Latest Updates :

मंगलबार यसरी गणेश भगवानको पूजा गरे सबै इच्छा पूरा हुने –


SHARE THIS POST :

सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ। यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ। यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ। एक छाक अलिनो भोजन गर्नु पर्दछ। यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ। बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ। गणेश भगवानको आराधना गर्नुपर्दछ। पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ। ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ/

व्रतकथा(The Story Of Tuesday Fasting)
परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पति थिए। घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे। ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर। यही उनीहरूको प्रार्थना थियो। पुत्र-प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे। उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन्। प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन्। दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन्, त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन्। उता उनले आँफूले पनि केही खान-पान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन्। श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो। यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो। अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्च्छा परेर ढलिन्। अनि श्री हनुमानजीले त्यही मूर्च्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो- ‘तिम्रो पूजा सफल भयो। म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु। यसले तिम्रो यस्तो सेवा-चाकरी गर्नेछ, जुन कसैले पनि आफ्ना माता-पिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दिए- ‘ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःख-कष्ट हुन नपाओस्।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन्। केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे- ‘यो बालक कसको हो?’ ब्राह्मणीले भनिन्- ‘श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’
पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले- मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो। अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए थिक हुने थियो। एक दिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन्। ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए। ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए। त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन्, मंगल तुरुन्त हाँस्दै आइपुग्यो। यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो। त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो- ‘हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख। तिमीले जुन मेरो सेवा र भक्ति गर्‍यौ, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ।’ यसपछि धेरै दिनसम्म ती पति-पत्नि सुखपूर्वक रहे। यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv