‘म थप समस्यामा पर्न चाहिनँ,’ उनले भनिन् । रानाले लेबनानी नागरिक जर्ज अबु जैइद र घरेलु कामदारको तस्करी गर्ने एजेन्टहरूको मिलोमतोमा आफूहरूविरुद्ध उजुरी गरेको बताइन् । ‘जर्जले उजुरी गरेको मैले देखें । त्यहाँ जर्जको फोटो टाँसिएको थियो,’ उनले भनिन्, ‘हामीलाई लगाइएका आरोप झूटा थिए । मैले प्रमाणित गर्न प्रहरीलाई भनेको थिएँ । उनीहरूले प्रमाणित गरेनन् ।’ प्रहरीले राना र रोजीलाई नेपाली घरेलु महिला छिरिङ डोल्पा शेर्पा, नुना थापा र गीता माझीलाई घरबाट भगाएको र लेबनानको अधिकारीवादी संस्था काफालाई पीडित महिलाको सूचना दिएको आरोप लगाएको थियो । ‘शेर्पा आफैं भागिसकेपछि नेपाल जान हाम्रो सम्पर्कमा आएकी थिइन् । काफाले उनीहरूको केस हेर्दै थियो । दलालहरूले आफ्नो पोल खुल्छ भनेर शेर्पालाई गायब बनाइदिए । नुना थापा मालिक्नीले यातना दिएपछि भागेकी हुन् ।
उनीलाई सेल्टरका लागि काफा जान सुझाव दिएको हुँ,’ उनले भनिन्, ‘पीडित नेपाली महिलालाई उद्धारका लागि सरसहयोग गर्नु गल्ती थिएन । तर मेरो हैसियत घरेलु कामदारमात्रै भएकाले स्थानीय कानुन उल्लंघन गरेको आरोप लगाइयो ।’ लेबनानबाट सर्मिला रानालाई डिपोर्ट गरी स्वदेश पठाउने बेला अधिकारीवादीहरू लेबनान सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै । अलपत्र नेपाली महिलाको उद्धार तथा सहयोग गर्न रानाको अध्यक्षतामा नारी समूह खोलिएको थियो । रानालाई पक्राउ गरेको चार दिनपछि गत सोमबार धरानकी लिम्बूलाई पनि पक्राउ गरी लेबनान सरकारले छानबिन गरेको थियो । ‘हामी दुवैलाई एउटै उजुरी दिइएको रहेछ,’ उनले भनिन्, ‘रोजमायामाथि छानबिन भइरहेको छ । उनलाई थप केही दिन राख्ने सम्भावना छ ।’
लेबनानमा तीन दशकसम्म नेपालका लागि अवैतानिक महावाणिज्यदूत रहेर काम गरेका जोए इशा अल((खुरीलाई परराष्ट्र मन्त्रालयले हटाएपछि उनको स्थान लिन लेबनानी जर्ज अबु जैइदले प्रयास गरिरहेका छन् । इजिप्टस्थित नेपाली दूतावासले समन्वय गर्न जर्जलाई अधिकार दिएको छ । ‘उनको विरोध गरेकाले जर्जले हामीविरुद्ध मुद्दा हालेका हुन्,’ रानाले दाबी गरिन् । उनीहरू पक्राउ हुनु केही दिनअघि जर्जले धम्काएका थिए । ‘मैले नेपाल र नेपालीका लागि धेरै पैसा र समय खर्च गरिसकेको छु,’ जर्जले सिर्जनालाई लेखेको सन्देशमा उल्लेख छ, ‘मैले काफालाई फोन गरेर तिमीलाई गरेको सहयोग बन्द गर्न सल्लाह दिन्छु ।

सम्बन्धित व्यक्तिलाई भनेर कानुनी रूपमा तिम्रो एनजीओको पैसा र तिमीले भागेका महिला कामदार राखेको भनेर अनुसन्धान गर्न लगाउँछु ।’ गत जुलाई अन्तिम साता कतारमा सम्पन्न गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा उनीहरूले लेबनानमा अवैतानिक महावाणिज्यदूतभन्दा पनि नेपाली दूतावास नै हुनुपर्छ भनेर बोलेका थिए । राना ९ वर्षदेखि र रोजीमाया १४ वर्षदेखि लेबनानमा हाउसमेडको काम गर्दै आएका थिए ।
Post a Comment