Latest Updates :

एमालेलाई विदाई गर्न खोज्दा तराईमा आफै लखेटिए मधेसवादी दल (फोटो फिचर)


SHARE THIS POST :
लाइट नेपाल मिति : Monday, January 9th, 2017
सुनसरी । जिल्लाको हरिनगरा गाविसका आइतबार साँझ अनौठो जुलुस निस्कियो । मसाल जुलुससहितको कार्यक्रममा प्रदर्शनकारीले बोकेको ब्यानरमा लेखिएको थियो-‘मधेसबाट एमालेलाई विदाइ कार्यक्रम ।’ त्यस्तै अर्को ब्यानर थियो- ‘एमालेलाई मधेस नचाहिने भए मधेसीलाई एमाले किन चाहियो ?’

मधेसी समुदायको बाहुल्य रहेको हरिनगरालाई एमाले मुक्त घोषणा गर्दै यस्तो ‘विदाइ कार्यक्रम’ त्यस्तो बेलामा आयोजना गरिएको थियो, त्यसैको भोलिपल्ट सोही ठाउँबाट एमालेले मधेस जागरण अभियान सुरु गर्न लागेको थियो ।


आइतबार साँझ एमालेलाई विदाइ गरिएको सोही हरिनगरामा एमालेले सोमबार माधव नेपालको प्रमुख आतिथ्यमा आमसभा आयोजना गर्‍यो । सो सभामा मैथिली भेषमा प्रस्तुत हुँदै एमाले नेता माधव नेपालले मैथिली भाषामा भने- एमालेलाई मधेसबाट खेद्छौं भन्नेहरु आफैं खेदिन्छन् ।
मधेसकेन्द्रित दल र सत्ता पक्षका कार्यकर्ताले सुनसरीको हरिनगराबाट एमालेमुक्त मधेस बनाउने भन्दै बाजा बजाएर ‘बिदाई कार्यक्रम’ गरिएकै ठाउँमा सोमवार एमालेले शक्ति प्रदर्शन गरेको हो ।

एमालेको मधेश जागरण अभियान सुनसरी सदरमुकाम इनरुवाबाट १६ किलोमिटर टाढा भारतीय सीमावर्ती हरिनगराबाट शुरु भएको एमाले जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २२ मा काठमाडौंको शक्ति प्रदर्शन लगत्तै मधेश जागरण अभियान शुरु हुने घोषणा गरेका थिए ।

जागरण अभियानलाई मैथिली भाषामा सम्बोधन गरेका नेता नेपालले एमालेलाई मधेसबाट कसैले खेद्ने सपना देखेको भए उसैलाई जनताले खेद्ने बताए ।

मैथिल पोशाकमा उपस्थित भएका नेपालले पूरै भाषण मैथिलीमा गरेका थिए । उनले भने- ‘मधेसका सामन्त र जमिन्दारहरु मधेसी जनतालाई अझै पनि शोषण दमन गर्न सकिन्छ कि भनेर अधिकारका कुरा गरिरहेका छन् । खासमा तिनीहरुले मधेसी जनतालाई फेरि पनि शासन गर्न खोजेका छन् ।’


एमाले मधेसमै जन्मिएको र मधेशमै हुर्किएको पार्टी हो भन्दै नेता नेपालले आफू मधेसको धर्तिपुत्र भएको दाबी गरे ।उनले भने- ‘एमालेलाई मधेसबाट बाजा बजाएर बिदा गर्छौं भन्नेहरु जनताबाट हारेका भगौडा हुन्, हामी मधेसका धर्तिपुत्र हौं ।’

एमालेको सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य जगदीश कुसियत, महफुज अन्सारी, तैयव अन्सारी लगायतले मधेसी जनतालाई भ्रममा पार्नेहरुको भण्डाफोर अभियान हरिनगराबाट शुरु भएको बताएका थिए ।

कार्यक्रम शुरु हुनुअघि विभिन्न गाविसबाट एमाले समर्थकहरुले जुलुस निकालेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरुले माधव नेपाल जाने सडकका ठाउँ ठाउँमा टायर बालेर अवरोध प्रयास गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरुलाई लखेटेको एमाले नेतृ मीना श्रेष्ठले बताइन् । उनले अघिल्लो दिन एमालेलाई बिदाइ गर्नेहरु भोलिपल्ट आफैं भागेको दाबी गरिन् ।
एमालेको आमसभामा सहभागी मधेसी जनता ।
 एमालेको यो जागरण अभियान सीमावर्ती गाउँहरुसम्म निरन्तर चल्ने एमाले सुनसरीका ५ नम्बर क्षेत्रीय अध्यक्ष अजय कुसियतले बताए । सुनसरीका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्र एमालेले जितेको छ । कांग्रेस, फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले एक एक सीट जितेका छन् । -

एमालेको आमसभामा सहभागी मधेसी जनता ।
एमालेले मंगलबार सप्तरीको राजविराजमा जागरण अभियान सञ्चालन गर्ने नेताहरुले जनाएका छन् ।

साभार अनलाइन खबर बाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv