राजविराज, २३ साउन ।
सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आएका डा.गोविन्द केसी अाइतबार दोस्रो दिन पनि उपचारमा व्यस्त छन् ।
आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उनले निःशुल्क स्वास्थ्योपचार गर्दै छन् । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका छन् ।
डा केसी आफैँले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आएका हुन्। उक्त ठाउँमा आज मात्रै उनले २५÷३० जनाको निःशुल्क उपचार गरेको तिलाठीका युवक नीरज झाले जानकारी दिए ।
डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गर्नुभएको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गरेका थिए ।
Post a Comment