बोक्सीको आरोपमा ज्यान गुमाएकी काभ्रेको सानो बाङ्थलीकी लक्ष्मी नेपालीलाई न्याय र पीडकलाई सजायको मूल नाराका साथ युथ एड्भोकेसी नेपालले आज राजधानीको माइतीघर मण्डलामा १ घण्टे धर्ना कार्यक्रम आयोजना गर्यो। कार्यक्रमलाई सम्वोधन गर्दै युवा अधिकारकर्मी दिवाकर अर्यालले उक्त घटनाको घोर भत्र्सना गर्दै युवाहरुले न्यायको लागि आवाज उठाउनु पर्ने बताए । युवा अधिकारकर्मी राजकुमार उप्रेतिले घटनाको तत्कालै छानबीन गरी पीडकलाई सजाय दिलाउनु पर्ने बताए । त्यस्तैगरी कमल सुवेदी, युवा अधिकारकर्मी, ले महिला हिंसा अन्त्यका लागि सामूहिक प्रयासको आवश्यक रहेको जिकिर गरे ।

अर्का वत्ता अस्मिता ओझाले सामाजिक न्यायका लागि विद्यार्थीहरुले पनि आवाज उठाउनु पर्ने बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा अधिकारकर्मी सरोज दिलुले महिला अधिकार संरक्षण र प्रवद्र्धनप्रति राज्यको उदासिनता रहेको बताउँदै यस्ता घटनाहरुलाई निर्मूल गर्ने तर्फ राज्य अग्रसर रहनु पर्ने बताए । युवा पत्रकार अशोक दर्नालले महिलाहिंसाको १६ दिने अभियान र मानव अधिकार दिवसमा लक्ष्मी नेपालीको मुद्दा नउठ्नु दुर्भाग्य रहेको भन्दै सबै मिलेर न्यायका लागि आवाज उठाउनु पर्ने बताए । त्यसैगरी अर्का वत्ता, राष्ट्रिय दलित आयोगका सदस्य विकास रोक्काले पीडकले उन्मुक्ति नपाओस भन्नका लागि युवाहरुले न्यायको पक्षमा निरन्तर रुपमा आवाज उठाउनु पर्ने बताए । हत्या जस्तो जघन्य अपराधमा मिलापत्र हुन नसक्ने भएकोले उक्त घटनाको तत्काल छानबिन गरी पीडितलाई न्याय र पीडकलाई कारवाही गर्नुे पर्ने युथ एडभोकेशी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले बताए । गत मंगलवार स्थानीय शिक्षक हिरा लामाले काभ्रेको सानो बाङ्थलीकी लक्ष्मी नेपालीलाई बोक्सीको आरोपमा मलमूत्र खुवाई, निर्घात कुटपिट गरी हत्या गरेका थिए ।

Post a Comment