भारतसहित चार देशका प्रहरीमा नेपाल प्रहरी उत्कृष्ट,भारतमै नेपालले पहिलो पल्ट रेकर्ड राख्यो
काठमाडौं ११ पुष – भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन्। ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन्। हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन्। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए। जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन्। सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए। चार देशका १ सय २९ प्रशिक्षार्थीमध्ये विष्ट नै सर्वोत्कृष्ट प्रहरी घोषित भए। तालिममा सन् १९५४ देखि नै नेपाल सहभागी हुँदै आएको छ। तर, यसप्रकारको अवार्ड भने यसपटक मात्रै प्राप्त भएको हो। ‘नेपालले पहिलोपटक यो उपाधि हासिल गरेको हो,’ विष्टको प्रतिभा प्रस्तुतीकरणको क्षमता असाधारण छ,’ प्रहरीको भरतपुर तालिम केन्द्रका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले भने। प्रहरीनिरीक्षक विष्ट हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन्। कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका विष्ट २०७० सालमा १५८औं ब्याचीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी नेपालको तालिम सकिनासाथ इन्डियन पुलिस फोर्सको तालिममा परेका थिए। त्यहाँ उनले १० महिना तालिम लिँदा हप्ता, महिना हुने अभ्यासमा दर्जनौं गोल्डमेडल हासिल गरेका थिए। त्यसपछि पनि त्यो क्रम निरन्तर कायम रहँदा अन्तिम समयमा हुने प्रशिक्षण प्रतिभामा विष्टले सबैलाई पछि पार्दै बेस्ट अवार्ड जित्न सफल भएका हुन्। नेपाल प्रहरीकै तर्फबाट इतिहास रचेको भन्दै भरतपुर तालिम केन्द्रले पनि उनलाई विशेष सम्मान गरेको थियो।
Post a Comment