Latest Updates :

जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर....


SHARE THIS POST :

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई  परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।
छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् । धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv