बंगलादेश,
त्यहाँको राजधानी ढाकामा भएको आतंककारी हमलाको चंगुलबाट उम्किन खोजिरहेका बेला एउटा नयाँ खबर सार्वजनिक भएको छ । घटनामा संलग्न एक आतंककारी, निब्रास इस्लाम, धनी परिवारका शिक्षित युवा भएको खबर आएको छ ।
खबरका अनुसार इस्लामको नाममा निकै क्रुर र आतंककारी काम गर्नका लागि उनलाई भड्काइएको हो ।
उनको फेसबुकमा पोष्ट भएका भिडियो र फोटोले उनी निकै राम्रा वक्ता र हँसिलो अनुहारका युवा भएको पुष्टि गर्छ ।
उनले पोष्ट गरेका एउटा भिडियोमा निब्रासले बलिउड नायिका श्रद्धा कपूरसँग हात मिलाइरहेको देख्न सकिन्छ । उनले त्यस भिडियोको क्याप्सनमा ‘श्रद्धा कपूर, तिमी राम्री’ लेखेका छन् ।
उनको अर्को भिडियोले उनी साथीभाइसँग कारमा यात्रा गरिरहेका देखिन्छन् जहाँ उनी स्पष्टसँग अंग्रेजी बोलिरहेको र ठट्यौली गरिरहेको सुन्न सकिन्छ ।
उनको फेसबुक प्रोफाइल अनुसार उनले मलेसियाको मोनास युनिभिर्सिटीमा र ढाकाको न्यूसाउथ युनिभर्सिटीमा अध्ययन गरेका हुन् ।
निब्रास ट्विटरमा भने त्यति एक्टिभ देखिएका छैनन् । उनको अन्तिम ट्विट सन् २०१४ को डिसेम्बरमा रहेको छ जहाँ उनले लेखेका छन्, ‘अल्हमदुलिल्हा । खुसी भनेको माया गर्ने मान्छेको वरिपरी हुनु हो । र ती साथीहरुसँगको पल हो जसलाई हामी धेरै मिस गरिरहन्छौं ।’
उनको सन् २०१४ को अर्को ट्विट कुनै अपरिचितको लागि लेखिएको छ जसमा उनले लेखेका छन्, ‘जीवनमा जे जती हुन्छन् त्यसमा नै खुसी हुन सिक । मसँगै सधैं भएकोमा तिमिलाई धेरै धन्यवाद । तिम्रो लागि खुसी छु । र सधैं थिएँ । आशा छ तिमीले जे पाउनुपर्ने हो, त्यो पायौ ।’
राम्रा विद्यालयबाटः
रिपोर्ट अनुसार सबै आतंककारी २०–२१ वर्षका थिए र उनीहरु सबै ढाकाको नर्थ साउथ युनिभर्सिटीका विद्यार्थी हुन् ।
हमलामा संलग्न अरु युवाहरु पनि धनी परिवारका बताईएको छ । उनीहरु सबैले स्कूलास्टिका शहरका शीर्ष स्थानका विद्यालय र टर्किस इन्टरनेशनल स्कूलजस्ता निकै धनीमानी पढ्ने विद्यालयबाट स्कूले जीवन पार गरेको बताइएको छ ।
निब्रास, गत जनवरीदेखि हराइरहेको अनुमान गरिएको छ । त्यतिबेला नै उनका परिवारले अन्तिम पटक उनीसँग कुरा गर्ने मौका पाएका थिए ।
निब्रास आफैंले पनि उनी ढाकास्थित इन्टरनेशल टर्किस होप्स स्कूलका पूर्वविद्यार्थी बताएका छन् ।
नर्थ साउथ युनिभर्सिटीमा पढेका उनका पूर्व साथीहरुले उनको पहिचान गरेका थिए ।
‘आतंककारी बन्नु फेसन जस्तो’
‘उनीहरु सबैजना शिक्षित हुन् जो युनिभर्सिटीमा पढे । कोही पनि मदरासाबाट आएका होइनन्,’ एक बंगलादेशी मिडियाले त्यहाँको गृहमन्त्री आशाडुज्जम्यान खानलाई उद्धत गर्दै बतायो ।
उनीहरु किन विद्रोही बनेका हुनसक्लान् भन्ने प्रश्नमा, द डेली स्टारले खानको भनाई उद्धत गर्दै भन्यो, ‘यो अहिले फेसनको रुपमा विकसित भएको छ ।’
Post a Comment