सुनसरी, पुस ११ – ‘मलाई दौडिँदा जुत्ता लाउनुपर्छ भन्ने थाहै थिएन’ एथलेटिक्सको ८ सय मिटरमा कास्य पदक जितेको केहीबेरमा उनले भनिन् ‘थाहा भएको भएपनि किन्नलाई पैसा थिएन ।’
खाली खुट्टा दौडिएकी १५ वर्षकी सीमाले आफूभन्दा धेरै सुविधा सम्पन्न ट्रयाक, डाइट र प्रशिक्षकको साथ पाएका विभागीय टोलीका व्यावसायिक खेलाडीलाई टक्कर दिइन् । जीवनमा कहिलै तालिम र प्रशिक्षण नपाएकी उनले दौडनका लागि जुत्ता चाहिन्छ भन्ने समेत इटहरी आएपछि मात्र थाहा पाएकी हुन् ।
‘गुरुहरुले पनि किन्नुपर्छ नभनेपछि खाली खुट्टा नै दौडिएकी हुँ । स्कुल पढिरहेका बेला सातौँ राष्ट्रिय खेलकुद सुरु हुने केही दिन अघि मात्र सुदुरपश्चिम खेलकुद विकास समितिले बोलाएको थियो ।’ उज्यालोसँग उनले भनिन् ‘प्रशिक्षण नगरी आफ्नै पाराले दौडिएर कास्य जितेँ । पहिलो गेममै मेडल जित्दा खुशी छु । अब प्रशिक्षण लिएर देशका लागि केही गर्ने लक्ष्य छ ।’
आर्मी बन्ने सपना
विपन्न परिवारकी सीमाकुमारी चौधरीको अबको लक्ष्य भनेको आर्मीबाट खेल्ने हो । मेरो सानैदेखिको सपना आर्मी बन्ने हो ।
‘आर्मीबाट खेल्दा सुविधा पनि पाइने र तालिम पनि पाइने भन्ने सुनेको छु । यसैले अब आर्मी बन्ने हो ।’ १५ वर्षकी किशोरी सीमाले भनिन् ‘तर कसरी आर्मी बन्ने मलाई थाहा छैन ।’
सुमन पुरी/उज्यालो ।
Post a Comment