काभ्रे, १२ भदौ । काभ्रेको कोशीपारी विर्तादेउराली खहरे खोलामा २७ जनाको ज्यान जाने गरि भएको यात्रुबाहक बस दुर्घटनाका मृतकहरुको सम्झनामा आयोजित शोक सभामा केन्द्रीयदेखि जिल्लास्तरका नेताले राजनीतिक भाषण सुनाएका छन् । मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको विषयमा सान्तवना दिनुको सट्टा नेताहरुले आफ्नो पार्टीको गुणगान गाए ।
जसले दुर्घटना पीडितहरुको मन झन पीडा थपियो । शनिबार कात्तिके देउरालीमा भएको शोक सभामा भौतिक पूर्वधार तथा यातायात मन्त्री रमेश लेखक र राजनीतिक दलका नेताहरुले मृतक परिवारलाई सान्तवना दिनुको सट्टा राजनीतिक भाषण दिदै दिनभर टन्टलापुर घाममा आफ्ना प्रवचन मात्रै दिँदा पीडित परिवारहरु भने निराश भएर घर फर्किए । टन्टलापुर घाम, त्यसमा पनि एउटै गाउँका दुई दर्शन बढीको दुर्घटनाबाट मृत्यु पछिको शोक सभा तर, बिडम्बना सान्तवना दिन आएका मन्त्री तथा नेताहरुको राजनीतिक तथा विकासे भाषण मात्रै सुन्नुपर्यो पीडित परिवारले ।
गत साउन ३१ गते विर्तादेउराली खहरे खोलमा २७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाबाट मृत्यु हुनेहरुको सम्झनामा शनिबार कोशीपारीको कात्तिके देउरालीमा भएको शोकसभामा उपस्थित भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, नेपाली काग्रेसका काभ्रे सभापति मधुप्रसाद आचार्य, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाईवा, माओवादी केन्द्र काभ्रेका अध्यक्ष दिनानाथ गौतम लगायतले पीडित परिवारलाई सान्तवना दिनुको सट्टा उल्टै आफ्ना राजनीतिक भाषण, पार्टीका नीति, कार्यक्रम सुनाउँदै पीडित परिवारलाई दुःखी बनाएको उनीहरुले गुनासो गरे । दुर्घटनामा मृत्यु हुनेहरुको परिवारका सदस्यहरुमा ठूलै पीडा र गुनासो रहेका देखिन्छ ।
मृत्युबाट अभिभावक गुमाएकाहरुका लागि आफ्नो र भाइबहिनीको भविष्यको चिन्ता छ । भने कतिपयलाई आफ्नै सन्तानको ठूलै चिन्ता छ । उनीहरु त्यो दिन सम्झदा भक्कानिन्छन् ।तर, शोकसभामा आएका मन्त्रीदेखि नेतासम्म राजनीतिक प्रशिक्षण र आफ्ना प्रवचन सुनाउँन व्यस्त रहे । हो, उनीहरुको आत्मा यसैमा दुखेको छ, झनै मन रोएको छ । मन्त्रीले पीडित परिवारसंग भेट त गरे तर पीडित परिवारले राहत र पढाइको व्यवस्था माग गर्दा मन्त्री नै नाजवाफ बन्न पुगे । मन्त्री लेखकले यातायात क्षेत्रमा रुटपरमिटका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिने व्यवस्था मिलाएको त बताए तर, पीडित परिवारको लागि राहतको कुनै कुरा उक्काउन सकेनन् ।
हुन पनि यतिबेला कोशीपारी बासीलाई ठूलै पीडा भएको छ । तर पीडामा मलम लगाउँन भन्दै लाखौँ खर्चेर आएका मन्त्री तथा नेताहरुले पुरानै शैलीमा राजनीतिक पार्टीका प्रवचन दिनु कत्तिको उचित हुन्छ ? यो मूल्यांकन गर्ने बेला आएको छ ।
Post a Comment