशिक्षक कोजीले भने। फाइनलमा नेपालका लागि टोराओ मात्र होइन, हङकङ पिगासस क्लबबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षीय अर्का स्ट्राइकर लियोङ का हाङ पनि खतरनाक साबित हुन सक्छन्। ५ फिट साढे १० इन्च अग्ला यी स्ट्राइकरले २२ खेलमा १० गोल गरिसकेका छन्। उनले यो प्रतियोगितामा निर्धारित समयमा २ गोल र ब्रुनईलाई टाइब्रेकरमा हराउँदा १ गोल पेनाल्टीमार्फत गरेका थिए। राजनीतिक हस्तक्षेपका कारण दुई वर्षअघि फिफाको प्रतिबन्धमा परेको मकाउको मिडफिल्ड यतिबेला अनुभवी ३२ वर्षीय कप्तान चेयाङ चेङ इयोङ पाउलोको हातमा छ। मकाउले यस वर्ष खेलेको १० खेलमध्ये ४ मा विजयी ३ खेल ड्र र यो प्रतियोगितामा भाग लिन आउनुपूर्व चिनियाँ ताइपेईसँग खेलेको मैत्रीपूर्ण खेलमा ३–२ ले पराजय भोगेको थियो। मकाउजस्तै नेपाल पनि प्रतियोगितामा अपराजित छ। अपराजित हुँदै उपाधि जित्ने सपना बुनेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका स्ट्राइकरत्रय भरत, नवयुग र विमलका लागि मकाउका २३ वर्षीय डिफेन्डर चान मानको मजबुत पर्खाल भत्काउनु मुख्य उद्देश्य हुनेछ। चान मान दुई वर्षअघि पोर्चुगलको ‘ए’ डिभिजन क्लबबाट ‘रेलिगेट’ भएको ओल्हानेन्सेबाट व्यावसायिक फुटबल खेल्ने गर्छन्। मकाउका प्रशिक्षक टाम इयाओ सानले पनि नेपाल उत्कृष्ट टिम भएको स्वीकार गरिसकेका छन्। नेपालले प्रतियोगिताको ३ खेलमा निर्धारित समयमा कूल ५ गोल गरेको छ भने २ गोल खाएको छ। मकाउले ४ खेलमा ७ गोल गरेको छ भने ४ गोल खाएको छ। नेपाली स्ट्राइकरका लागि सबैभन्दा ठूलो अवसर मकाउले प्रतियोगितामा खेलेको ४ खेलमै आफ्नो प्रतिद्वन्द्वीसँग गोल खाएको छ। नेपाली टिममा लाओसविरूद्धको सेमिफाइनलबाहेक अन्य खेलमा डिफेन्स र गोलरक्षकले विपक्षीहरूलाई गोल गर्ने अवसर दिएका छैनन्। त्यसैले कोजीले फाइनल जित्न त्यति सहज नभए पनि सम्भावना बलियो रहेको बताएका छन्। उनले मंगलबारको खेलमा जितको आधार नै डिफेन्डरले तयार पार्ने प्रतिक्रिया दिएका छन्। ‘डिफेन्डरले राम्रो खेले भने हाम्रो जित्ने आधार बढेर जानेछ,’ उनले भनेका छन्।

 सेतो पाटि बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv