Latest Updates :

शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो, रौतहट शोकमा


SHARE THIS POST :

शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो। शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो।

दुर्घटनामा रौतहटको मुडबलवा गाविसका पाँचजनाको मृत्यु भएको छ। साँझसम्म दुईजनाको सनाखत भएको छ। शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ। सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रबार साँझसम्म अज्ञात छ। दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँशु रोकिएका छैनन्।

 शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ। सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रबार साँझसम्म अज्ञात छ। दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँशु रोकिएका छैनन्।
‘दुई छोरा र दुई छोरीको अब भरणपोषण कसरी हुने भनी चिन्ता र अझ लामो उमेर अब को भनेर जीउने’ भन्दै नितु अर्धमुर्छित अवस्थामा बर्वराइरहेकी छन्। सँगै हिँडेका गाउँका अन्य तीन जनाको अवस्था अज्ञात भएकोले गाउँ शोकमग्न छ। मुडबलवाका पाँचैजना स्नातकोत्तर गरेका उच्च शिक्षितहरु रहेका हुन्।

एकै घरका दुई जना चित्तरञ्जन र रविरञ्जन यादव दुर्घटनामा परेपछि घर शोकमग्न छ। बिहीबार साँझ घरबाट खाना खाएर सँगै हिँडेका दाजुभाइमध्ये दाजु चित्तरञ्जनको सनाखत भएको छ। रविरञ्जनको अवस्था अझै अज्ञात छ। अठार दिनको छोरा भएकी चित्तरञ्जनकी पत्नी अचेत छिन्। स्थानीय उच्च माध्यमिक विद्यालयमा करारमा शिक्षण गरिरहेका चित्तरञ्जनको निधनले मुडबलवाको विद्यालय परिवार नै शोकमा डुबेको छ।

गौर १३ की सन्ध्या श्रीवास्तवको मृत्यु भएको खबरले माइतीघर गौर ५ मा आमा मधु श्रीवास्तवको होस खुलेको छैन। बुवा बिनोद श्रीवास्तव पनि बेला बेलामा बेहोस भइरहेका छन्। श्रीवास्तव १२ वर्षे छोरा सुशान्त श्रीवास्तवलाई साथमै लिएर गएकोमा छोरा भने जीवितै रहेको छ। शिक्षक सेवा आयोगको परीक्षा दिन गएका लौकाहा २ का सच्चिन्द्र प्रसाद यादव र राकेश कुमार यादवको दुर्घटनामा मृत्यु भएपछि गाउँ पूरै स्तब्ध छ। गाउँका मानिसहरुले गाउँको मणि नै हराएको बताइरहेका छन्।

शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन धेरै परीक्षार्थी बसमा चढेको अनुमान गरिएको छ। शंकर गुदर उच्च माध्यमिक विद्यालयमा करारमा करिब एक महिनादेखि अंग्रेजी शिक्षण गरिरहेका सर्लाहीका राजीवकुमार सिंह पनि सोही बसमा गएको टिकट लिएको गरुडा काउन्टरले पुष्टि गरेको छ। मृतक वा घाइते दुवैमा सिंह नभेटिएको घटनापछि भरतपुर पुगेका विद्यालयका प्राचार्य देवेन्द्र साहले बताए। झुनखुनवाबाट आफ्नो भतिजी ज्वाइँ पनि सोही बसमा चढेको तर साँझसम्म कुनै अत्तोपत्तो नलागेको साह बताउँछन्। परीक्षा दिन सोही बसमा पोखरा हिँडेका अर्का युवक गरुडा नगरपालिका वार्ड नम्बर  ४ का सञ्जय कुमार यादवको अवस्था पनि साँझसम्म अज्ञात नै रहेको छ।

गौरदेखि राजपुर तुलसीसम्म बसमा तीसजना यात्रु चढेको र चन्द्रनिगाहपुरबाट नौजना गरी उन्चालीस जना बसमा चढेको बताइन्छ। चन्द्रनिगाहपुरमा चढेका जति सबै घाइते छन्। सबैजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको पाइएको छ। गरुडाबाट कम्तीमा पाँचजना चढेकोमा सबैको अवस्था अज्ञात रहेको देखिएको छ।

बसमा चढेकामध्ये नौजना यात्रु भारतीय रहेको गौरस्थित पोखरा बस काउन्टरले जनाएको छ। बसमा यात्रा गर्ने सबैको पहिचान खुल्ने गरी नाम, थर र वतन चलानीमा स्पष्ट नभएकोले यात्रुको बारेमा धेरै जानकारी दिन काउन्टर असमर्थ रहेको बताएको छ।

घटनामा रौतहटका शिक्षित समुदाय थुप्रै हताहत भएको खबरले अत्यन्त दुःख लागेको भन्दै नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राम मंगल यादवले सम्पूर्ण जिल्ला नै शोकमा डुबेको बताएका छन्। घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन हुनुपर्नेसमेत शिक्षक यादवको माग रहेको छ।
स्रोत नागरिक न्युज

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv