Latest Updates :

प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक लगाएपछी


SHARE THIS POST :
काठमाडौं, २१ माघ । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँ अठराहाका युवकसँग प्रेम विवाह गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो ।

पछि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाइ बुझाइ गरेपिछ मात्र अभिभावक अाफ्ना छोरीलार्इ विद्यालय पठाउन राजी भएकाे स्थानीय किशोरी सुशिला शर्मा बताउँछिन् ।

‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि अभिभावक छोरीलाई विद्यालय पठाउन मान्दैनन्’, पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादवले भनिन् ,‘जति सम्झाए पनि अभिभावक छोरीलाई स्कुल पठाउन मान्दैनन् ।’

सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन्। उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा-पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठ गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अस्मान नेपालले बिहिबार वीरगन्जका पत्रकारसँग गरेको अन्तरक्रियामा सहभागी किशोरीले आफनो अनुभव सुनाउने क्रममा अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गर्ने प्रवृति बढेपछि छोरीलाई विद्यालय नपठाई घरमा राख्ने गरेको बताएका हुन् । कार्यक्रममा सहभागी हरपुरकी किशोरी पवित्रा गौतमले भनिन्, ‘लभ गरेर भाग्ने प्रवृतिले धेरै बालिका र किशोरी शिक्षाबाट बञ्चित हुनु परेको छ, कतिपयलाई अभिभावकले बीचमै स्कुल छुटाइदिएका छन् ।’

यस्तै विद्यालय जाने क्रममा बाटोमा युवकले बालिका र किशोरीलाई जिस्काउने गरेको, विद्यालयमा पनि सहपाठी युवकले छेडखानी गर्ने गरेको, कतिपय शिक्षकले छात्रालाई गलत दृष्टिले हेर्ने गरेको जस्ता कारणले पनि अभिभावकले छोरीलाई विद्यालय पठाउन आनकानी गर्ने गरेका छन् ।

‘गाँउबाट स्कुल टाढा हुन्छ, घरबाट स्कुल गएका छोरी केटासँग सल्किन्छन् भन्ने सोच राख्ने अभिभावक पनि छन्’, कार्यक्रममा सहभागी किशोरी रनीता गुप्ताले भनिन्, ‘त्यस्ता सोच राख्ने अभिभावकले गाउँ भन्दा बाहिरको विद्यालयमा आफ्ना छोरीलाई पठाउँदैनन् ।’ छोरीलाई धेरै पढाएपछि ज्वाइँलाई धेरै दाइजो दिनुपर्ने भएकाले समेत अभिभावकले प्राथमिक तह भन्दामाथि पढ्न स्कुल नपठाएको समेत किशोरीले बताएका छन् । ‘

चार-पाँच कक्षा पास गरेपछि अभिभावक छोरीको बिहे गर्न लाग्छन्’, कार्यक्रममा सहभागी पवित्रा गौतमले भनिन् ,‘छोरीलाई धेरै पढायो भने ज्वाइँ पनि धेरै पढेलेखेको खोज्नुपर्छ, पढे लेखेको ज्वाइँका लागि दाइजो पनि धेरै दिनुपर्छ भन्ने सोचले यहाँका अभिभावक ग्रसित छन् ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार पर्सा जिल्लामा विद्यालय जाने आधारभूत तहको उमेर (६ देखि १२ वर्ष ) का अझै पनि चार हजार चार सय ८९ बालिका विविध कारणले विद्यालयको पहुँच भन्दा बाहिर छन् ।

जिल्लामा तीन हजार आठ सय ७८ बालक (६ देखि १२ वर्षसम्म उमेरका) पनि विद्यालय पहुँच भन्दा बाहिर छन्। अन्तरक्रियामा अस्मान नेपालका कार्यक्रम संयोजक मुनिलाल बैठाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन भएका पर्साका नगरपालिका र गाविसमा पछिल्लो समयमा भने बालिका र किशोरी शिक्षाको अवस्थामा सकरात्मक परिवर्तन आएको बताए ।

अस्मानका निर्देशक नवल किशोर यादवले कार्यक्रम केही खर्चिलो भएपनि पर्सामा चार वर्षको अवधीमा यसको प्रतिफल निक्कै सकरात्मक देखिएको दाबी गरे, खबर अाजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

छलफल कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव दीपक शर्मा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष अनुप तिवारी, बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा कार्यरत किशोरी, वीरगन्जका पत्रकारलगायतको सहभागीता थियो।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv