संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संशोधन प्रस्ताव पारित भए पनि वा नभए पनि आन्दोलन नरोकिने चेतावनी दिएका छन् । संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नरहेको बताएका हुन् ।
आइतबार राजधानीमा ‘ब्ल्याक आउट’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यादवले विकृत संविधानलाई ब्यर्थमा सामान्य टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिए । ‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘संविधानमा यतिधेरै त्रुटि, कमिकमजोरी छ, कि त्यसलाई जतिनै सामान्य संशोधनले पार लाग्दैन ।’
विभेदकारी संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिँदै एकल जातीय राज्यसत्ताले जतिसुकै छलकपट रचे पनि उत्पीडित समुदायको माग र एजेन्डासँग कुनै सम्झौता नहुने यादवले प्रष्ट पारे ।
‘बलजफ्ती संविधान जारी गर्दैगर्दा सशस्त्र प्रहरी लगाएर यो नश्लीय राज्यसत्ताले मधेशमा नरसंहार गर्यो । दुई चार जना नेताहरु वालुवाटारमा बसेर बनाएको संविधान मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिलाको लागि हुँदै होइन । उनीहरु आफ्नै हितका लागि संविधान बनाएका हुन्, उत्पीडित समुदायको लागि होइन’ उनले भने ।
Post a Comment