भाद्र १२, काठमाडौँ ।
हास्यव्यंग अभिनेता मात्र नभई पछिल्लो समय फिल्म निर्माताका रूपमा समेत स्थापित छन्– दीपकराज गिरी । उनी र उनको टिमले अहिलेसम्म ६ एकान ६, वडा नम्बर ६ र छक्का पञ्जा गरी तीन फिल्म निर्माण गरिसकेको छ । उनीहरूको वडा नम्बर ६ फिल्ममा समावेश लोकशैलीको सुर्के थैली खै बोलको गीत अपलोड गरेको एक वर्षको अवधिमा युट्युबमा एक करोडभन्दा बढीले हेरिसकेका छन् । एक वर्षको अवधिमा एक करोडभन्दा बढीले युट्युबमा क्लिक गरिसकेका छन् । देशको जनसंख्या छ, ३ करोड, गीत सुन्छन्, हेर्छन् एक करोडले । त्यो पनि युट्युबमा मात्र । दीपकराज गिरीले निर्माण गरेको चलचित्र वडा नं ६ को गीत हो यो । यो गीत युट्युबमा १ करोडभन्दा बढीले हेरेसँगै नेपाली संगीत क्षेत्रमा नयाँ इतिहास कायम भएको छ । युट्युबमा योभन्दा बढी हेरिएको अर्को नेपाली गीत छैन ।
तर, अचम्म नमान्नुहोला, फिल्म सकिनुभन्दा केहीअघि मात्र दीपकराज गिरीले यो गीत राख्ने भनेर फाइनल गरेका थिए । अझ रोचक कुरा के छ भने, फिल्ममा गीत आउनुभन्दा पहिले नै सुर्के थैली रेकर्ड भइसकेको थियो र मिडियामा बजिसकेको थियो । तर, पनि गीत त्यति परिचित थिएन । तर, फेरि कसरी हाइप लिन पुग्यो त ? दीपकराज इनसाइड स्टोरी भन्न उद्वेलित हुन्छन्, उदाहरणबाट कुरा सुरु गर्छन्, ‘कुनै ठाउँमा मानिस छि-यो भने उसले राम्रो मान्छेलाई हेर्दैन । युनिक मान्छेलाई नियाल्न थाल्छ । यो गीतमा पनि त्यस्तै भएको हो भन्ने लाग्छ मलाई।’ संगीतकार राजनराज शिवाकोटीले संगीत गरेको गीतलाई शिवाकोटी, अन्जु पन्त र राजु विश्वकर्माले स्वर दिएका छन् ।
जसमा हास्यकलाकार सीताराम कट्टेल, दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे, दयाहाङ राई, अभिनेत्री प्रियंका कार्कीलगायतले कम्मर मर्काएका छन् । माओवादी द्वन्द्वको विषयमा निर्माण गरिएको फिल्ममा यस्तो गीतले कसरी प्रवेश पायो त ? दीपकराज खुल्छन्, ‘संगीतकारले राम्रो गीत रहेछ भन्दै दीपासामु पुग्नुभएछ । दीपाले चाहिँ मलाई भेटाइन् । मैले सुनेँ, तर भनेँ, यो गीत झुर छ । तपार्इंको कुनै गीत रेकर्ड भएको छैन ?’ उहा“ले अर्को गीत सुनाउनुभयो । मलाई त त्यो पो मन प-यो । तर, त्यो गीत पहिल्यै रिलिज भएर थन्क्याउन थालिएको थियो ।
सात मिनेटको त्यो गीतलाई मैले साढे तीन मिनेटमा झारेँ । अनि सुरुमा द्वन्द्वका लागि सुहाउने शब्द थपेँ । अनि फिल्ममा पनि राखियो ।’ यसबाट उनले के सिकेका छन् भने, कुनै पनि मानिस जति नै ट्यालेन्ट भए पनि उचित ठाउँ पाएन भने उसको मिहिनेत अर्थहीन बन्छ । सुर्के थैलीमा त्यति धेरै लगानी भने नभएको बताउँछन् उनी । भन्छन्, ‘यो गीतमा जम्मा डेढ लाख खर्च गरेका थियौँ । तर, रिलिज हुँदै गरेको छक्का पञ्जाको पूर्व–पश्चिम रेलमा भने साढे पाँच लाख लगानी गरेका छौँ ।’ दीपकराजले सुर्के थैलीमा त्यति धेरै खर्च नगरे पनि गीतले भने राम्रो आम्दानी गर्यो । यो गीत यत्तिको चल्ला भन्ने अनुमान पनि थिएन रे उनलाई ।
‘पहिला हामीलाई त कहाँ थाहा भयो र, यत्तिको चल्ला भन्ने,’ उनले भने, ‘तर, हामीले जसलाई फिल्म बेच्यौँ त्यो कम्पनीले युट्युबबाट मात्र १० देखि १२ लाखसम्म आम्दानी गर्यो ।’ उनले यसमा समावेश भएको बाजा र शब्दलाई पनि गीत चल्नुको अर्को कारण मान्छन् । भन्छन्, ‘मीठो सारंगीको बाजा छ, यसका कतिपय शब्दको अर्थसम्म अधिकांशलाई थाहा छैन । सुर्के थैली, कुरुसैले बुनेको रौँ कातेर, घ्वार्र घुर्र मदानीलगायतका शब्द कतिपयलाई थाहा नै रहेनछ ।’ यस गीतसँगै नेपाली फिल्ममा नयाँ ट्रेन्ड सुरु भएको पनि दीपकको दाबी छ । उनी भन्छन्, ‘केही समय फिल्ममा लोकगीत राख्नै छाडिएको थियो । लामो ग्याप भइसकेको थियो । अहिले फेरि फिल्ममा एउटाचाहिँ लोकगीत राख्नुपर्छ भन्ने मान्यता विकास हुन थालेको छ ।’ यो त सुर्के थैलीको कुरा भयो । आफूलाई राम्रो श्रोता भन्न रुचाउने दीपकराजले आफैँ पनि गीत सिर्जना गरेका छन् ।
वडा नम्बर ६ को वाहियात छ लभ स्टोरी बोलको गीत उनकै सिर्जना हो । आफूमा गीतको सेन्स रहेको उनको दाबी छ । त्यसैले आफ्नो छक्का पञ्जाको पूर्व–पश्चिम रेल केही साताभित्रै ९ लाखभन्दा बढीले हेरिसकेको उनले सुनाए । सुर्के थैली फिल्म रिलिज हुनुभन्दा डेढ महिनापहिले मात्र युट्युबमा राखिएको थियो । फिल्म रिलिजको डेटसम्म सात लाख मानिसले त्यो गीत हेरिसकेका थिए । तर, पछि जसरी गीतले हाइट लिँदै गयो, दीपकराजलाई अर्को पाठ भयो । भन्छन्, ‘फिल्म चल्नका लागि गीतको पनि ठूलो भूमिका रहन्छ । त्यसैले छक्का पञ्जाकोे गीत तीन महिनापहिले नै युट्युबमा राखिएको हो ।’
चम्पा हाम्रा त तमराबाहेक को छन् र बोलको गीत पनि उनले छक्का पन्जामा समावेश गरेका छन् । तर, तीनजनाले रिजेक्ट गरेको सो गीत आफूले फिल्ममा राखेको उनी बताउँछन् । भन्छन्, ‘त्यो गीत आधा सुन्दा नै मन प-यो । कथासँग पनि मिल्ने भएकाले त्यो गीत राखेका हौँ ।’ सुर्के थैली हिट भएसँगै दीपकलाई थप दबाब सिर्जना गरेको छ । भन्छन्, ‘अब मलाई योभन्दा वा यस्तै गीत सार्वजनिक गर्नु छ । नत्र दर्शक त बिच्किहाल्छन् नि !’ त्यसैले पनि उनले गीतमा निकै मिहिनेत गर्न थालेको बताउँछन् । फिल्म चल्नुमा गीतसंगीतको ठूलो हात हुने अनुभव उनको छ । नया पत्रिकाबाट
Post a Comment