Latest Updates :

भक्तपुरमा आठ हजार यौनकर्मी महिलाः १० हजार बढी ग्राहक


SHARE THIS POST :

भक्तपुरमा आठ हजारको हाराहारीमा यौनकर्मी महिला रहेको एक तथ्यांकले देखाएको छ । यौनकर्मी महिला तथा त्यसका ग्राहकको क्षेत्रमा कार्यरत कम्युनिटी एक्सन सेन्टर (सीएसी) नेपालले जिल्ला एड्स समन्वय समिति (ड्याक) भक्तपुरमा दिएको प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख गरिएको हो । त्यस्तै उक्त प्रतिवेदनमा ती यौनकर्मी महिलाका १० हजारभन्दा बढी ग्राहक रहेको उल्लेख रहेको ड्याक भक्तपुरका संयोजक शंकर बस्नेतले जानकारी दिए । उनका अनुसार एचआइभी एड्स संक्रमणका दृष्टिले यौनकर्मी महिला बढी जोखिममा छन् । अघिल्लो वर्ष ३९ जना यौनकर्मी महिलामा एचआइभी एड्स पोजिटिभ पुष्टि भएको यस वर्ष तीनजना थपिएको उनले जानकारी दिए । ‘यस वर्ष एक हजार तीन सय ५५ जनाले एचआईभी परीक्षण गराएकोमा तीन जना यौनकर्मी महिलामा पोजिटिभ देखिएको थियो’, संयोजक बस्नेतले भने, ‘अघिल्लो वर्ष ३९ जना यौनकर्मी महिलामा एचआइभी पोजिटिभ देखिएको थियो ।’ ड्याकको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गएको असारसम्ममा १४ जना नयाँ एचआईभी पोजिटिभ बढेका छन् ।

 अघिल्लो वर्ष एक सय ३२ जना रहेकोमा असारसम्म एक सय ४७ जना पुगेका हुन् । जसमा ८८ जना पुरुष, ५४ जना महिला र पाँच जना तेस्रो लिंगी रहेका छन् । यसमध्ये भक्तपुरमा १२ जनाले मात्रै एचआइभीको जीवनदायिनी औषधि एन्टीरेट्रोभाइरल (एआरटी) खाइरहेका छन् । एआरटी खाने संक्रमितहरुको संख्या कम भएकाले बाँकीबाट भक्तपुरमा एचआइभी एड्सको संक्रमण बढ्ने आशंका गरिएको छ । गत वर्ष थपिएका १४ जना एचआईभी पोजिटिभमा पाँच जना लागूपदार्थ दुव्र्यसनी र तीनजना महिला यौनकर्मी रहेका छन् । त्यस्तै एकजना यौनकर्मी महिलाका ग्राहक, एकजना पुरुष यौनकर्मी, एकजना तेस्रो लिंगी, एकजना महिला लागूपदार्थ दुव्र्यसनी, एकजना पुरुष समलिंगी, एकजना महिला गृहिनी र एकजना आप्रवासी मजदुर रहेका छन् । लागूपदार्थ दुव्र्यसनको क्षेत्रमा कार्यरत संघसंस्थाहरुका अनुसार भक्तपुरका सुइमार्फत् लागूऔषध प्रयोगकर्ता एचआईभी÷एड्स संक्रमणको पहिलो स्थानमा छन् ।

 गत वर्ष नौसय ९८ जना लागूपदार्थ दुव्र्यसनीहरुको एचआइभी जाँच गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको थियो । भक्तपुरमा लागूपदार्थ दुव्र्यसनीहरुको संख्या दिनप्रतिदिन बढिरहेको ती संस्थाहरुको तथ्यांकले देखाउँछ । भक्तपुरमा करिब पाँच हजार लागूपदार्थ दुव्र्यसनी रहेको जिल्ला एड्स समन्वय समितिको अनुमान छ । त्यस्तै नीलहिरा समाज (बीडीएस) ले भक्तपुरमा करिब एक हजार तीन सय जना तेस्रो लिंगी रहेको प्रतिवेदन दिएको समितिले बताएका छन् । यसैबीच भक्तपुरमा बिहीबार विभिन्न कार्यक्रम गरी २९ औं राष्ट्रिय एड्स दिवस मनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला एड्स समन्वय समिति भक्तपुरको संयोजनमा उक्त दिवस मनाइएको हो । यस वर्षको एड्स दिवसको नारा ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ रहेको छ ।

समितिका संयोजक बस्नेतका अनुसार स्थानीय संघसंस्था सुरुवात, युथभिजन, सीएसी, बीडीएस, आफ्नो नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायतको सहभागितामा भक्तपुरमा एचआइभी परीक्षण तथा परामर्शसँगै कन्डम र जनचेतनामूलक सामग्री वितरण गरिएको छ । त्यसको लागि भक्तपुरको सूर्यविनायक, कमलविनायक, दूधपाटी र मध्यपुर थिमिको कौशलटार र शंखधर चोकमा स्टल खडा गरिएको बस्नेतले बताए । उनका अनुसार ४१ जनाले एचआइभी परीक्षण गराएका थिए । जसमा ३७ जना पुरुष र चार जना महिला रहेको उनले जानकारी दिए । त्यस्तै पाँचवटा स्टदबाट १९ हजार तीन सय कण्डम, दुईहजार ल्युब र जनचेतनामूलक सामग्री दुई हजार वितरण गरिएको थियो ।

संयोजक बस्नेतले भक्तपुरमा एचआइभी संक्रमणदर बढिरहे पनि बजेटको अभावले त्यसको नियन्त्रणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । जिल्ला विकास समिति भक्तपुरले दिँदै आएको बजेट समेत कटौती गर्दै जाँदा एचआइभी एड्स संकक्रण न्यूनीकरण कार्यक्रम प्रभावित हुँदै आएको संयोजक बस्नेतको भनाइ थियो ।





SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv