Latest Updates :

ठगीको कुरुप रुप : आमालाई ब्लड क्यान्सर भयो भन्दै चार करोड रकम ठगेर फरार


SHARE THIS POST :

काठमाडौं, ७ भदौ । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् ।

कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र ६० तोला भन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् । कुँवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कुँवरले श्रीमानलाई रोजगारीका लागि बिदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कबिहीन भएको पीडित प्रेमा श्रेष्ठले बताए । ‘आमालाई ब्लड क्यान्सर भएको छ, उपचारका लागि दिल्ली लैजानुपर्छ भनेर मसँग पैसा मागेकी हुन्’ कुँवरको खोजी गरिरहनुभएकी श्रेष्ठले भन्नुभयो –‘नगद ठगेर भाग्ने योजना रहेछ, हामीले बिश्वास गर्दा धोका पायौँ ।’

बुटवल मिलनचोकमा चार वर्ष पहिलेदेखि बस्न थालेकी कुँवरले त्यस क्षेत्रमा महिलाहरुको मन जितेको र विश्वासमा परेर सबैले रकम दिएको बताएका छन् । एक जनाको रु ५० लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । कतिपयसँग तमसुक गरेर रकम लिएको र कतिपयलाई नगद फिर्ता दिन चेकसमेत दिएर फरार भएको पीडितहरुले बताए । पीडितहरुले अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा उजुरीसमेत दिएको श्रेष्ठले बताए । कुँवरले नेपाल टेलिकम पर्वतमा दुईवर्ष जति कार्यालय सहयोगीको रुपमा समेत काम गरेकी थिइन् । कुस्माबजारमा समेत विभिन्न ठगी गरेको आरोपमा महिलाहरु कारबाहीमा पर्न थालेपछि रातरात भागेर उनी बुटवल पुगेकी थिइन् । पर्वतको कुस्मामा रु १० लाखभन्दा बढी ठगी गरेपछि उनी फरार भएकी थिइन् ।
पर्वतको धाइरिङ्ग गाविस–९ मा माइती भएकी कुवँर कुस्माबजारमा एसएलसी परीक्षा दिन आएको बेला स्थानीय विनोद कुँवरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरीसमेत छन् । पर्वतको कुस्माबजारमा एक वर्ष पहिले पनि कमला लामा वाईवा नाम गरेकी एक महिलाले रु ३ करोडभन्दा बढी ठगी गरेर भागेकी थिइन् । ढिकुटी, सापटी र ऋणसमेत गरी रकम उठाएकी उनी हालसम्म फरार छन् । स्थानीय रुपमा घर बनाउने ठेकेदारको रुपमा काम गर्ने श्रीमान् र श्रीमती दुबै फरार भएपछि सर्वसाधारणको बिचल्ली भएको छ । पीडितहरुले उजुरी दिएपनि अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्रन सकेको छैन । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv