Latest Updates :

कुलमानले जोगाए राज्यको ढुकुटीको वार्षिक २० अर्ब


SHARE THIS POST :

काठमाण्डु, विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युत्भार कटौतीको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै रहने वातावरण पैदा भएको बताउनुभयो । मुलुकलाई अगाडि बढाउने प्रमुख र महत्वपूर्ण आधार भएकाले ऊर्जा क्षेत्रमा लगानी बढाउन आफूहरु तयार रहेको उद्योगी तथा व्यावसायीले बताए । आज यहाँँ आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले आगामी डेढ वर्षभित्र उद्योगी तथा व्यवसायीले माग गरेअनुसारको विद्युत् उपलब्ध गराउन सरकार तयार रहेको भन्दै नयाँ नयाँ उद्योग व्यवसाय खोल्ने कार्य थालनी गर्न आग्रह गर्नुभयो ।

ऊर्जा क्षेत्रको विकासमा सरकारले जे जति गर्नुपर्ने हो, सबै प्रकारका सहयोग गर्न तयार रहेको छ भन्नुहुँदै मन्त्री शर्माले अब गफ गर्ने समय सकिएको र काम गर्ने बेला आएको बताउनुभयो । ऊर्जा मन्त्रालय, प्राधिकरण चौबिसै घन्टा खटेका कारण मुलुकलाई आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गर्न सकिएको बताउँदै उहाँले उद्योगी तथा व्यवसायीले पनि सरकारको कामलाई पूर्ण क्षमताका साथ सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योग–व्यवसाय सुरु गर्नूस्, ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि समेत नयाँ नयाँ योजना ल्याउनूस्, ऊर्जा मन्त्रालय मातहतका कुनै पनि निकायले काममा अवरोध गर्ने छैनन्, सबै काम सहज रुपमा अगाडि बढ्छन् ।” सरकारले १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जानकारी दिँदै मन्त्री शर्माले कम्तीमा पनि आठ हजार मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गर्नुपर्ने, वैदेशिक लगानीमा थप केही हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यअगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट आयात गरिएको विद्युत्ले मात्रै विद्युत्भार कटौतीको अन्त्य भएको नभई कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दीजस्ता ठूला आयोजनालाई पूर्ण क्षमतामा विद्युत् बढी माग हुने समयमा चलाइएको बताउनुभयो । विगतमा कुनै पनि आयोजना पूर्ण क्षमता नचल्ने गरेका कारण पनि जनता अँध्यारोमा बस्नु परेको यथार्थ पेस गर्दै घिसिङले विद्युत्भार कटौती आधारभूत रुपमा अन्त्य भएको जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग–व्यावसायमा सुनौलो युगको सुरुवात भएको भन्दै यसलाई निरन्तर अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उद्योग–व्यवसायले हाल दैनिक २० घन्टा विद्युत् पाइरहेका छन् ।

गत साल यही समयमा दैनिक १० घन्टा विद्युत्भार कटौती हुन्थ्यो भने औद्योगिक क्षेत्रमा समेत नियमित १३ घन्टा विद्युत् कटौती गरिन्थ्यो । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा सङ्कटकाल कार्ययोजनामा समावेश गरिएका विषय तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुलुकको ऊर्जा क्षेत्रमा भइरहेको प्रयास र आवश्यकताका बारेमा महासङ्घअन्तर्गतका ऊर्जा समितिका सभापति प्रधानले कार्यपत्रसमेत पेस गर्नुभएको थियो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv