पाल्पा, ६ पुस - स्थानीय हेक्लाङ्ग गाविस-६, की बिनु पुलामीको हत्याका आरोपितलाई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो मुद्दाका आरोपी पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र सासु पार्वती बस्याललाई मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
बहसमा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले तिनै जनालाई ज्यान सम्बन्धी महलको १३ ९३० बमोजिम सजाय हुनुपर्ने माग गरेका थिए। प्रहरीले २४ दिनसम्मको अनुसन्धान पछि अदालतमा सो मुद्दा दायर गरेको थियो। तानसेनस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २४ वर्षीया बिनुको ताहुँ गाविस-७ का दीपेन्द्रसँग २०६९ सालमा अन्र्तजातीय विवाह भएको थियो।
दसैँदेखि बेपत्ता उनको शव गत कात्तिक ४ गते हुँगी गाविस-२ अस्दीमा फेला परेको थियो। बिनुको हत्या गरिएको उनका बुबा नरेन्द्रले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।
दीपेन्द्रलाई काठमाडौँको सिनामङ्गल, बुबा लक्ष्मणलाई पाल्पाको सिद्धबाबा तथा आमा पार्वतीलाई तानसेन–८ भगवतीटोलस्थित घरबाट प्रहरीले पक्राउ गरिएको थियो।
Post a Comment