Latest Updates :

नेपालको भूमिलाई मेरो भन्दै गुम्बा बनाउंदै भारत


SHARE THIS POST :

पशुपतिनगर (इलाम) : भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खबर आएपछि भारतीय पक्षसँग पत्राचार गरेर काम रोक्न आग्रह गरेको जानकारी दिए । उनले भने, ‘भारतले काम रोक्ने बताएको छ ।’ पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले भारतले आश्वासन दिए पनि काम नरोकिएको बताए । एक महिनाअघि काम सुरु भएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै पहल नभएको गुनासो क्षेत्रीले गरे । सहसचिव ढुंगानाले भने सीडीओसँग गुम्बा निर्माण रोक्न पहलका लागि आग्रह गरेका छन् ।
सहसचिव ढुंगानाले सीमाक्षेत्रमा सीमा निर्धारण टोली खटिएको अवस्थामा दसगजामा काम हुनु गलत भएको बताए । उनले भने, ‘भारतीय पक्षले बुझेर काम रोक्ने जबाफ दिएको छ ।’ ढुंगानाका अनुसार नेपाली पक्षले पत्र लेखेरै काम रोक्न आग्रह गरेको छ । दुई देशीय नापी टोली खटिएको अवस्थामा अहिले भएका टहरा पनि हटाउनुपर्ने समयमा पक्की निर्माणकार्य रोकिनुपर्ने उनले बताए । उनले एक महिनाअघि नै भारतलाई काम रोक्न आग्रह गरेको जानकारी दिए ।
सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले पछिल्लो अवस्थाबारे माथिल्लो निकायलाई जानकारी गराएको बताए । स्थानीय स्तरमा के गर्ने भनेर माथिल्लो निकायबाट कुनै जानकारी नआएको उनले बताए ।
भारतीय पक्षले भने भारतको स्थानीय प्रशासनले आग्रह नगरेसम्म काम नरोक्ने जवाफ दिने गरेको पनेरूले बताए । उनले भने, ‘हामीले यहाँको अवस्थाबारे जानकारी गराएका छौं, माथि के हुँदैछ थाहा छैन ।’
भारतीय पक्षले दुई महिनाअघि गुम्बा निर्माण थाल्ने तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माणकार्य नगर्न गरेको आग्रहविपरीत एक महिनाअघि पूजा गरेर निर्माणको काम सुरु गरेको थियो । सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख पनेरूले १४ वटा पक्की पिलर लगाएर निर्माण गर्न लागिएको जानकारी दिए । स्थानीय अगुवा बुद्ध तामाङले पिलर लगाएर छानामा टिन लगाउने जानकारी दिएको पनेरूले बताए । उद्योग वाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईले भारतले पालले घेरेर काम गरिरहेको जानकारी दिए ।
इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले केही समयअघि पशुपतिनगर आएको नापी विभागको टोलीले सीमास्तम्भबाट भारततर्फको दसगजाभित्रै निर्माण गर्न लागेको गुम्बा ‘नोम्यान्स ल्यान्ड (दसगजा) मै परेको’ प्रतिवेदन दिएको जानकारी दिए ।
विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले दुई महिनाअघिको नापजाँचपछि उक्त क्षेत्र सीमास्तम्भबाट भारततर्फको दसगजामै परेको बताएका थिए । ‘प्राविधिक अध्ययन गर्दा सीमास्तम्भ ठीक ठाउँमा छन्’, प्रमुख नापी अधिकृत सुशील डंगोलले भने, ‘गुम्बा बोर्डरलाइनमै छ ।’ तर भारतीय पक्षले सीमा नियमलाई मिचेर काम सुरु गरेको विज्ञ बताउँछन् । सहायक सीमास्तम्भ ७१÷७ र ७१÷८ को बीचमा रहेको गुम्बा भारततर्फको दसगजा क्षेत्रमै परेको उनले बताए ।
अन्तर्राष्ट्रिय सीमा नियमअनुसार उक्त क्षेत्रमा दुवै देशले रेखदेख गर्नुपर्ने तर मानवीय क्रियाकलाप गर्न नपाइने नियम छ । सीमास्तम्भबाट नेपालतर्फ ३० फिट र भारततर्फ ३० फिट क्षेत्र खाली राख्नुपर्छ ।
भारतीय पक्षले दुई महिनाअघि गुम्बा निर्माण थाल्ने तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माणकार्य नगर्न गरेको आग्रहविपरीत एक महिनाअघि पूजा गरेर निर्माणको काम सुरु गरेको थियो ।
भारतीय पक्षले ४० वर्ष पुरानो गुम्बा मर्मत गर्ने बहानामा पक्की संरचना बनाउन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सीमा अधिकृत पनेरूले गुम्बा निर्माण समितिका अगुवा बुद्ध तामाङले भारत सरकारले रोक्ने आदेश नदिएसम्म काम नरोक्ने बताउने गरेका छन् । गुम्बानजिक भारतीय पक्षले सीमास्तम्भबाट नेपालतर्फ पर्ने क्षेत्रमा समेत टहरा बनाएर भारतीय नागरिकलाई राखेको छ ।
केही समयअघि सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको नेतृत्वमा विवादित क्षेत्र पुगेको टोलीले नेपाली भूभागमा रहेका रहेका भारतीयका छाप्रा हटाउन आग्रह गरेको थियो । ती टहरा अहिलेसम्म नहटेको क्षेत्रीले बताए । उनले भने, ‘हाम्रो कुरा नेपाली पक्षले नै सुन्दैन, हामी के गरौं ।’
पुरानो काठको टासी छोङ्लिङ गुम्बालाई भत्काएर सामुदायिक हलसहितको तीनतले पक्की गुम्बा बनाउने तयारी गरे पनि अहिले पिलरमात्र हालेर गुम्बा संरक्षणको काम गर्ने स्थानीयले बताउने गरेका छन् । तर यो भारतीय पक्षको चालमात्र भएको कतिपयको भनाइ छ । इलामका एक सुरक्षा अधिकारी भन्छन्, ‘मौका मिल्नासाथ भारतले भव्य गुम्बा बनाउँछ । यो नेपालीलाई झुक्याउने चालमात्र हो ।’ उनले परराष्ट्र स्तरबाट पहल नभए स्थानीयको पहलले केही नहुनेसमेत बताए ।
गुम्बा बनाउन गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा एड्मिनिस्टिभ टेरिटोरियल (जीटीए) प्रमुख विमल गुरुङको पहलमा जीटीएले रकम विनियोजन गरेको बताइएको छ । सीमा प्रशासन कार्यालयका प्रमुख मोहनलाल पनेरूले ‘तीन महिनाअघि दुवै देशका प्रतिनिधिको बैठकले दुवै देशको नापी टोलीले सीमा यकिन नगरेसम्म कुनै संरचना नबनाउने सहमति गरेको’ बताए ।
फाटकमा नेपाली भूमिमा चार वर्षदेखि भारतीय प्रहरीको पोस्ट राखिएको छ भने दसगजामै भारतले कस्टम कार्यालय बनाएको बर्सौं भयो । पोहोरमात्र भारतीय प्रहरीले चमेनागृहसमेत निर्माण गरेको छ ।
source:hitnewspost.com

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv